नेपाल टेलिकमले सबै स्थानीय तहमा एफटिटिएच इन्टरनेट पुर्याउने
No Author Assigned | १० महिना अगाडि
नेपाल टेलिकमले देशका सबै स्थानीय तहमा फाइबर टु दी होम (एफटिटिएच) इन्टरनेट सेवा विस्तार गर्ने घोषणा गरेको छ। टेलिकमकी नवनियुक्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले नवीनतम प्रविधिको अवलम्बन गर्दै उच्च गतिको इन्टरनेट पुर्याउन एफटिटिएच विस्तारलाई प्राथमिकतामा राखिएको बताईन।
हाल टेलिकमको एफटिटिएच सेवा ७७ जिल्लाका ३०० स्थानीय तहमा विस्तार भइसकेको छ, र अब क्रमिक रूपमा बाँकी क्षेत्रमा पनि इन्टरनेट सेवा पुर्याइनेछ। टेलिकमको यस सेवामा इन्टरनेट, टेलिभिजन, र टेलिफोन सुविधाहरू समेटिएका छन्।
केही जिल्लामा टेलिभिजन सुविधा उपलब्ध नभए पनि ती स्थानहरूमा माइक्रोवेभ कनेक्सनलाई फाइबर प्रविधिबाट विस्थापित गरी टेलिभिजन सेवा पनि उपलब्ध गराइने योजना रहेको छ।
प्रबन्ध निर्देशक अर्यालले आगामी चार वर्षका लागि टेलिकमले फाइभजी सेवा सुरु गर्ने, फोरजी सेवा विस्तार गर्ने, र डेटा सेन्टर सञ्चालनमा ल्याउने योजनाहरू पनि अघि सारेको बताएकि छन। साथै, कम्पनीले देशभरका वितरकमार्फत एफटिटिएच सेवा उपलब्ध गराउने योजना रहेको जानकारी दिईन ।
टेलिकमले आफ्नो नाफा बढाउने उद्देश्यले नेटवर्क विस्तार, डेटा सेवामा नयाँ सुविधाहरू थप्ने, र अनलाइन शिक्षा प्रवर्धन गर्ने प्याकेजहरू ल्याउने योजना बनाएको छ।