Ad Image

फेवातालमा कोटिहोम गर्ने तयारीमा ब्रेकः रुख काट्न दिएर आलोचित भएपछि मेयर आचार्यले सच्याए बोली

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738933658.jpeg

पोखरा । ‘हामीलाई जानकारी नै नदिई रुख काटिएको हो । रुख काटेर दाउराको थुप्रो लगाइसकेपछि मात्रै हामीले सयौं वर्ष पुराना रुख काटेको थाहा पायौं’, पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिमल्सिनाले फोन सम्बादमा मेयरसाप डटकमलाई भने ।

 

सयौं वर्ष पुराना वर, पिपल, सिसौं तथा चाँपका चौतारामा रोपिएका रुखहरु काटेर ठुट्टै पारेको ४–५ दिनपछि मात्रै महानगरपालिकाले रुख काटेको थाहा पाउनु हास्यास्पद लाग्यो ।

 

हामीले प्रवक्तालाई फेरि सोध्यौं, ‘मेयर धनराज आचार्यसँग स्वीकृति मागेर फेवातालमा आयोजना हुने महायज्ञका लागि चाहिले समाधिका लागि रुख काटिएको भन्ने दाबी मानव सेवा फाउण्डेसनको छ नि ?’ उत्तरमा प्रवक्ता तिमल्सिनाले भने, ‘होइन, टोलका मान्छेहरुसँगको सहमतिमा काटिएको रहेछ । मेयरलाई कुनै जानकारी गराइएको थिएन ।’ हामीले फेरि सोध्यौं, ‘मेयर आचार्यलाई रुख काट्नेवित्तिकै फोन गरेर जानकारी दिइएको थियो रे ! त्यत्रा रुख काटिसकेपछि मात्रै महानगरले किन यो विषयमा चासो देखायो ?’ तिमल्सिनाको तर्क थियो, ‘हामीले थाहा पाउने वित्तिकै एक्सनमा उत्रिएका हौं । हामीले कारबाही प्रक्रिया अगाडि बढाइसकेका छौं । रुख काट्नेहरुलाई कारबाही हुन्छ । दाउरा पनि जफत गरेर महानगरको कार्यालयमा ल्याएर राखेका छौं ।’ उनले थप अगाडि भने, ‘कोटिहोम पनि फेवा तालको आसपास गर्न दिइँदैन । यहाँ देश विदेशका थुप्रै पर्यटक आउँछन् । फेरि कतिदिन हो कोटिहोम आयोजना हुने ! अन्य कुनै उपर्युक्त स्थान प्राप्त भएर फाउण्डेसन आयो भने विचार गर्छौं । त्यसका लागि फेरि कति रुख काट्नुपर्ने हो ? त्यसको पनि टुंगो र व्यवस्था हुनुपर्यो ।’

पशुपतिनाथमा केही महिनाअघि कोटिहोम महायज्ञ आयोजना गरेको टिम काठमाडौंको कार्यक्रम सकेर पोखरामा त्यस्तै कार्यक्रम गर्ने तयारीमा पुग्यो । मानव सेवा फाउन्डेसनका संस्थापक तथा अध्यक्ष विष्णु भण्डारी (जो विजय कृष्णमूर्तिले परिचित छन्) कै सक्रियतामा पशुपतिनाथमा कोटिहोम महायज्ञ आयोजना भएको थियो । तर कार्यक्रम विवादित पनि बन्यो । उनकै सक्रियतामा पोखरामा पनि कोटिहोम आयोजना हुने तयारीमा पुग्यो । ठाउँ खोजियो पोखरा महानगरको फेवा ताल आसपास ।

 

कोटिहोमका लागि भन्दै पोखराका विभिन्न ठाउँमा चौतारा र सयौँ वर्ष पूराना रुखहरु काट्न थालियो । विशेष गरेर सयौं वर्ष पुराना वर पिपलका रुखहरु ठुट्टै पारियो । कोटिहोमको समाधिमा वर पिपलका दाउरा आवश्यक हुने भएकाले चौतारामा रोपिएका वर पिपलका रुख काटेर ठुट्टै पार्न दिएको महानगरले स्थानीयको विरोध भएपछि कोटिहोम नै गर्न नदिने बतायो । र, अहिले काटेर जम्मा गरिएको दाउरा पोखरा महानगरकै प्रहरी टोलीको सक्रियतामा जफत गरियो ।

