तराई तथा मधेसमा आज होली मनाइँदै


काठमाडौं । आज तराईका जिल्लाहरूमा फागु अर्थात् होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रंगहरुको पर्व होलीलाई मित्रता, आत्मीयता, सामीप्य र सद्भाव दर्साउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसंगी, आफन्तहरू जम्मा भएर होली खेल्ने गरिन्छ ।
पहाडी तथा हिमाली जिल्लाहरूमा होली मनाइएको भोलिपल्ट तराईमा होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुसियाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ ।
होलीमा प्रयोग गरिने रङहरूको आ–आफ्नै महत्व रहेको छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान गणेशलाई सबै रङ मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।
सत्य युगमा विष्णुभक्त प्रहृलादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रहृलादले काखमा लिएर आगोमा बस्न लगाउँदा प्रहृलादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतीकको रुपमा होली पर्व मनाउने गरिएको छ । पहाडी जिल्लामा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ ।