Ad Image

कर समायोजनको विशेष नगरसभा स्थगित, हेटौंडा उपमहानगरमा कांग्रेसले गर्यो कार्यपालिका बैठक बहिष्कार

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1725516119.jpg

हेटौंडा उपमहानगरपालिकामा कर समायोजनको विशेष नगरसभा मिति तोक्न आज बिहीबार बोलाइएको कार्यपालिका बैठक नेपाली कांग्रेसले बहिष्कार गरेको छ। उपमेयर राजेश बानियाँसहित नेपाली कांग्रेसबाट निर्वाचित ८ जना वडाध्यक्ष बैठकमा उपस्थित नभएपछि मेयर मीनाकुमारी लामाले बैठक स्थगित गर्न बाध्य भएकी हुन्।

 

उपमेयर बानियाँ राजस्व परामर्श समितिका संयोजकसमेत रहेका छन्। २९ सदस्यीय कार्यपालिकामा आज बिहान ८ बजे बोलाइएको बैठकमा १६ जना मात्र उपस्थित थिए। कांग्रेसका एक वडा अध्यक्षले पार्टीमा कर समायोजनसम्बन्धी छलफल जारी रहेकाले बैठक बहिष्कार गरेको जानकारी दिए।

 

यद्यपि, बहुमत पुगेको अवस्थामा पनि मेयर लामाले बैठक एकपक्षीय रूपमा स्थगित गरेको भन्दै नेकपा एमालेका वडाध्यक्षहरूले आपत्ति जनाएका छन्। हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले उपमेयरसँग छलफल नगरी मेयरले बैठक स्थगित गरेको आरोप लगाए।

 

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा साउन अन्तिममा कर वृद्धिको विरोधमा चरणबद्ध आन्दोलन भएको थियो। उपमहानगरले व्यवसायीसँग ३२ साउनमा कर वृद्धिको निर्णय फिर्ता लिनेबारे ८ बुँदे सहमति गरेको थियो। तर, ३० साउनमा एमालेका बहुमत नगरसभा सदस्यहरूले कर समायोजनका लागि विशेष नगरसभा बोलाउन लिखित अनुरोध गरेका थिए, जसलाई ३० भदौभित्र बोलाउन कानुनी दबाव छ।