Ad Image

तलकोटको कृकिट्टे गाउँका नागरिक अत्यावश्यक स्वास्थ्य सेवाबाट अझै बञ्चित

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740378890.png

बझाङ । गाउँमा कोही बिरामी भयो भने अहिले पनि गाउँघरमा झार जङ्गलको भर पर्नुपर्छ भन्दा तपाईँ हामीलाई अचम्म लाग्नसक्छ । तर बझाङको तकोट गाउँपालिकाको कृकिट्टे गाउँका नागरिकहरुमा सामान्य स्वास्थ्य सेवाको पहुँच नपुग्दा जडिबुटीकै भरमा रोगसँग जुध्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

 

ज्वरो, झाडापखाला , रुघाखोकी, आँउ आदि लागेको खण्डमा लालीगुँरासको फूल, गनाल्दो, कटुकी, टिमुरलगायतका जडिबुटी खोज्न नागरिकहरु जङ्गल पस्ने गर्छन । तलकोट गाउँपालिका वडा नम्बर ३ मा पर्ने यो गाउँमा जम्मा १८ परिवारको मात्रै बसोबास रहेको छ । गाउँमा स्वास्थ्य चौकी छैन । घर परिवारमा कोही बिरामी भएको खण्डमा जडिबुटी खोजेर ल्याएर ख्वाउनुको विकल्प पनि छैन । स्वास्थ्यमा जटिल समस्या देखिएको अनुभव गरेमा ४ घण्टाको जंगलको बाटो भएर वडा नम्बर ३ कै अर्को गाउँ रुपातोलाको स्वास्थ्य चौकी पुर्‍याउनुपर्छ । अझ गाउँमा एउटा स्टेचरसम्म पनि छैन । गाउँलेहरुले बिरामीलाई डोको काटेर पिठ्यूँमा बोकेर नै स्वास्थ्य चौकीसम्म पुर्याउनु पर्छ ।

 

५ वर्षअघि २०७६ सालमा तलकोट गाउँपालिकाको पहलमा एउटा सामान्य प्राथमिक स्वास्थ्य उपचार दिनका लागि टिनको टहरा निर्माण गरी कृकिट्टे स्वास्थ्य क्लिनिक स्थापना  गरिएको थियो । क्लिनिकमा स्वास्थ्यका सामाग्रीहरु समेत उपलब्ध थिए । तर स्वास्थ्यकर्मी उक्त गाउँमा बस्न नमानेका कारण औषधि तथा उपकरण पनि सडेर खेर गएको यहाँका स्थानीय बासिन्दाको भनाई छ । गाउँलेहरुले हरेक महिनाको १८ गते पालिकाबाट स्वास्थ्यकर्मी गाउँमा आएर गाउँलेहरुको रेखदेख तथा औषधि उपचार गर्ने भन्ने निर्णय समेत गरेको थिए । तर उक्त कार्य गर्नु र नगर्नुले खासै सहयोग नमिलेको अनुभव गाउँलेसँग छ । बिरामी कति बेला हुन्छन् ? पत्तो हुँदैन  । महिनाको १८ गते स्वास्थ्यकर्मी आए नआएको  अर्थ नै नहुने यहाँका स्थानीय बताउँछन् ।
 

‘यहाँका नागरिकहरुको आय आर्जनको स्रोत सामान्य कृषिबाहेक केही नभएका कारण विपन्न छन्’, स्थानीय अस्मिता बोहराले भनिन्,  ‘सडक गाउँमा पुगेको छ । गाउँमा कोही बिरामी भएर जीपलाई बोलाएर बुकिङ गर्नु परेको खण्डमा १० हजारभन्दा बढी भाडा तिर्नु पर्छ । त्यत्रो रकम तिर्न सक्ने क्षमता गाउँमा कसैको पनि छैन । त्यसैले गाउँमा  कोही बिरामी भइहाल्यो भने डोकोमा नै बोकेर स्वास्थ्य चौकीसम्म लैजानुपर्र्नेे बाध्यता यहाँको छ ।’

 

यस विषयमा सबै जनप्रतिनिधि, कर्मचारी जानकार नै छन् । तर समस्या समाधानका लागि पहलसम्म गरेको पाइँदैन । ‘हामी दुःखी गरिबहरुको समस्या कस्ले बुझिदिने ?’, जुनादेवी बोहराले दुखेसो पोखिन्, ‘मत माग्दा गाउँमा पुग्ने जनप्रतिनिधिहरु जितेपछि गाँउमा फर्केर समेत हेर्दैनन् ।’

 

गाउँमा स्वास्थ्यको मात्रै समस्या नभई खानेपानीको पनि हाहाकार छ । ताक्लाकोट सडकखण्ड कटान गर्ने ठेकेदारले पाइप दिएर गाउँलेहरुले खानेपानी खान पाएका छन् । त्यो पानी पनि बिहान र बेलुकी मात्रै उपलब्ध हुन्छ । खानेपानी दुनिबन खोलाबाट ल्याइएको छ । गाउँलेहरुका अनुसार कहिले त सडकमा काम गर्नेहरु सडकमा नै पानी चाहिने भएका कारण पानी दिन नै मान्दैनन् । पहिला गाउँ नजिकै खानेपानीको मुहान थियो । अहिले सडकले उक्त मुहान पूर्ण रुपमा क्षति भएका कारण खानेपानीको हाहाकार भएको हो । यो समस्याको समाधानका लागि बोलीदिने मानिससम्म छैनन् । गाउँका सबै नागरिक सोझा–साझा छन् । आफ्नै खेतबारीमा उब्जाएको अन्न र काम र मजदुरी गरेर जीविका चलाउनु पर्ने अवस्था यस गाउँको छ ।

 

तलकोट गाउँपालिकाका स्वास्थ्य संयोजक नरजीत खड्का कृकिट्टे गाउँ निकै दुर्गम रहेको स्विकार गर्छन् । कृकिट्टका नागरिकहरुलाई भइपरी ठूलै स्वाथ्इ समस्या भएका ४ घण्टाभन्दा बढी पैदल हिँडेर रुपातोला आधारभूत स्वास्थ्य सेवा केन्द्र उपचार गर्न जानुपर्ने बाध्यता रहेको खड्का स्वीकार्छन्  । रुपातोला आधारभूत स्वास्थ्य सेवा केन्दमा उपचार सम्भव नहुने भएका फेरि निक्कै समय हिँडेर  उक्त गाउँका नागरिकहरु धमेना स्वास्थ्य चौकीमा पुग्नु पर्छ । भौगोलिक हिसाबले निकै दुर्गम भएका कारण गाउँघर क्लिनिक  आफूहरुले चलाउँदै आएको  खड्काले बताए । ‘महिनाको एक पटक गाउँमा पुगेर स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छांै’, खड्काले भने, ‘यस्ता समस्याहरु आमा समूहको बैठेकमा पनि छलफल हुने गरेको छ ।’

 

खड्काले स्टेचरको अभाव र अन्य समस्याका बारेमा आफूलाई जानकारी नआएको बताए । खड्काले उक्त गाउँमा स्टेचर उपलब्ध गराउने प्रतिबद्धता समेत ब्यक्त गरे ।