भैरहवाको स्वर्गद्वारी घाटमा हजारौंको उपस्थितिमा प्रकृतिको अन्त्येष्टि


रुपन्देही । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गरिएको छ।गएराति भैरहवाको स्वर्गद्वारी घाटमा हजारौँको उपस्थितिमा उनको दाहसंस्कार गरिएको हो। अन्त्येष्टिमा परिवार, आफन्त, स्थानीयबासी तथा सहपाठीहरू सहभागी भएका थिए।
प्रकृतिको शव भारतको ओडिसा राज्यको भुवनेश्वर बाट गोरखपुर हुँदै हिजो बिहान भैरहवा ल्याइएको थियो । दिउँसो शवयात्रा निकालिएको थियो भने राति भैरहवा परिक्रमा गराएर अन्त्येष्टि गरिएको हो ।
उनको हजुरबुवा देवनाथ लम्सालले मुखाग्नि दिएका थिए। प्रकृति आइतबार भारतको केआईआईटी छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानमा कलेजकै एक युवकको यातनाका कारण उनले आत्महत्या गर्न बाध्य भएको खुलेको छ। भारतीय प्रहरीले ती युवकलाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ। प्रहरीको विस्तृत अनुसन्धानपछि मात्र घटनाको वास्तविकता खुल्नेछ।