दाङका विभिन्न पालिकामा व्यावसायिक केराखेती बढ्दै


दाङ, असोज २६। दाङ जिल्लाका विभिन्न पालिकाहरूमा व्यावसायिक केराखेतीको विस्तार हुँदै गएको छ।
विशेष गरी देउखुरी क्षेत्रका राप्ती गाउँपालिका, गढवा गाउँपालिका, घोराही उपमहानगरपालिका, शान्ति नगरपालिका, र तुलसीपुर उपमहानगरपालिकामा किसानहरू केराखेतीतर्फ आकर्षित भएका छन्। माटो र सिँचाइको अनुकूलताका कारण थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भएकाले किसानहरूले धानखेतीजस्ता परम्परागत खेती त्यागेर केराखेतीको व्यावसायिक खेतीलाई प्राथमिकता दिएका हुन्।
राप्ती गाउँपालिका–७ सिसहनियाका किसान विद्याबहादुर चौधरीले तीन बिघा जमिन भाडामा लिएर चार वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका छन्। उनले वार्षिक १३ देखि १४ लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँदै अन्य बालीको तुलनामा केराखेतीले राम्रो फाइदा दिएको जनाए। त्यस्तै, गढवा गाउँपालिकाका किसान रणप्रसाद सुवेदीले पनि छ बिघा जमिनमा व्यावसायिक केराखेती गर्दै आएका छन्। सुवेदीले कम मेहनत र राम्रो बजार पाएका कारण केराखेतीलाई निरन्तरता दिने योजना बनाएको बताए।
कृषि ज्ञान केन्द्रका अनुसार, दाङ जिल्लाका पालिकाहरूमा ६७० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती हुँदै आएको छ।