Ad Image

शनिबारदेखि ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ हुने

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742556598.png

काठमाडौं । जल तथा ऊर्जा आयोगको सचिवालय र राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको आयोजनामा ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ हुने भएको छ ।


आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा जल सम्बद्ध सङ्घसंस्थाको सहकार्यमा चैत ९ र १० गते पहिलोपटक राष्ट्रिय पानी सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।


आयोगका सचिव मधुप्रसाद भेटुवालले सरकारले पानीलाई उच्च प्राथमिकतामा राखेर विभिन्न गुरुयोजना निर्माण गरिरहेको बताए । उनले बढीभन्दा बढी जनताले लाभ पाउने गरी मन्त्रालयले पानीका क्षेत्रमा योजना बनाइरहेको बताए ।


सचिव भेटुवालले नेपालका २१ वटा हिमताल विस्फोटको जोखिममा रहेको भन्दै ती हिमताललाई संरक्षण गर्न आयोग लागिरहेको जानकारी दिए । उनले पानीको उचित प्रयोगका लागि राष्ट्रिय जलस्रोत नीति, २०७७ ल्याइएको र जलस्रोत विधेयक संसदमा विचाराधीन अवस्थामा रहेको बताए।


राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घका अध्यक्ष शम्भुप्रसाद दुलालले पानीसम्बन्धी सरकारका नीति तथा कार्यक्रमलाई व्यवस्थित बनाएर पानीको उपयोगका लागि महासङ्घले काम गर्दै आएको बताए । उनले नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव पर्दा हिमतालहरू विस्फोटबाट क्षति हुने गरेको भन्दै यसको व्यावहारिक समाधानका लागि यस्ता सम्मेलनले सहयोग पुग्ने बताए।


जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्वमा नेपालमा वि.स २०६५ सालदेखि जल तथा मौसम सप्ताह मनाउँदै आए पनि यो वर्षदेखि ‘नेपाल राष्ट्रिय हिमनदी जल तथा मौसम सप्ताह’ मनाउन थालिएको छ ।


नेपालको आर्थिक तथा सामाजिक विकासमा जलस्रोतको प्रमुख भूमिका रहेको सन्दर्भमा जलस्रोत संरक्षण, उपयोग, दिगो विकास एवं व्यवस्थापनका लागि नीतिगत छलफल र बहस, जनचेतना अभिवृद्धि, प्राविधिक क्षमता विकास एवं जलस्रोतको एकीकृत उपयोगका लागि वि.स. २०७० चैत ६ गतेको निर्णयानुसार विश्व पानी दिवस मनाउँदै आए पनि सम्मेलन भने पहिलोपटक गर्न लागिएको हो ।


आयोगका सहसचिव एवं प्रवक्ता कलानिधि पौड्यालले दुई दिनसम्म चल्ने सम्मेलनमा पानीको बहुउपयोग, यसको महत्व, स्रोत संरक्षण, दिगो उपयोगका लागि गरिएका असल अभ्यास एवं चुनौतीलगायत विषयमा गहन छलफल हुने बताए ।


सम्मेलनमा एकीकृत जलस्रोत व्यवस्थापन, जल सुशासन, खानेपानी, सरसफाइ, जलविद्युत्, सिँचाइजस्ता क्षेत्रमा जलस्रोतको उपयोगमा रहेका चुनौती र सिकाइका असल अभ्यास तथा पानी सम्बद्ध विविध विषयमा प्रस्तुतीकरण र नीतिगत छलफल हुने प्रवक्ता पौड्यालले बताए । उक्त सम्मेलनमा १० ‘सेसन’मा विधागत छलफल हुनेछन् ।