 

गएको आइतबार कार्यपालिका बैठकमा रुख काटिएको विषय उठेपछि सबै दाउरा जफत गर्ने निर्णय तीन दिनअघि महानगरले गर्यो । पोखरा महानगर वडा नम्बर ६, १३, १४ लगायतबाट निकै पूराना रुख र चौताराहरु ढालेर मानव सेवा फाउण्डेसनले दाउरा जम्मा पारेको थियो ।

 

नेपाल ट्रष्टको जग्गामा थुपारिएको दाउरा जफत गर्ने निर्णय कार्यपालिकाबाट भएपछि महानगरको प्रहरी टोलीले दाउरा जफत गरेको हो ।  कति रुख काटिएका छन् भनेर तथ्यांक लिने र रुख काट्नेहरुको खोजी गरी कारबाही पनि गरिने महानगरले जनाएको छ । महानगरको कार्यपालिका बैठकमै यो विषय उठेपछि एक्सनमा जान महानगर नै बाध्य भएको छ ।

 

यसअघि महानगरपालिकाले रुख काट्ने काम तत्काल रोक्न शनिबार सार्वजनिक सूचना निकालेको थियो । ती रुखहरु वडा र टोल विकास संस्थाको अनुमति लिएर काटेको मानव सेवा फाउण्डेसनको दावी छ ।

 

फाउण्डेसनले बैशाखमा फेवाताल किनारमा कोटिहोम गर्ने तयारी गरिरहेको थियो । यो रुख काटेको विवाद सतहमा आएपछि महानगरका मेयर धनराज आचार्य महानगरमा कोटिहाम नै आयोजना गर्न नदिने तयारीमा पुगेका छन् । पहिला उनकै सहमतिमा रुखको कटान गरिएको स्रोतको दाबी छ ।

 

गएको माघ ६ गते पोखरा–१४ स्थित भोटे चौताराको पीपलको रूखलाई काटियो। केही स्थानीयहरुले विरोध पनि गरे । तर केही मान्छेहरुको एक समूहले मिनेटभरमै रूख ढालेर हिँडिहाले । स्थानीय हेमन्त ढकालले सोधे, “यो किन काट्नुहुन्छ ?’’ जवाफ आयो, “थाहा छैन ।’’

 

त्यसबारे स्थानीय नागरिकहरुले पोखरा महानगरका मेयर धनराज आचार्यलाई फोन लगाए । तर उनको फोन सुरुमा उठेन । पछि फोन उठेपछि घटनाबारे अध्ययन भइरहेको जानकारी आयो ।

 

पोखरा–१४ मा मात्र ६ वटा चौतारा र ९ वटा ठूला रुख जरा नै उखेलिने गरी ठुट्याइए । ढकालजस्ता पर्यावरणप्रेमीले वडा कार्यालय, प्रहरी, वन मन्त्रालय, क्लबहरू सबैतिर गुहार मागे ।  काटिएका रूखहरू नेपाल ट्रस्टको जग्गामा थन्क्याइयो । महानगरका ठाउँठाउँमा रहेका सयौं वर्ष पुराना समि, वर, पीपल, र चाँपका रूखहरू कटान गरियो।

 

निक्कै पछि  पोखरा महानगरपालिकाले वक्तव्य निकाल्दै दुई लाख २६ हजार बिरुवा रोपनको अभियान सुरु गर्ने जनायो । अहिले मेयर आचार्यले कोटिहोम कार्यक्रम नै आयोजना गर्न नदिने बताएका छन् ।

 

फाउन्डेसनका संयोजक लेखराज ढकालले ‘सबैसँग समन्वय गरेर’ रूख काटिएको बताएका छन् । यो विषयमा मेयर आचार्यको सहमति भएको बुझेपछि स्थानीय नागरिकले मेयरको कदमको विरोध गरे । अनि धनराज आचार्यले आफ्नो गलत काम कोटिहोम गर्न नदिने भनेर सच्याए ।
 

 

पर्यटनको राजधानी पोखरामा पुराना रुखको कटानको विषयलाई लिएर अहिले चौतर्फी विरोध भएको छ । उता कोटिहोम महायज्ञ गर्न नदिने भनेका मेयर धनराज आचार्यलाई फाउण्डेसनका व्यक्तिहरुले पनि ‘धर्म विरोधी’को संज्ञा दिएका छन् ।