Ad Image

रम्भा गाउँपालिकाका फोक्सिङ्गकोटवासी होमस्टेमा आकर्षित

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741245319.jpg

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–२ स्थित रानीबास फोक्सिङ्गकोटका धनबहादुर सारु ज्याला मजदूरी गरेरै परिवारको गुजारा गर्थे । आफूसँग भएको आधा विघा जमिनले खान पनि नपुग्ने भएकाले उनी गाउमै खेतीपाती र अन्य काममा मजदूरी गर्दै आएका थिए । त्यही मजदूरीको भरमा सारुले आठ जनाको परिवार पालेका थिए । पर्यटकीय स्थल फोक्सिङ्गकोट नजिकै वस्तीमा बसोबास गरिरहेका उनले हाल मजदूरी गर्न छाडेका छन्। केही समययता उनको वस्तीमा होमस्टे सञ्चालन भएपछि अर्काकोमा मजदूरी गर्नुपर्ने बाध्यता हटेको उनी बताउँछन् ।


सारु मजदूरी छाडेर होमस्टेकै व्यवस्थापन र पाहुनाको स्वागतमा लागेका छन् । होमस्टेबाट राम्रै आम्दानी हुने भएपछि उनी उत्साहित छन् । यस्तै स्थानीय रनबहादुर सारुले गाउँमै होमस्टे सञ्चालन भएपछि आफूहरूका लागि आयआर्जन पनि हुने र आफ्नो कला, संस्कृतिलाई चिनाउने अवसर समेत मिल्ने भन्दै खुसी व्यक्त गरे । धनबहादुर र रनबहादुर मात्र होइन, यहाँका वासिन्दा होमस्टे सञ्चालनमा आएपछि उत्साहित भएका छन् ।


आफ्नो कला, संस्कृति, रीतिरिवाजसहितको पहिचान खोजिरहेको अवस्थामा होमस्टे सञ्चालन जनजाति समुदायका लागि एउटा अवसर हुने स्थानीय टेकबहादुर पुनले बताए । उनले भने, ‘होमस्टे सञ्चालनबाट हामीले आफ्नो कला, संस्कृति चिनाउन पाउनेछौँ । मगर, जनजाति समुदायको पहिचानको प्रचार–प्रसार हुनेछ ।’ बाहिरका मानिसलाई आफ्नो चालचलनअनुसार जे जे खानेकुरा छ, बनाएर खुवाउन र आफ्नो सांस्कृतिक पहिचान देखाउनुको साथै दुईरचार पैसा आम्दानीको लागि होमस्टे राम्रो माध्यम बन्ने पुनको भनाइ छ । पर्यटन प्रवर्द्धनका साथै आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले केही दिन अघि गाउँपालिकाको पहलमा स्थानीयले ‘रानीबास सामुदायिक होमस्टे’ सञ्चालनमा ल्याएका छन् । होमस्टे सञ्चालन भएपछि पर्यटक पनि आकर्षित हुन थालेका छन् ।


समुद्र सतहदेखि करिब एक हजार २०० मिटर उचाइमा रहेको फोक्सिङ्गकोट गाउँमा पुग्ने पर्यटकले रानीबास गाउँबीचमा रहेको चुर्कीथान, माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरी हिमालसँंगै अन्य हिमशृङ्खला, स्याङ्गजाको गल्याङ्ग बजार, रिमीघा लेक र टिमुरडाँडा, आर्यभञ्ज्याङ्ग, तानसेनको श्रीनगर, सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोर, कालीगण्डकी नदी, राम्दीपुललगायतका मनमोहक दृश्य अवलोकन गर्न पाउनेछन् ।


