Ad Image

चन्द्रागिरि नगरपालिकाका मेयर गिरीसहितको संलग्नतामा सितापाइला सहकारीको साँढे एक अर्ब रुपैयाँ बचत अपचलन

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739170798.jpeg

काठमाडौं । नागार्जुन नगरपालिकाको सितापाइलामा केन्द्रीय कार्यालय स्थापना गरेर सञ्चालनमा रहेको सितापाइला बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताहरुको पैसा फिर्ता दिन सकेको छैन । सहकारीका सञ्चालकहरुले सहकारीको पैसा व्यक्तिगत रुपमा घरजग्गामा लगानी गरेपछि बचतकर्ताको बचत फिर्ता हुन नसकेको हो ।

 

एकातिर सहकारीका तत्कालीन सञ्चालक र अहिलेका सञ्चालक मिलेर बचतकर्ताले जम्मा गरेको रकम घरजग्गामा लगानी भएको र सरकारको नीतिका कारण घरजग्गा कारोबारमा समस्या भएपछि बचतकर्तालाई सहकारीले पैसा फिर्ता दिन सकेको छैन । अर्कोतिर सहकारीका बचतकर्ताको पैसाबाट घरजग्गामा लगानी गरेका सञ्चालकहरूले जग्गामा बढीभन्दा बढी लाभ खेजिरहेको भएर पनि जग्गा बिक्री गर्न सकेको छैनन् । २०७९ सालको निर्वाचनअघिसम्म सहकारीको सञ्चालकमा रहेका चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीसमेतले उक्त सहकारीमा जम्मा भएको बचत आफ्नो घरजग्गा कारोबारमा लगाएको भेटिएको छ । गिरीले तत्कालीन समयमा आफ्नो घरजग्गाको कारोबार मिलाउन सहकारीको झण्डै ८ करोड हाराहारीको पैसा चलाएको स्रोतको दाबी छ ।

 

उक्त पैसाको साँवा ब्याज सहकारीमा बुझाउन नसकेका कारण सहकारीमा समस्या आएको संस्थाका एक पदाधिकारीले मेयरसाप डटकमलाई जानकारी दिए । मेयर गिरीले सहकारीलाई करिब ११ करोड तिर्न बाँकी रहेको संस्थाका सञ्चालक सदस्यकै दाबी छ । त्यसमा उनले दुई करोड आसपासको मात्रै बैंक ग्यारेण्टी राखेको स्रोत बताउँछ । मेयर गिरीले सहरकारीको पैसा तिर्ने कुनै सुरसार नगरेपछि अहिलेको सञ्चालक समतिलेले उनलाई तीन महिनाभित्र समस्या सल्टाउन अनुरोध गरेको संस्थाका अध्यक्ष केदार मानन्धरले बताए । अहिलेका सितापाइला सहकारीका अध्यक्ष केदार मानन्धरलगायत सञ्चालकको टिमले पनि बिना धितो २१ करोडसम्म व्यक्तिको नाममा सहकारीको पैसा ऋणमा देखाएर घरजग्गामा लगानी गरेको खुलेको छ ।

 

काठमाडौंका विभिन्न स्थान र ललितपुरमा पनि सेवा केन्द्र भएको सितापाइला सहकारीले अहिले ललितपुरको सेवा केन्द्र पनि बन्द गरेको छ । गएको दुई वर्षदेखि सहकारी संस्थाका बचतकर्ताहरुले राखेको बचत फिर्ता पाउन मुश्कील भएको छ । सहकारीको ऐन, नियम विपरित सहरकारीमा बचतकर्ताले जम्मा पारेको पैसा सञ्चालकले व्यक्तिगत रुपमा घर जग्गा र प्लटिङमा मिलेर लगानी गरेको देखिन्छ ।

 

काठमाडौंदेखि चितवनसम्म सहरकारीका सञ्चालकहरुले व्यक्तिगत लाभका लागि बचतकर्ताको पैसा जग्गा र घडेरीमा लगाएको भेटिएको छ । सरकारको जग्गा बर्गिकरणको नियम र भूमि व्यवस्था मन्त्रालयले ल्याएका पछिल्ला भूमिसम्बन्धीका नियमका कारण पनि ती जग्गाहरु बिक्री नहुँदा सञ्चालकहरु मताहत बचकर्ताहरुको अपचलन भएको पैसा सहकारीमा फिर्ता हुन सकेको छैन ।

