गृहमन्त्री र ‘नो केबलकार’ समूहबीच छलफल, आन्दोलन स्थगित गर्ने सहमति


काठमाडौं । गृहमन्त्री रमेश लेखक र नो केवलकार समूह बीचको छलफल भएको छ। सोमबार साँझ गृहमन्त्रालय पुगेका उनीहरूले गृहमन्त्री लेखकले नै वार्ता समितिको नेतृत्व गरेर वार्ता गराउन भनेका छन् । तर गृहमन्त्रीले सरकारले आधिकारिक रूपमा वार्ता टोली बनाएकाले उनीहरुसँगै वार्ता गर्न सुझाव दिए । गृहमन्त्री लेखकले भने अहिले सहसचिव स्तरमा गठित समिति नै अधिकारसम्पन्न समिति भएकाले त्यसैसँग वार्ता गर्नु समाधानमुखी हुने बताएका छन् ।
वार्तामा नेपाल सरकारका तर्फबाट संयोजक तोकिएका गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई टोलि नै आधिकारिक वार्ता टोली भएको गृहमन्त्रीले आन्दोलनकारीलाई बताएका थिए । आन्दोलनकारीले केबलकार निमार्ण रोकेर पाथीभरालाई जस्तो अवस्थामा छ उस्तै छाडिदिन अडान कायम राखेका छन् ।
वार्तामा सहभागी सांसद उर्मिला थेबेका अनुसार वार्ता सकारात्मक भएको, तत्कालका लागि आन्दोलन रोक्ने, निरन्तर वार्ता जारी राख्ने सहमति भएको छ । उनका अनुसार आन्दोलनले थप विरोधका कार्यक्रम स्थगित गर्ने र वार्तालाई निरन्तरता दिइ बीचमा रहेर सम्झौता गर्ने सहमति भएको छ ।
ताप्लेजुङ्ग जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवाद सम्बन्धमा छलफलका लागि जारी छलफलमा गृहमन्त्री लेखकसहित नेकपा एमालेका सचिव योगेश भट्टराई, गृह प्रवक्ता रामचन्द्र तिवारी रहेका छन् । त्यस्तै, आन्दोलनरत पक्षबाट आङकाजी शेर्पा, रमेश राईलगायत करिब १० जनाको उपस्थिति रहेको थियो ।