Ad Image

प्रतापपुर गाउँपालिका अध्यक्ष यादवले तोडे अनशन

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1726295713.jpg

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले हुलाकी राजमार्गको निर्माण समयमै सम्पन्न गर्ने सहमति जुटेपछि आफ्नो अनशन तोडेका छन्। गत शुक्रबार दिउँसोदेखि अनशनमा बसेका अध्यक्ष यादवले चारबुँदे सहमति भएपछि अनशन अन्त्य गरेका हुन्।

 

सहमति पत्रमा अध्यक्ष यादव र हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका प्रमुख हेमबहादुर एसीले हस्ताक्षर गरेका छन्। सहमति अनुसार, निर्माण व्यवसायीलाई तत्काल कार्यतालिका पेस गर्न लगाई २०८१ चैतसम्म बेलाटारीसम्मको सडक निर्माण सम्पन्न गरिनेछ। काम समयमा सम्पन्न नभए ठेक्का रद्द गरी कारबाही गर्ने निर्णय गरिएको छ।

 

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले यादवलाई जुस खुवाएर अनशन तोडाएका हुन्। सहमतिअनुसार, असोज २ गतेदेखि तीव्र गतिमा निर्माण कार्य सुरु गरी दसैँ अघि गोपिगञ्जदेखि बेलाटारी खण्डको तीन किलोमिटर बेस निर्माण गरिनेछ। दसैँ लगत्तै उक्त क्षेत्रमा कालोपत्र गर्न सुरु गरिनेछ। यससँगै हुलाकी आयोजना अन्तर्गत पर्ने बेलाटारी-कठहवाससम्मको सडकलाई पनि विशेष प्राथमिकतामा राखी समयमा सम्पन्न गरिनेछ।

 

सडक निर्माणको कामलाई तीव्रता दिन प्रदेश सरकार मातहतका अन्य अलपत्र आयोजना पूरा गर्न सबै दलका प्रमुखहरूले पनि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।