Ad Image

प्रारम्भिक बाल विकासका शिक्षकहरु भन्छन्– हामीले साना बालबालिकालाई दण्डित गरेका रहेछौं भन्ने लाग्यो

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740977206.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले युनिसेफ नेपाल र सेतोगुराँस राष्ट्रिय बाल विकास सेवासँगको सहकार्यमा ३० जना प्रारम्भिक बालविकास शिक्षक तथा प्रशिक्षकका लागि ८ दिनको ‘प्रशिक्षक प्रशिक्षण’ सम्पन्न गरेको छ । शनिबार १५ जना बालविकास शिक्षक र १५ जना प्रशिक्षकलाई नेपाल सरकार, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तर्जुमा गरेको प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित निर्माणात्मक मूल्याङ्कन सम्बन्धी प्रशिक्षक प्रशिक्षण प्रदान गरेको हो ।

 

प्रशिक्षणमा प्रारम्भिक बाल विकास तथा शिक्षाको पाठ्यक्रम २०७७ मा भएका व्यवस्था, विषयबस्तु छनोट र योजना, दैनिक कार्यतालिका, प्रारम्भिक बालविकास केन्द्रको न्युनतम मापदण्ड, प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड जस्ता विषय समेटिएका थिए । प्रारम्भिक बाल विकास केन्द्र र ५ वर्षका (४८ देखि ६० महिनासम्मा) बालबालिकामा हुनु पर्ने सर्वाङ्गीण विकास सुनिश्चित गर्न बालबालिकाको स्तर पहिचान तथा उपचारात्मक रणनीतिमा तालिम केन्द्रीत थियो । यस अन्तर्गत सहभागीले शारीरिक, संवेगात्मक, सामाजिक, सांस्कृतिक, बौद्धिक तथा भाषिक विकासका पक्षहरू सम्बन्धित क्रियाकलापमा दैनिक कार्यतालिकामा आधारित रहेर सुक्ष्म शिक्षण समेत गरेका थिए ।

 

तालिम समापनका अवसरमा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले महानगरपालिकाले प्रारम्भिक बाल विकास केन्द्रीत च्याम्पियन विकास गर्न खोजेको बताए । ‘आमाबुबाका काखको मायाले हुर्किँदै गरेका बालबालिकालाई विद्यालयको वातावरणमा घुलमिल गराउन सानोतिनो सीपले काम गर्दैन । केन्द्रमा आएका बालबालिकालाई उनीहरुको रुचि बुझेर केन्द्रको वातावरणमा घुलमिल गराउन सक्ने क्षमताका शिक्षक उत्पादनमा महानगरपालिकाको लगानी छ’ उनले भने ।  ‘महानगरपालिकाले शिक्षामा लगानी बढाउँदै लगेको छ । ‘पूर्वाधार’, ‘शैक्षिक सामग्री’, ‘मानव पुँजी विकास’ र ‘सुशासन, व्यवस्थापन तथा दिगोपना’का लागि लगानी बढाएको हो ।’ झाले भभने, ‘महानगरपालिकाभित्रका ८१ वटा सामुदायिक विद्यालय र संस्थागत विद्यालयका प्रारम्भिक बाल विकास केन्द्रलाई समान मापदण्डका आधारमा सञ्चालन गर्ने तयारी छ ।’

 

प्रारम्भिक बाल विकास तथा शिक्षा सम्बन्धी क्रियाकलापका विषयमा शिक्षकहरुमा सूचना छ कि छैन ?  ज्ञान छ कि छैन ? भन्ने प्रसङ्गमा शिक्षा विभागका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले भने, ‘शिक्षक सबैलाई थाहा छ । थाहा भएको ज्ञान र सिप प्रयोग भएको छ कि छैन भन्ने मुख्य सवाल छ । यसमा महानगरपालिकाले अनुगमन गर्नेछ ।’

 

युनिसेफ नेपालका प्रारम्भिक बाल विकास विशेषज्ञ डा. दिपु शाक्यले काठमाडौं महानगरपालिकाको शिक्षा नीतिलाई उधृत गर्दै भन, ‘प्रारम्भिक बाल स्याहार र विकास तथा प्रारम्भिक बाल शिक्षा र विकासलाई छुट्याएर महानगरपालिकाले महत्वपूर्ण प्रणाली स्थापित गरेको छ । काठमाडौं संघीय नेपालको केन्द्रीय राजधानी सहर भएकोले यसका अभ्यास र सिकाइ अन्य स्थानीय तहका लागि अनुकरणीय बन्न सक्छन् ।’