 

साढे २ अर्बको कारोबार रहेको उक्त सहकारी संस्थाले साँढे एक अर्ब रुपैयाँ बचतकर्ताको पैसा फिर्ता गर्नुपर्ने देखिन्छ । तर उक्त पैसा घरजग्गा कारोबार र जग्गा प्लटिङमा लगानी हुँदा बचतकर्ताले बचत फिर्ता नपाएका हुन् । सहकारीको केन्द्रीय कार्यालयमा दिनहुँ बचतकर्ता बचत फिर्ता माग्न पुग्छन् ।

 

कतिपय सदस्यहरु सहकारी विभागमा गएर समेत बचत फिर्ता गराइदिन कर्मचारीहरुलाई अनुरोध गर्छन । विभागका कर्मचारीले प्रदेशको सहकारी रजिष्टारको कार्यालय जान बचतकर्ताहरुलाई सुझाव दिने गरेका छन् ।

 

सहकारीको केन्द्रीय कार्यालयमा बचत फिर्ता माग्न पुगेका बचतकर्ताहरुलाई  सहकारीका अध्यक्ष केदार मानन्धर र अन्य टिमले केहीलाई थोरै पैसा दिएर त कोहीलाई फेरि बचत फिर्ता दिने आश्वासन दिएर पठाउँछन् । केहीलाई पैसा थपेर जग्गा पास गर्न दबाब दिन्छन् । खाइनखाइ सहकारीमा राखेको पैसा फिर्ता नपाउँदा धेरै बचतकर्ताहरु बिचल्लीमा परेका हुन् ।

 

सितापाइला सहकारीका सदस्य रहेका राजु महर्जन भन्छन्, ‘सहकारीमा पैसा फसेको छ । पैसा आउने सम्भावन देखिएन । ठूलो रकम फसेकालाई केही जग्गा देखाएर चलनचल्तीको मूल्यभन्दा बढीमा किन्न दवाव दिँदा रहेछन् । २–४ लाख रुपैयाँ रकमको बचत फिर्ता भएन ।’ सहकारीका सञ्चालकहरुले चलाएको पैसा सहकारीमा फिर्ता दिन नसक्दा बचतकर्ताले उपचार गर्न र औषधि खान समेत पाएका छैनन् ।

 

सहकारीको पैसा फिर्ता माग्न सितापाइला सहकारीका सदस्यहरु चन्द्रागिरिका मेयर घनश्याम गिरीको कार्यकक्षमा समेत पुगेका छन् । तर मेयर गिरी आफू त्यसमा जिम्मेवार नभएको र सहकारीको पैसा आफूले नचलाएको भन्दै बचतकर्तालाई फिर्ता पठाउँछन् । सहकारीले संस्थाको कार्यालय नजिकै एक घर पनि किनेको छ । त्यसबाट आएको भाडाले कर्मचारीको तलबभत्तालगायत भाडाको ‘म्यानेज’ सहरकारीले गरिरहेको छ ।

 

हामीले मेयर घनश्याम गिरीले कति पैसा सहकारीको चलाएको हो भनेर सहकारीका अध्यक्ष केदार मानन्धरलाई प्रश्न गरेका थियौं । मानन्धरले मेयर गिरीले सहकारीको पैसा चलाएको र नतिरेको स्पष्ट त पारे तर कति पैसा चलाएको भन्ने खुलाएनन् । उनका अनुसार थानकोट वडा नम्बर ४ मा केही भाग जग्गा किनेर प्लटिङ गरी हाउजिङहरु बनाउने गरी सहरकारीको पैसा सञ्चालकहरुले लगानी गरेका थिए । पछि मेयर घनश्याम गिरीले त्यो जग्गामा हाउजिङ बनाएर कारोबार गर्ने र अन्य सदस्यलाई नदिइ आफैँले सञ्चालन गर्ने तयारी थाले । त्यसको पैसा तत्कालीन क्लीन इनर्जी बैंक (अहिलेको एनएमबी बैंकसँग  मर्ज भएको) लाई सहकारीले तिरिदिएको थियो । गिरी शिक्षक रहेकाले उनकै पुरानो घरमाथिको जग्गामा हाउजिङ बनाएर बेच्ने भएपछि उनले त्यसको जिम्मा लिएका थिए । सहकारी बैंकमा घर र जग्गा धितो राखेर ऋण लिन सहयोग गरेका गिरीले सहकारीका अन्य सञ्चालकलाई त्यसको नाफा घाटा नदिने बताएपछि उनको नाममा लगभग १० करोडको ऋण खडा गरिएको हो । तर त्यो ऋण तिर्न मेयर गिरी तयार छैनन् ।

