Ad Image

कृकिट्टेका बालबालिकाहरुको भविष्य अनिश्चितः पढ्न पठाउँदा जिउँदै घर नफर्किने चिन्ता

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740808365.png

बझाङ । चलकोट गाउँपालिका वडा नम्बर ३ को दुर्गम बस्ती कृकिट्टेका नागरिक स्वास्थ्यसँगै शिक्षा प्राप्त गर्न पनि बञ्चित छन् । १८ परिवार बसोबास रहेको यस ठाउँमा कक्षा ३ सम्मको मात्रै पढाई हुन्छ । तीन कक्षाभन्दा माथि पढाई हुने विद्यालय पुग्न चार घण्टाभन्दा बढी हिंड्नुपर्ने बाध्यता छ ।

 

दुर्गम बस्ती भएकै कारण शिशु कक्षादेखि ३ कक्षासम्म अध्ययन गर्न सकिने शैनकालिका आधारभूत विद्यालय गाउँमा सञ्चालनमा छ । अहिले यो विद्यालयमा ३० जना बालबालिका अध्यनरत छन् । तीन कक्षासम्म पढाई हुने यो विद्यालयको भवन र अन्य संरचनाहरु राम्रा छैनन् । बालबालिकाहरुलाई बस्नका लागि उचित ठाउँ नहुँदा स्थानीयको घर भाडामा लिएर लामो समेतदेखि पठन पाठन हुँदै आएको स्थानीयबासीहरु बताउँछन् ।

 

शैनकालिका आधारभूत विद्यालयमा अध्ययन गर्ने अधिकांश बालिबालिका कक्षा ३ को पढाई पूरा गरेपछि पढाई छाड्न बाध्य छन् । स्थानीय दिनेश बोहराका अनुसार कक्षा तीनसम्म गाउँकै विद्यालयमा पढ्ने उनीहरु त्यसपछि गाउँमा अध्ययन गर्ने विद्यालय नभएका कारण पढाई बीचमै छाड्छन् । बोहोरा भन्छन्, ‘यस गाउँबाट अर्को विद्यालयसम्म पुग्नका लागि ३ घण्टाभन्दा बढी पैदल यात्रा गर्नुपर्छ । फेरि बाटो जंगलको भएका कारण बालबालिकाहरुलाई एक्लै पठाउन सकिँदैन । जंगलको बाटोमा बाघ भालु तथा अन्य जंगली जनावरको समेत डर हुने भएका कारण गाउँकै विद्यालयमा आफ्‌ना छोरा छोरीलाई ३ कक्षा सम्म मात्रै अध्ययन गराउने गरेका छाैं ।’ 
 

 

उनी अगाडि थप्छन्, ‘माथिल्लो क्लास धेरै जस्तो बालबालिकाहरुले अध्ययन गर्न पाएका छैनन् । गाउँका केही स्थानीय बासिन्दाहरुले आफ्‌ना सन्तान वडा नम्बर ३ को अमर निमाविमा पठाउने गरेका छन् । उनीहरुलाई उतै बस्ने व्यवस्था गरिएको छ । उनीहरु उता आफन्तकोमा बसेर पढ्छन् । तर आय स्रोत नभएका परिवारहरुले भने गाउँकै विद्यालयमा ३ कक्षासम्म पढाउँछन् र त्यसपछि पढाउन सक्दैनन् ।’

 

आफूले  छोराछोरी कक्षा ३ सम्म गाउँकै विद्यालयमा पढाएको र कक्षा ४ मा गएपछि छोरा छोरीलाई रुपातोलामा आफ्‌नो फूपुको घरमा डेरा लिएर राखेकोे स्थानीय सूर्ती बोहराले बताइन् । उनले भनिन्, ‘मैले मेरा ३ जना केटाकेटीलाई फूपु भानमति घर्तिको घरमा बसालेर पढाएकी छु । जेठी छोरी बाटु ४ कक्षामा छिन् । धौली  र रिदम ३ कक्षामा पढ्छिन् । कहिलेकाहीँ भेटघाट गर्न सामल (अन्न) लिएर जाने गरेका छौं ।’ सूर्ती बोहोराको जति व्यवस्था अरु कतिपय स्थानीय नागरिकले गर्न सकेका छैनन् । त्यसैले उनीहरुका छोराछोरीले पढ्न पाएका छैनन् ।

 

