अजरबैजानका वातावरणमन्त्रीलाई ‘सगरमाथा संवाद’ मा सहभागी हुन आग्रह


काठमाडौं । जर्मनीको भ्रमणमा रहेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र अजरबैजानका वातावरण मन्त्री मुक्टार बाबायेभबीच द्विपक्षीय भेटवार्ता भएको छ । जर्मनीको बर्लिनमा भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको मन्त्री शाहीको सचिवालयले जनाएको छ ।
भेटमा मन्त्री शाहीले गत वर्ष अजरबैजानको बाकुमा भएको जलवायुसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–२९) को सफल आयोजनाका लागि धन्यवाद व्यक्त गरेका थिए । साथै उनले नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ मा सहभागी हुन औपचारिक निमन्त्रणा समेत गरेका थिए ।
मन्त्री ‘पिटर्सवर्ग जलवायु संवाद’ मा सहभागी हुन यही चैत १० गते त्यसतर्फ प्रस्थान गरेका थिए । विगत १४ वर्षदेखि जर्मन सरकारले जलवायु परिवर्तनमा बहुपक्षीय भूमिका र अन्तरराष्ट्रिय सहकार्यको महत्त्वलाई प्रवर्द्धन गर्न ‘पिटर्सवर्ग जलवायु संवाद’ आयोजना गर्दै आएको छ ।
उक्त संवादमा विशेषगरी जलवायु परिवर्तनको अन्तराष्ट्रिय परिप्रेक्ष्य, जलवायु कूटनीति, सबैको सहकार्यबाट पृथ्वीको बढ्दो तापक्रमलाई कसरी नियन्त्रण गर्ने र जलवायु जोखिममा परेका देशहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
जलवायु वार्ताहरूमा विशेष भूमिका रहेका देशहरूलाई आमन्त्रित गरिने यस संवादको १५ औं संस्करणमा पहिलोपटक नेपाल सरकारका तर्फबाट वनमन्त्री शाही सहभागी भएका हुन् । कार्यक्रममा मन्त्री शाहीसँगै जर्मनीका लागि नेपाली राजदूत शैल रुपाखेती, जलवायुविज्ञ मञ्जित ढकाललगायत सहभागी छन् । मन्त्री शाही यही चैत १५ गते स्वदेश फर्कने छन् ।