Ad Image

जिप्रका लमजुङमा रातको समयमा नागरिकताको कारोबारः प्रहरीले थाल्यो ‘गोप्य’ छानबिन

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742559842.jpg

लमजुङ । लमजुङमा  जिल्ला प्रशासन कार्यालयमै केही कर्मचारीको मिलोमतोमा रातको झण्डै १० बजेको समयमा एक व्यक्तिको नागरिकताको विवरण सच्याएर नागरिकताको प्रतिलिपि बनाइदिएको घटना सार्वजनिक भएको छ ।

 

सीसीटीभी नै बन्द गरेर एक व्यक्तिको नागरिकताको प्रतिलिपिका विवरणमा फेरबदल गरेर नागरिकताको प्रतिलिपि जारी गरिदिने कर्मचारीको खोजी अहिले जिल्ला प्रशासन कार्यालय लमजुङमा भइरहेको छ । गएको फागुन २२ गते बिहीबार जिप्रकाको तालाचाबी बोकेका एक कर्मचारीले नागरिकताको ढड्डा पल्टाएर नागरिकताको विवरणमा हेरफेर गरी कम्युटरमा भएको नागरिकताको सिस्टममा पनि विवरणहरू हेरफेर गरी नागरिकताको प्रतिलिपि जारी गरिदिएको भेटिएपछि ‘गोप्य’ तरिकाले यो घटनाको छानबिन प्रहरीले सुरू गरेको छ । लमजुङका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा जिल्ला प्रहरी कार्यालयले यो घटनाको छानबिन सुरू गरेको हो ।

 

रातिको करिब १० बजे जिल्ला प्रशासन कार्यालय लमजुङमा वडा नम्बर ४ कि एक युवतीको नागरिकताको प्रतिलिपि बनेको छ । नागरिकता नं. ४५१०२६–१३८७७ रहेको ३४ वर्षीय गुरुङ थरकी ती युवतीलाई प्रशासनको सीसीटीभी समेत बन्द गरी नागरिकता दिइएको स्रोतले मेयरसाप डटकमलाई जानकारी दियो ।

 

नागरिकता दिने व्यक्तिको विषयमा भने छानबिन भइरहेको र छानबिनको प्रतिवेदन आइसकेपछि कर्मचारीको नाम सार्वजनिक हुने प्रमुख जिल्ला अधिरकारी बुद्धबहादुर गुरूङले मेयरसाप डटकमलाई जानकारी दिए । ‘घटना भएको पुष्टि भएको छ । छानबिनको क्रममा छौं । प्रहरीले गोप्य तरिकाले छानबिन गरिरहेको छ । अबको एक हप्ताभित्र छानबिनको प्रतिवेदन आउने छ । त्यसपछि घटनाको सबै पक्ष सार्वजनिक हुन्छ । अहिले सबै कुरा भन्न सक्ने अवस्था छैन’, सीडीओ गुरुङले मेयरसाप डटकमसँग भने ।

 

गएको फागुन २२ गते बिहीबार जारी भएको नागरिकताहरूको अन्तिम नामावलीमा एक गुरूङ थरकी महिलालाई नागरिकताको प्रतिलिपि दिएको भेट्टिएपछि यो घटना छानबिनमा पुगेको हो । नागरिकता शाखाकी अधिकृत विष्णुकुमारी न्यौपानेले आफूले कार्यालय समयभन्दा अरू समयमा काम नगरेको र यो घटनाको विषयमा आफूले छानबिनमा सहयोग गर्ने बताइन् । उनले छानबिनमा रहेको घटनाको विषयमा आफूले धेरै कुराहरू बोल्न नमिल्ने बताइन् ।

 

सीडीओ बुद्धिबहादुर गुरूङकै निर्देशनमा घटनाको छानबिन सुरू गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले भोलि आइतबार बेसिशहर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गमबहादुर गुरूङलाई छानबिनका लागि कार्यालयमा बोलाएको छ ।

