विशालपुरमा जलवायु परिवर्तनसँग जुध्न सामुदायिक नीति लागू : स्थानीयवासी जुटे पुनर्भरण पोखरी निर्माणमा


बैतडी। जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेपछि मेलौली नगरपालिका–९, विशालपुरका स्थानीयले पर्यावरणीय सन्तुलन कायम राख्न सामुदायिक नीति २०८१ जारी गरेका छन्। उक्त नीतिअन्तर्गत सामुदायिक वनमा १५ वटा पानी पुनर्भरण पोखरी निर्माण गरिएको छ। वडाध्यक्ष लोकराज भट्टका अनुसार, जलवायु अनुकूलनका लागि खेती प्रणाली परिवर्तन, पानीका मुहान संरक्षण, र वृक्षरोपणको योजना अगाडि बढाइएको छ।
विशालपुरमा खडेरीका कारण खाद्य संकट, बेरोजगारी, र बसाइँसराइको समस्या बढ्दै गएको छ। यस समस्यालाई समाधान गर्न वडाले राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको प्राविधिक सहयोगमा सामुदायिक नीति लागू गरेको हो। वडाले लिएको तथ्याङ्क अनुसार, विशालपुरका ३५६ परिवारमध्ये अधिकांश परिवारले वार्षिक आम्दानीभन्दा धेरै खर्च गरिरहेका छन्। गाउँमा खाद्यान्न उत्पादन कम हुँदै गएकाले बाहिरबाट आयात गर्नुपरेको र यसले आर्थिक भार थपिएको छ।
वडाको सामुदायिक नीतिले अब बाहिरी समस्या समाधान गर्नका लागि गाउँमै सम्भावना खोज्ने र समाधानका उपायहरू अगाडि सारेको छ। पुनर्भरण पोखरी निर्माणसँगै बाँझो जमिनमा धान खेती पुन: सुरु गरेर चामलमा आत्मनिर्भर बन्ने योजना बनाइएको छ। उच्च भूभागमा विभिन्न फलफूल खेती र जडीबुटी उत्पादन गर्ने सम्भावना पनि नीतिमा समेटिएको छ।
वडा सदस्य चेतराम नेपालीले यस वर्ष विशालपुर क्षेत्रका विभिन्न सामुदायिक वन क्षेत्रमा पाँच हजार बिरुवा रोपिएको जानकारी दिए, जसले वातावरण संरक्षणमा मद्दत पुग्नेछ।