गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर


काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्षसहित १२ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। बुधबार विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सडक निर्माणमा अनियमितता गरेको पुष्टि गर्दै उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस १६ गते गाउँपालिकाको वडा नम्बर १ अन्तर्गतको सडक ढलान तथा नाला निर्माणमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको थियो । आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ मा सम्पन्न हुनुपर्ने परियोजनाको गुणस्तर कमजोर रहेको, निर्माण भत्किएको तथा ढलान उप्किएर रड देखिनेसम्मको स्थिति रहेको प्राविधिक प्रतिवेदनबाट प्रमाणित भएको थियो । ८ लाख ३४ हजार रुपियाँभन्दा बढीको अनियमितता पुष्टि भएपछि अदालतले ६ जनालाई कैद र अन्यलाई जरिवाना तथा क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ।
दोषी ठहर भएका गाउँपालिका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्याल, प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, इन्जिनियर नवीन थापा र सब–इन्जिनियर सूर्यप्रसाद पौडेललाई जनही तीन/तीन महिना कैद सजाय सुनाइएको छ।