गाउँकै विद्यालयमा आफ्‌नो छोरी एलिसा ३ कक्षामा, कीसन १ कक्षामा र पूजा शिशु कक्षामा पढाई रहेको बताउँछन् दिनेश बोहरा । उनी भन्छन्, ‘छोरा छोरीलाई माथिल्लो कक्षामा पढाउने चाहाना हुँदा हुँदै पनि छुटाउनु पर्ने बाध्यता छ । थप पढाउन साना छोराछोरीलाई जंगलको बाटो हिँडाएर पठाउन सकिँदैन् ।’

 

यो गाउँमा यही वर्ष मात्रै कक्षा ३ सम्म अध्ययन गरेर विद्यालय छोड्न बाध्य भएका १३–१४ जनाभन्दा बढी बालबालिकाहरुको भविष्य अन्योलमा रहेको स्थानीय नागरिकहरु बताउँछन् ।

 

अझ गुनासो त विद्यालयको पढाईको विषयमा पनि छ । अभिभावकहरु स्रोतसाधनको अभावमा शैनकालिका आधारभूत विद्यालय नाम मात्रैको विद्यालय बनेको दुखेसो गर्छन । अहिले ३० जना बालबालिकाहरु अध्ययन गर्ने यो विद्यालयमा विद्यार्थी पढाउन चाहिने बोर्डसमेत छैन । गाउँकै एक व्यक्तिको घर भाडामा लिएर सञ्चालन गरिएको यो विद्यालयको आफ्‌नै उपर्युक्त भवन पनि छैन । २ जना शिक्षक रहेको यस विद्यालयको खेल मैदान पनि छैन । ताक्लकोट सडक खण्ड निर्माण गर्ने क्रममा स्का–भेटर लगाएर सामान्य खेल मैदान निर्माण गरिएको भए पनि उक्त स्थानमा बालबालिकाका लागि खेल्न योग्य मैदान बनाउन नसकिएको स्थानीय नागरिकहरुको दुखेसो छ । ढुङ्गा नै ढुङ्गा रहेको यस विद्यालयमा अध्यनरत बालबालिकाहरु पढाउन लागि एउटै कोठामा दुई भाग लगाइएको छ । कोठा पनि साँधुरो छ ।

 

यस विद्यालयमा पढाउने शिक्षकको तलब समेत गाउँलेहरुले चन्दा संकलन गरेर दिनु परेको छ । मासिक रुपमा दश हजार दिने गरी शिक्षकले बालबालिकालाई पढाउने गरेका छन् । छोरा छोरी विद्यालयमा पठाउने अभिभावकहरुले नै चन्दा संकलन गरेर शिक्षकको तलब दिनुपर्ने हुन्छ ।

 

यस ठाउँको अनुगमन गर्न पुगेको बताउने तलकोट गाउँपालिकाका शिक्षा अधिकृत हरिन्द्र उपाध्यायले यहाँ भर्खर पालिकाले ईसीडीको अनुमति दिएको बताए ।  उनले गतवर्ष डेढ लाख बजेट विनियोजन गरी टिनको टहरा निर्माण गरेर उक्त टहरामा नै अध्यापन गराउन पालिकाले निर्णय गरेको समेत बताए ।

 

यहाँका नागरिकहरु कहिले रुपातोला र कहिले कृकिट्टे बस्ने भएका कारण पनि अधिकांश बालबालिकाकाहरु शिक्षाबाट बञ्चित हुने गरेका छन् ।  पालिकाले यो ठाउँका लागि एकजना शिक्षक  उपलब्ध गराउने र यो विद्यालयको मातृ विद्यालय अमर निम्न माध्यामिक विद्यालय रहने गरी कार्य अघि बढाएको शिक्षा अधिकृत उपाध्यायले बताए । शिक्षकको तलब छात्रवृति तथा सबै प्रशासनिक कार्य अमर निमाविबाट नै हुने गरेको शिक्षा शाखाका प्रमुख उपाध्यायले जानकारी दिए ।

 

तर अभिभावकहरु एकजना शिक्षकले मात्रै यहाँका बालबालिकाहरुलाई शिक्षा दिन नसक्ने बताउँछन् । उनीहरुले त्यही भएर चन्दा नै संकलन गरेर भए पनि थप एक शिक्षक पनि राखेका छन् । स्थानीय सरकारले यहाँका बालबालिका तथा अभिभावकका लागि यहाँ सुविधा सम्पन्न भवन र संरचना निर्माण गरिदिन अति आवश्यक देखिन्छ । साथै सवारी साधनको प्रयोग मार्फत बाललबालिकाको शिक्षाको सुनिश्चितता पनि गर्न आवश्यक देखिन्छ ।