 

‘हामीले एउटा निर्णय गरेर लास्ट तीन महिनाको समय दिएका छौं । हामीले ३५ दिनको सूचना निकालेर उहाँको बेइज्जत गर्दा हामी आफैँ फस्छौं । तीन महिना बित्दा पनि उहाँले सहजिकरण नगरे कानुनअनुसार अगाडि बढ्छौं’, अध्यक्ष केदार मानन्धरले मेयरसाप डटकमसँग भने ।

‘कत्तिले औषधी खाने नै यहीँ बचत गरेको पैसाले रहेछ । अघि आइरहनुभएको थियो । मुल धन यहाँ राखेर त्यसबाट आउने ब्याजले औषधि खाने उहाँले पैसा फिर्ता पाउन सक्नुभएको छैन’, हामी उनलाई भेट्न सहकारीको कार्यालय पुग्दा अध्यक्ष मानन्धरले हामीलाई सुनाए । सितापाइला सहकारीको कार्यालयमा हामी रिपोर्टिङको क्रममा पुग्दा सात–दश जना बचतकर्ता पैसा फिर्ता माग्न अध्यक्ष मानन्धरलाई कुरिरहेका थिए ।

‘म कसैको पैसा खान्न । म सबैको पैसा फिर्ता गर्छु । यसलाई जेल पठाइदिन पाए पनि हुने भन्ने छ । यो जेल गइदिए ठूला ऋणीहरुले ऋण नतिर्दा पनि हुने भन्ने भएको छ । म एक्लैले पनि त्यसको ग्यारेण्टी लिन्छु’, अध्यक्ष मानन्धरले हामीसँगको सम्बादमा भने, ‘मलाई अहिले दुई करोड भयो भने म चलाइदिहाल्छु नि ! हरिसिद्धीमा २० रोपनीमा ५६ टुक्रा जग्गा रहेको छ । केही भएन भने जग्गा नै पास गरेर दिन्छौं ।’

 

त्यो जग्गा सहरकारीको हो ? भन्ने प्रश्नमा उनले त्यो एक कम्पनी खडा गरेर व्यक्तिहरुले काम गरिरहेको योजना भएको बताए । हामीले सहकारीको करोडौं रुपैयाँको पैसा व्यक्तिका नाममा राखेर त्यही जग्गाको प्लानिङ गरेको बुझ्यौं । किनकी त्यहाँको जग्गा बिक्री भएमा त्यहाँको पैसा आफ्नै सहकारीमा आउने मानन्धरको दाबी थियो ।

 

‘(त्यहाँ जग्गा बिक्री भएको पैसा) उनीहरुले हामीलाई नै दिन्छन् । हरिसिद्धीको कुनै एक जनालाई भनेर बैना गर्यो भने पनि त्यो आउने सितापाइला सहकारीमा नै हो । एउटै जग्गा बिक्री भए पनि मेरै सहरकारीमा पैसा आउँछ’, मानन्धरले दाबी नै गरे । मानन्धरले आफ्नो नाममा सहकारीमा  एक करोड ७१ लाख रुपैयाँ ऋण भएको पनि जानकारी दिए । ‘मेरो बसेको जुन घर छ नि, त्यो राखेको छु मैले । सहकारी बैंकमै राखेको छु’, मानन्धरले भने ।  उनले सितापाइला सहकारीमा केही पदाधिकारीले राजीनामा दिएको तर राजीनामा स्वीकृत नहुने पनि बताए ।

 