 

वडा अध्यक्ष गुरूङ भने यो विषयमा आफूले कुनै कमजोरी नगरेको दाबी गर्छन् । उनी भन्छन्, ’मैलै सबै कागजातहरू हेरेँ । मेरो कुनै कमजोरी देखिँन । यो घटना भएको हो भने कमजोरी पनि जिप्रकाकै हो । भोलि जिल्ला प्रहरी कार्यालय पुगेर सबै जानकारी पनि लिन्छु । आफूले गरेको सिफारिस पनि बुझाउँछु ।’

 

प्रारम्भिक जानकारी अनुसार गुरूङ थरकी ती महिलाले बेसिशहरकै वडा नम्बर ५ मा विवाह गरेकी थिइन् । तर उनको पारपाचुके अर्थात डिभोर्स भयो । उनले पूर्व पतिको नाम हटाउने भन्दै प्रतिलिपि बनाइदिन वडा नम्बर ४ मा निवेदन दिइन् । सक्कल नागरिकता टाँसेरै उनले पतिको नाम हटाएर प्रतिलिपि बनाउने गरी दिएको निवेदनअनुसार वडा कार्यालयले गएको फागुन २२ गते सिफारिस बनाइदियो । तर त्यही दिन रातको समयमा उनको नागरिकतामा बुबाको नाम राख्नुपर्ने ठाउँमा हजुरबुबा पर्ने एक बेलायती लाहुरेको नाम राखेर नागरिकता जारी गरियो । त्यसो गर्नुको पछाडि उनको बुबा बेलायतका लाहुरे भएको देखिने र उनले बेलायत जान गर्नुपर्ने प्रकृयामा सहज हुने विषय रहेको थियो । ती युवतीको उद्देश्य बेलायत छिर्नु भएको र त्यसका लागि जिप्रकाका कुनै कर्मचारी ती युवतीको प्रलोभनमा परि नागरिकताका पहिलाका विवरणहरू अनावश्यक रूपमा परिवर्तन गरी प्रतिलिपि जारी गरेको पाइएको छ ।

 

चैत २२ गते जारी मिति राखेर बनाइएको नागरिकतामा राखिएको बाबुको नाम भने परिमार्जन गरी उनले हजुरबुबा पर्ने बेलायती एक लाहुरेको नाम राखेको भेट्टिएको स्रोतले जानकारी दिएको छ । युवतीले बुबा नाम राखेका व्यक्ति बेलायतमा बस्न अनुमति पाएका व्यक्ति रहेको प्रारम्भिक जानकारी पाएको जिप्रकाले जनाएको छ ।

 

घटनामा एक कर्मचारीको संलग्नता भएको पुष्टि भए पनि त्यसका पछाडिका अरु कारणहरु बारे प्रहरी अध्ययनमै रहेको स्रोतले जानकारी दियो । जिप्रका स्रोतका अनुसार प्रहरीले एक हप्ताभित्र प्रतिवेदन बुझाएपछि घटनाबारे तथ्य सार्वजनिक हुनेछ । यो घटनामा आर्थिक चलखेल भएको आशंकाहरु बाहिरिएका छन् ।

 

घटना भएकाे लामाे समय हुँदा पनि घटना गुपचुप हुनु र समाचारमार्फत घटना सार्वजनिक भएपछि मात्रै छानबिन सुरु हुनुले  प्रमुख जिल्ला अधिरकारी बुद्धबहादुर गुरूङमाथि पनि प्रश्न उठेकाे छ । यस घटनामा गुरुङकै निर्देशनअनुसार छानबिन हुने भएकाले गुरुङमाथि भने छानबिन नहुने पक्का छ । घटना रातकाे समयमा घटेकाले यसमा कस्ताे छानबिन प्रतिवेदन आउने हाे भन्ने काैतुहलता सबैमा छाएकाे छ ।