बालेनको अमर्यादित आक्रोश–अबको एक हप्तामा कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु !


काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साहले प्रमुख कार्यकारी अधिकृत काठमाडौंमा नपठाएका कारण तलब दिन नसकेको बताइरहेका बेला फेसबुकमा स्टाटस लेख्दै एक हप्ताभित्र आफ्नो पालिका माताहतका कर्मचारीले तलब नपाए ‘सबैलाई टुकुचामा गाडिदिने’ अमर्यादित टिप्पणी गरेका छन् ।
काठमाडौं महानगरका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईँमाथि भ्रष्टाचार गर्न खोजेको आरोप लगाएर मेयर बालेनले पालिका पस्न निषेध गरी सरकारसँग नयाँ कार्यकारी अधिकृत पठाइदिन अनुरोध गरेका थिए । तर संघीय सरकारले सरोज गुरागाईको विषयमा भएको छानबिनको खोजी गरेको थियो। छानबिन पूरा गर्न नसकेको काठमाडौं महानगरले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा एक टिप्पणी पठाएको थियो ।
संघीय सरकारले सरोज गुरागाईँलाई नै जिम्मेवारीमा पुन फर्काउन संघीय सरकारले मेयर बालेनलाई सुझाएको थियो । प्रमुख कार्यकारी अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाको बजेट सञ्चालन हुन सकेको छैन । तीन महिनादेखि कर्मचारीहरुले तलब पाएका छैनन् । कामनपाका शिक्षकहरुले एक विज्ञप्ति जारी गर्दै तलब उपलब्ध नगराए आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।
संघीय सरकारले गुरागाईँको सट्टा अर्को कर्मचारी पठाउन नमानिरहेको बेला यता शिक्षकहरुलगायतले आन्दोलन थाल्ने बताएपछि भित्रभित्रै रिसाएका मेयर बालेन सरकारले विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाउने निर्णय गरेर आलोचित हुँदै गर्दै सामाजिक सञ्जालबाट पड्किएका हुन् ।

उनले सरकारलाई चेतावनी दिँदै भनेका छन्, ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिनादेखि तलब पाएका छैनन् । सरकारको दम्भले । को को ले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन । अबको एक हप्तामा हाम्रा कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडिदिन्छु । त्यो पछि हेरौंला तिमीहरुको के के तन्त्र हो ?’
मेयर बालेनको यो आक्रोश अमर्यादित देखिन्छ । हुन त उनी र्यापर पनि हुन् । यस अघि पनि उनले आफ्नी श्रीमती अस्पताल लिएर हिँडेको बेला प्रहरीले रोकेको भन्दै सिंहदरबार जलाइदिन्छु भन्ने अमर्यादित टिप्पणी गरेका थिए । पछि उनले उक्त स्टाटस फेसबुकबाट हटाएका थिए ।