हामीले अध्यक्ष मानन्धरलाई सहकारीको पैसा कानुन विपरीत प्रयोग गर्ने व्यक्तिको डेटा माग्यौं । उनले सहकारीबाट ऋण लिएका व्यक्तिहरुको विवरण दिन नमिल्ने बताए ।

 

उता चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी भने आफूले सितापाइला सहकारीको पैसा नचलाएको दाबी गर्छन । सहकारीका बचतकर्ताको पैसा किन कानुन विपरीत चलाउनुभएको त ? भन्ने प्रश्नमा मेयर गिरीले भने, ‘०५९ सालमा मैले घर धितो राखेको मेरो कागजले देखाउँछ । मैले काठमाडौंको घर राखेर सहकारी सञ्चालन गरेको हो । तिनिहरुसँग त पैसा नै थिएन नि  । मेरो अहिले पनि छ धितो ४० रोपनी जग्गा । चित्लाङको । घर पनि राखेको छ । एक करोडको बैंकको जमानीमा घर राखिदिएँ । तीन वर्षअघि । क्लीन इनर्जीको होइन । क्लीन इनर्जीको त मेरो ऋण थियो । त्यो सबै मैले क्लीएर गरेँ । आफूले ऋण खोजेर पनि क्लीन इनर्जी बैंकको ऋण तिरेको हो ।’

 

मेयर गिरीले थप अगाडि भने, ࡕ‘कालीमाटीको घर राखेकोले त्यो पनि मैले नै तिर्नुपर्छ । आजभन्दा ८–१० वर्ष पहिलो एक काजगमा मैले सही गरेको थिएँ । डेढ करोड कि दुई करोडको । त्यतिकै कागजमा सही गरेको, तर मैले पैसा बुझेको छैन । त्यो रेकर्ड नै हेर्दा हुन्छ । तमासुकमा सही मात्र गरेको हो । कि चेक बुझेको हुनुपर्यो कि पैसा लिएको हुनुपर्यो । त्यो दुवै छैन । त्यो मैले जिम्मा लिदिन्छु नि त भनेको थिएँ । तर जग्गा बिक्री भएन । चित्लाङको जग्गा । खास रिसोर्ट खोल्न जग्गा किनेको थिएँ । म यता परेँ (मेयर भएँ) । रिसोर्ट खोल्ने स्थिति भएन । मैले खास रिसोर्ट खोल्न भनेर लिएको जग्गा थियो त्यो । त्यो पूरै रोकियो । अनि मलाई आठ दश करोड तिर् भन्न आएका थिए । अनि मैले दुई तीन करोड तिर्दिउँला भनेँ । मैले काहीँ न काहीँ त सही (हस्ताक्षर) गरेको हो । ब्याज स्याज मलाई थाहा छैन । यो मैले पैसा बुझेको पनि होइन । तर म त्यति पैसा तिरिदिन्छु ।’

 

हामीले मेयर गिरीलाई ‘‘पैसा नचलाएको भए पैसा तिर्न किन तयार हुनुभयो त ?’’ भन्ने प्रश्न गर्यौ । उत्तरमा मेयर गिरीले भने, ‘(मैले पैसा चलाएको) छ भने मलाई प्रमाण देखाउनुस् न । परेन ! प्रमाण देखाउन ? मैले पैसा चलाएको कागज चाहियो नि त प्रमाण । मैले कहाँ कुन खाताबाट पैसा लिएँ । रवि लामिछानेको जस्तो आउनु परेन प्रमाण ? पैसा लिएको, पैसा बुझेको, दिएको मलाई चाहियो कागज । ठिक छ, कथम कदाचित, हाइपोथेटिकल कुरा गर्छु । किनकी रियलमा त यो छैन । म त मुद्दामा जान्छु । सपोज त्यो मुद्दा हारेँ भने हुने कुरा के हो ? मेरो त धितो लिलामी हुने होइन ? सात–आठ करोड ब्याज जोडेर बनाएको भन्ने सुनेको छु ।’

 

उनले आफूले सहकारीको पैसा अपचलन नगरेको दाबी गरे । सहकारीलाई पैसा कुनै हालतमा नतिर्ने बताएका मेयर गिरीले मुद्दा लड्ने पनि बताए । उनले पत्रपत्रिकामा जे पनि आउने र पत्रकारहरुले जे पनि लेख्ने समेत भन्न भ्याए । उनले भने, ‘पत्रपत्रिकामा के–के आउँछ आउँछ । अस्ती अख्तियारले खारेज गरेन, मुद्दा ! फटाहा पत्रकारले के–के लेख्छन,् के–के लेख्छन् ।’