 

महानगरपालिकाले निजी क्षेत्रका विद्यालयहरुलाई पनि समेटेर सँगै हिँडाउन आवश्यक रहेको प्रशिक्षकहरुको भनाइ थियो । प्रशिक्षणमा सहभागी सामुदायिक विद्यालयका शिक्षकहरुले सिकेको कुरा कार्यान्वयन गराउन विद्यालयमा अरुको सहयोग आवश्यक पर्ने भएकोले जसको साथ र सहयोग चाहिने हो उनीहरुलाई पनि प्रशिक्षण प्रदान गर्नुपर्ने धारणा राखेका थिए । ‘अहिले बुझ्दा त हामीले साना बालबालिकालाई दण्डित गरेका रहेछौँ भन्ने लाग्यो । युकेजी, युकेजी भनिरहेका छौँ । यो त अनावश्यक संरचना रहेछ ’,  उनीहरुले अनुभव सुनाए ।

 

‘कोही अभिभावक गृहकार्य भएन भनेर गुनासो गर्नुहुन्छ । कोही धेरै गृहकार्य किन दिएको भन्नुहुन्छ । यसलाई मिलाउन अभिभावक शिक्षा र सचेतनाका कार्यक्रम चलाउनु पर्ने देखिन्छ । पहिले गरेको काम ठिक लागेको थियो, उनीहरुले भने, यहाँ आएपछि सिक्न अरु पनि बाँकी रहेछ भन्ने लाग्यो ।’  प्रारम्भिक बाल विकास शिक्षकलाई बालबालिकाको सिकाइ तथा विकासको स्तर पहिचान गर्न सक्ने बनाउने, पहिचान गरिएको आवश्यकता पूरा गर्ने वातावरण तयार पार्न सक्ने बनाउने, बालविकासका लागि आवश्यक क्रियाकलाप निर्धारण तथा प्रयोग गर्न सक्षम बनाउने प्रशिक्षण सञ्चालन गर्न सक्ने प्रशिक्षक उत्पादन अहिलेको लक्ष्य हो । यसबाट प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित बाल विकास केन्द्रका कक्षा सञ्चालन गर्न सक्षमता प्राप्त हुने अपेक्षा राखिएको छ ।

 

शिक्षकसँग बालबालिकाको मनोविज्ञान बुझेर व्यवहार गर्न सक्ने क्षमता चाहिन्छ । यस्तै बाल विकास र सिकाइ उपलब्धि मूल्याङ्कन, प्रगति विश्लेषण गर्न सक्ने, निर्माणात्मक मूल्याङ्कन स्रोत पुस्तिकाको आधारमा शिक्षण सञ्चालनका बहुआयामिक तौरतरिका प्रदान गर्न सक्ने, कार्यगत सीमितता वा अतिरिक्त आवश्यकताहरुको मूल्याङ्कन गर्न सक्ने सिप आवश्यक हुन्छ ।

 

४ बर्षभन्दा कम उमेर भएका बालबालिकालाई प्रारम्भिक बाल स्याहार तथा विकास (अर्ली चाइल्ड केयर एण्ड डिभलपमेन्ट, इसिसिडी), ५ वर्षका बालबालिकालाई प्रारम्भिक बाल शिक्षा तथा विकास (अर्ली चाइल्ड एजुकेसन एण्ड डिभलपमेन्ट, इसिइडी) र कक्षा १ देखि ३ सम्मका बालबालिकालाई समेत इसिइडीको अवधारणा अनुरुप नै बालमैत्री शिक्षा कार्यान्वयन गर्ने नीति अनुरुप महानगरपालिकाले काम गरिरहेको छ । यसको सुरुवात गर्भावस्थादेखि नै हुन्छ । यसबेलादेखि शिशु स्याहारका कार्यक्रम सुरु गरेर ८ वर्षको उमेरसम्मका बालबालिकाका लागि प्रारम्भिक बाल विकास कार्यक्रमअन्तर्गतका क्रियाकलाप सञ्चालन हुनेछन् ।