होमस्टेमा बास बस्ने पर्यटकहरूले स्थानीय झाम्रे नाँच, मारुनी नाच, सालैजो, कौडा, ठूलो नाच, पञ्चेबाजा कला, संस्कृतिसमेतको आनन्द लिन पाउनेछन् । होमस्टेमा आउने पर्यटकलाई प्रतिव्यक्ति एक हजार बराबर खर्चमा प्याकेजको व्यवस्था मिलाइएको छ । कुखुराको मासुसहित दुई छाक खाना, एक नास्ता र बस्नका लागि प्याकेजमा सुविधा रहेको छ । यहाँ स्थानीय उत्पादनका परिकार खुवाइन्छ । पर्यटकको मागअनुसार कोदोको ढिंडो, रोटी, मकैको आँटो, गुन्द्रुक, स्थानीय जातका कुखुराको मासु, स्थानीय प्रजातिको सुँगुरको मासु, बटुक, सेलरोटीलगायका परिकारको स्वाद लिन पाइने होमस्टे सञ्चालक समितिकी अध्यक्ष देउकुमारी सारुले बताइन् ।


होमस्टे पुग्ने पर्यटकहरूको लागि अवलोकन गर्न जनजाति सङ्ग्रहालय समेत निर्माण गरिएको छ । यहाँ जनजातिका परम्परागत सिप, कला, कौशलका सरसमान व्यस्थितरूपमा सजाएर राखिएका छन् । साथै, मगर समुदायको भेषभुषा, ऐतिहासिक माटो र काठले बनेका भाँडा, हतियार, दैनिक जीवनमा प्रयोग हुने प्राचिन सामान सङ्ग्रहालयमा राखिएका छन् । परम्परागत र आधुनिक सीपकलाको मिश्रणबाट सङ्ग्रहालय भवनलाई कुडुले घरको रूपमा निर्माण गरिएको छ । भवन तथा सङ्ग्रहालय निर्माणको लागि केन्द्र सरकार पर्यटन मन्त्रालय र स्थानीय सरकारको रु एक करोड १५ लाख खर्च भएको छ । अहिले फोक्सिङ्कोटमा ९३ घरपरिवार मगर रहेका छन् । तीमध्ये १६ घरमा होमस्टे सञ्चालन गरिएको छ भने अन्य घरमा पनि विस्तार गर्ने योजना रहेको रानीबास होमस्टे सञ्चालक समितिले जनाएको छ । यहाँ रैथाने बालीको नियमित उत्पादन, परम्परागत कला, संस्कृतिको जीवन्तता, प्राकृतिक सौन्दर्यता र एकै किसिमको मगर बस्ती भएका कारण नै गाउँपालिकाले होमस्टे सञ्चालनमा सक्रियता देखाएको पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।


आफ्नै घरमा पाहुनालाई राखेर आर्फँले उत्पादन गरेको वस्तुबाट बनाएको खानाको परिकार बिक्री गरी स्थानीय मानिसले आम्दानी गर्ने यो एक भरपर्दो र सजिलो माध्यम पनि हो । होमस्टेमा आउने पाहुनाले केही न केही रकम खर्च गर्दछन् । सामान्य आयस्तर भएका मानिसका लागि यो आर्थिक अवसर पनि हो । होमस्टेमा आउने पाहुनाले देख्ने दृश्य, वातावरण, संस्कृति र मानिसले गर्ने सेवासमेतको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मूल्य तिरिरहेका हुन्छन् । यसले गर्दा पर्यटक आउँदा सहरका ठूला होटल र ठूला पर्यटन व्यवसायीले मात्र लाभ प्राप्त गर्ने होइन कि एउटा सामान्य दूरदराजमा बस्ने मानिसले पनि पर्यटनको महत्व बुझ्दै आर्थिक अवसर प्राप्त गर्दछ । यसबाट सामान्य ग्रामीण क्षेत्रमा बसोवास गर्ने मानिसले समेत पर्यटनको माध्यमबाट केही न केही आयआर्जन गर्न सक्छन् ।


होमस्टे ग्रामीण पर्यटन विकासका लागि महत्वपूर्ण पूर्वाधार हो । ग्रामीण समुदाय अझ विशेषगरी आर्थिक तथा सामाजिक वञ्चितीकरणमा पारिएका महिला, आदिवासी जनजाति तथा अल्पसङ्ख्यक समुदायलाई आर्थिक सशक्तिकरण गरेर विकासको मूलधारमा ल्याउन होमस्टेले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । त्यसैले होमस्टे स्थापना तथा प्रवर्द्धन सङ्घीय, प्रदेश तथा स्थानीय सरकार सबैको चासो र प्राथमिकताको विषय भएको छ ।