Ad Image

मापदण्ड नपुगेको ठाउँमा सडक विभागले दियो नमूना पेट्रोल पम्प स्थापनाको सिफारिस

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743068767.jpg

सिराहा । नेपाल आयल निगम लिमिटेडको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली २०७५ को नियम १४ को १ (ग) मा एउटा नमूना पेट्रोल पम्पको बिक्री स्थलबाट अर्को नमूना पेट्रोल पम्पको बिक्री स्थलसम्मको दूरी दश किलोमिटर अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

 

नमूना पेट्रोल पम्पका लागि दूरी नपुग्दा पनि आर्थिक सेटिङ्गमा सडक डिभिजन कार्यालय सिरहाले दूरी पुगेको सिफारिस गरेको छ । नेपाल आयल निगमको बिराटनगरस्थित प्रादेशिक कार्यालय, सडक डिभिजन लहान, नापी कार्यालय लहानसमेतले भगवती ट्रेड सेन्टरले खोल्न लागेको ठाउँमा पम्प खोल्न मापदण्डअनुसार दूरी नपुगे पनि मिलोमतोमा दूरी पुगेको सिफारिस दिएको तथ्य बहिरिएको हो ।

 

सिराहाको नवराजपुर गाउँपालिका १ भगवतिपुर तामासुइया भन्ने ठाउँमा नयाँ पम्प खुल्न लागेको छ । सखुवानन्कारकट्टी गाउँपालिका ३ मा रहेको एसपी आयल स्टोरदेखि भगवती ट्रेड सेन्टरले नयाँ खोल्न लागेको पम्प स्टोरको दूरी नाप्दा ९.६८ किमी रहेको देखिन्छ ।

 

तर नेपाल आयल निगमको बिराटनगरस्थित प्रादेशिक कार्यालय, सडक डिभिजन लहान, नापी कार्यालय लहानले दिएको सिफारिसमा सखुवानन्कारकट्टी गाउँपालिका ३ मा रहेको एसपी आयल स्टोरदेखि नयाँ खोल्न लागिएको पम्प नवराजपुर गाउँपालिका १ भगवतिपुर तामासुइया सम्मको दूरी दश किलोमिटर एक सय मिटर रहेको उल्लेख गरी सिफारिस बनाइदिएका छन् ।

 

पम्पका लागि दूरी मापन गर्दा भरपर्दो साधन प्रयोग गर्नुपर्ने कानुनी प्रावधान छ । तर, ती कार्यालयहरुले भने मोटरसाइकल र कारले नै दूरी नापेका थिए । दूरी नपुगे पनि दूरी पुगेको सिफारिस गरेपछि एसपी आयल स्टोरले ओडो मिटर लिएर दूरी नाप्दा सञ्चालित पम्प र खोल्न लागिएको नयाँ पम्पको दूरी ९.६८ किलोमिटर मात्रै पुगेको छ ।

तर, सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरमा सो पम्पका लागि दूरी नपुग्दा पनि दूरी पुगेको सिफारिस दिइएकोले ‘आर्थिक चलखेल भएको’ आशंका छ ।  सडक डिभिजन लहानका प्रमुख आशुतोष कर्णले पनि कार र मोटरसाइकलले दूरी नापेको स्वीकार गरे । सडक डिभिजन कार्यालयबाट दूरी पुगेको भन्दै फागुन ८ मा दिइएको सिफारिसमा कार्यालयका इन्जिनियर संजिवकुमार दासको हस्ताक्षर छ ।

 

नापी कार्यालय, लहानले पनि मोटरसाइकल लिएर नाप गरेको जनाएको छ । लाजमर्दो कुरा त के छ भने नापी लिन भरपर्दो साधन नै सकारी कार्यालयमा छेन भन्छन् सरकारी कर्मचारी । फागुन १८ मा नाप पुगेको सिफारिस दिने कार्यालयका कर्मचारी इन्द्रनारायण यादव भन्छन्, ‘हामीसँग नाप्ने अन्य श्रोत साधन छैन, त्यसैले मोटरसाइकलले नै नाप्यौं, हामीभन्दा पहिल्यै सडकले सिफारिस दिएको थियो, त्यसलाई पनि आधार मानेर सिफारिस दियौं ।’

 

स्थानीय नागरिक रुपचन्द्र यादव भने नाप्न आएका कर्मचारीहरुले ओडोमिटर नै प्रयोग गरेर नाप लिएको बताउँछन् । उनले भने, ‘दूरी नपुगेपछि मोटरसाइकल र कारले नापेका थिए । मोटरसाइकल र कारले नाप्दा पनि दूरी नपुगेको र तर केही समयपछि दूरी पुगेको भनेर सिफारिस दिइएको सुनेको थिएँ ।’

 

सडक डिभिजन लहान हेर्ने झापाको दमकस्थित संघीय सडक अनुगमन तथा निरीक्षण कार्यालयका प्रमुख विनोद मौवारले दूरी नपुगेको खण्डमा त्यसरी सिफारिस दिन नमिल्ने बताए ।

 

यस विषयमा दूरी नपुग्दा पनि पुगेको सिफारिस दिइएको भन्दै एसपी आयल स्टोरको तर्फबाट फुलोदेवी यादवले फागुन १८ मा नेपाल आयल निगमको आपूर्ति तथा वितरण विभाग, टेकुमा उजुरी पनि दिएका छन् ।

नेपाल आयल निगमको प्रादेशिक कार्यालय, बिराटनगरका प्रमुख पुष्कर कार्कीले उजुरी आइसकेपछि आफूले पनि यस विषयमा थप बुझिरहेको बताए । नेपाल आयल निगमका केन्द्रीय प्रवक्ता मनोज ठाकुरले अहिलेसम्म दूरी पुगेको भन्ने कुरा नै आएको र नपुगेको खण्डमा पम्पलाई बिक्रेता नियुक्त नगरिने बताएका छन् । ‘अहिलेसम्म हामीसँग दूरी पुगेको भन्ने नै छ,’ उनले भने, ‘यदि पुग्दैन भने पम्प हुँदैन ।’


नयाँ खोल्न लागिएको नमूना पम्पका सञ्चालक हुन्, नवराजपुर गाउँपालिका-१ का धनपति दास । उनी नेपाल आयल निगमकै कर्मचारी रहेका चितरञ्जन दासका बुवा हुन् । चितरञ्जनसहित धनपतिका अन्य तीन छोरा पनि सरकारी जागिरे नै छन् ।

 

उनीहरुले दबाब, प्रभाव र आर्थिक चलखेल गरेर पम्प खोलिएको घटनाक्रमले बताउँछ । ‘एउटा छोरा आयल निगममै छन्, अन्य तीन पनि जागिरमै छन्, बुवालाई सञ्चालक राखेर जागिरमा ‘अवैध’ रुपले कमाएको धन पेट्रोल पम्पमा खन्याएर सेतो बनाउन खोज्दैछन्,’ एक स्थानीय भन्छन्, ‘पम्प खोल्न पनि व्यापक आर्थिक चलखेल भएको छ। कार्यालयपिच्छे नै लाखौं खर्च गरिएको छ ।’