Ad Image

बडिगाड गाउँपालिकामा बिपन्न बिरामीलाई आर्थिक सहयोगसहित स्वास्थ्य सेवा

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1726638366.jpg

बडिगाड गाउँपालिकाले विपन्न परिवारका बिरामीलाई आर्थिक सहयोग गर्दै स्वास्थ्य सेवा जनताको घर आँगनसम्म पुर्‍याइरहेको छ।


स्थानीय तह स्थापना हुनुअघि ७ वटा स्वास्थ्यचौकी मात्र रहेका यस गाउँपालिकामा हाल १६ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन्। १८ शैयाको आधारभूत अस्पताल सञ्चालनको तयारी भइरहेको छ भने गाउँ–गाउँमा सामुदायिक स्वास्थ्य सेवा प्रदान गर्न विभिन्न केन्द्रहरू स्थापना गरिएका छन्।


गाउँपालिकाले एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रमूमार्फत टाढाका समुदायमा डाक्टरसहितको टोली पठाइरहेको छ । जसले बालबालिका, गर्भवती, र ज्येष्ठ नागरिकको उपचारमा विशेष ध्यान दिएको छ। गाउँपालिकाकी अध्यक्ष गण्डकी अधिकारीका अनुसार यस कार्यक्रमले धेरै नागरिकलाई सहज उपचारको अवसर प्रदान गरिरहेको छ।


विकट क्षेत्रहरूमा निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन भइरहेको छ । जसबाट सर्वसाधारणले लाभ उठाउँदै आएका छन्। स्थानीय बमकुमारी विकका अनुसार, सामुदायिक स्वास्थ्य एकाइहरू खुलेपछि घण्टौंको यात्रा गरेर स्वास्थ्य सेवामा पुग्नुपर्ने बाध्यता हटेको छ। जनस्वास्थ्य निरीक्षक हेम पुनका अनुसार, विभिन्न शिविरहरूमा क्षयरोगको सङ्क्रमण फेला परेको र बिरामीहरूको उपचार भइरहेको छ। गाउँपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको पनि उल्लेख गरिएको छ।