 

मेयर गिरीले अगाडि भने, ‘सितापाइला सहकारीमा चिन्ता चाहिँ मलाई भयो अहिले । किनकी सहकारी डुब्दाखेरी त धितो मैले राखेको छु नि ! होइन ! मैले सुरुमा एउटा तमासुक बनाएको थिएँ । दुई करोड कि एक करोड ५० लाख । त्यतिमा हो मैले सही गरेको । र, एक करोड चाहिँ अस्ती तीन वर्ष अघि धितो राख्दा जमानी बसेको ।’

 

‘‘धितो किन राख्नुभयो त तपाईँले ?’’ भन्ने प्रश्नमा मेयर गिरी भन्छन्, ‘सहकारीलाई आवश्यकता पर्यो । ०५८÷०५९ सालमा धितो राखिदिएको नि मैले जग्गा । त्यो मेरो घर त २०५९ सालदेखि धितोमा छ । पहिला सञ्चालक समितिमा थिएँ । त्यही भएर हालेको थिएँ पैसा ।’

 

‘‘क्लीन इनर्जी बैंकको ऋण सहकारीको पैसा लगेर स्याटल गरेको सुनिन्छ नि ?’’ भन्ने प्रश्नमा उनले भने, ‘त्यसो भए कागज देखाउनुहोस् न त मलाई ! बुझेको कागज, चेक देखाउन न मलाई । धितो पनि मेरै । बैंकको लोन पनि मेरै । जग्गा धितै मेरो भन्या । मान्छेहरु सहकारीमा क्याउक्याउ गर्न आउँदा मलाई देखाइएको छ । त्यो सहकारीमा थानकोटमा मेरो पाँच करोडको धितो छ । मेरो साथीहरुको पैसा गएको छ त्यहाँ । सहकारीको शाखा यहाँ पनि छ नि !’

 

मेयर गिरीले सहकारीले भनेजति आफूले तिर्दा पनि सहकारीको समस्या नसुल्टिने बताए । उनले अगाडि भने, ‘मैले सहकारीको पाँच÷सात करोड दिँदा त्यो सहकारीको समस्या टुंगिन्छ ? ल, बेचेर तिर्ने म । टुङ्गिन्छ ? त्यो सहरकारी उठाउन नै सुरुमा जग्गा राख्ने को हो ? अहिले त क–कसले राखे थाहा छैन । ल, काजग हेरौं । ०५९÷०६० सालमा मेरो कालीमाटीको घर, सोल्टीको घर राखेको, आजसम्म धितोको धितै छ । सहकारीलाई पसल खोल्न, सहकारीलाई कहीँ ऋण खोज्न जमानी राखेको छु मैले । पहिला त त्यो धितो अर्कै बैंकमा थियो । पछि सहकारी बैंक खुलेपछि सहकारी बैंकमा सारेको हो मैले । सहकारीलाई लोन चाहिँदा मैले धितो राखेर दिएको पैसा हो क्या । उहाँहरु लिलामी प्रकृयामा गए म मुद्दा लड्छु । सक्किहाल्यो नि ! मैले त्यहाँ ऋण लिएको कागज देखाउनुपर्यो नि ! मलाई पैसा दिएको प्रमाण देखाउनु परेन ? खातामा पैसा आउनुपरेन ?’

 

बारम्बार उनले सहकारीलाई ऋण लिएको प्रमाण देखाउन चुनौती दिए । ‘‘सहकारीको सफ्टवयरले ऋण लिएको प्रमाण देखाउला नि ?’’ भन्ने प्रश्नमा उनले भने, ‘कुन सफ्टवयर । अहिले त सहकारीका देखाउने र चलाउने सफ्टवयर हुन्छ क्यारे । सहकारीमा गएको छ भने मेरो कुन बैंकमा पैसा गएको छ । चाहिएन ? सफ्वयर राखेर हुन्छ ? क्यास दिनु परेन । मलाई कुन खाताबाट क्यास दियो त ? चाहिँदैन ?’

 

उनलाई हामीले क्लीन इनर्जीमा गएको पैसा कहाँबाट आयो भन्ने प्रश्न गर्यौ । उनले क्लीन इनर्जीमा गएको पैसा सहकारीको नभएको बताए । उक्त पैसा आफूले बैंकमा धितो राख्दा आएको पैसा भएको बताए । मेयर गिरीले भने, ‘त्यो त मेरै जग्गा धितो राखेर गएको पैसा हो । मैले मेरो जग्गा धितो राखेर लोन लिएको, त्यही गएको हो । पछि तिर्न सकिँन । पछि अरु अरु जग्गा बेचेर तिरेँ मैले । एक ठाउँमा मैले जमानी बसेको मात्रै हो ।’

 

उनले अगाडि बढेर भने, ‘मैले एक रुपैयाँ पनि (सहकारीबाट) लोन लिएको छैन भन्नुपर्ने स्थिति आयो क्या, बेमान गरेको हुनाले । मेरो जग्गा क्लिएर गर्नुपर्यो, मेरो घर क्लिएर गर्नुपर्यो । परेन ? सहकारीलाई जमानी बसिदिएकोमा चार पाँच करोडको घर छ मेरो । त्यो मेरो क्लिएर गर्नु पर्यो । परेन ?’

 

उनले सहकारीले आफूले राखिदिएको धितो क्लियर गरिदिनुपर्ने तर्क पनि गरे । उनले अगाडि भने, ‘त्यसकारणले मेरो कुन कुन खातामा के के कारणले पैसा गएको छ, क्लीयर देखाउनुपर्यो । मेरो खातमा कसरी पैसा गयो । कसरी मेरो पैसा तिर्न बाँकी भयो ? त्यो मलाई क्लियर गरेपछि भइहाल्यो । त्यसमा मुद्दा लडौंला । परिवार लड्छ होला  । मेरो सम्पत्तिलाई त मैले मात्रै सही (हस्ताक्षर) गरेर हुँदैन होला ? मेरो मिसेस पनि चाहिएला । छोरो पनि चाहिएला । छोरी पनि चाहिएला । त्यो सहकारीमा यहाँ मेरो थानकोटको चार पाँच करोड पैसा छ । त्यहाँ जम्मा गरिदिएको । स्थानीयहरुको । त्यो जमानी म बसिदिएको । म त्यो पैसा नआएसम्म म छाड्नेवाला छैन ।’

 

उनले उक्त सहकारी नियमअनुसार नचलेको आरोप लगाए । उनले भने, ‘सहरकारीको नियमअनुसार सहकारी चल्नुपर्दैन ? धितो नै नराखी लोन दिएको छ । बरु मेरो धितो छ ।  सही नगर्दिनुपर्ने रहेछ मैले । यस्तो होला भन्ने मैले थाहा पाइँन । यो विषयमा प्लानिङ रहेछ । मकवानपुरमा गएर मैले सही गरेको हो । संस्था चलाउनका लागि मैले विश्वासका लागि काम गरेको हो ।’

 

उनले जग्गामा लगानी गरेको चाहिँ स्वीकार गरे । मेयर गिरीले भने, ‘जग्गामा लगानी गरेको हो नै । खाताबाट मैले पैसा बुझेको छैन । साढे २ अर्ब पैसा कहाँ गयो । जग्गा कहाँ–कहाँ लिएको छ रे । म हेर्न जाने होइन । मलाई त चिन्ता केही पनि छैन । सात आठ करोडले म गरिब हुने होइन । तिर्ने आधार चाहियो । कानुनले तिर्नुपर्ने भन्यो भने त तिर्नुपर्ने हुन्छ । मेरो बैनीको पनि पैसा लगेर राखेको छ ।’ उनले आफ्नो बैनीको कारोबार सहरकारीमा रोक्का रहेको बताए । उनले दुई करोड रुपैयाँ ८–१० करोड पुगेको भन्दा आफू छक्क परेको पनि बताए । मेयर गिरीले भने, ‘दुई करोड ८–१० करोड कसरी हुन्छ ? पैसा कता गयो ? सहकारीले कताबाट दियो । कसलाई दियो । चाहियो !’