Ad Image

भौतिक पूर्वाधारको अभाव झेल्दै पाल्पा अस्पताल

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743141371.jpg

पाल्पा । वि‍‍.सं. १९६९ मा अहिलेको पाल्पा अस्पताल पृथ्वीचन्द्र अस्पतालको नामबाट खुलेको तथ्य पत्ता लागेको छ । तत्कालीन अवस्थामा हैजा नियन्त्रणका लागि खुलेको अस्पताल पाल्पा हेल्थ सेन्टर हुँदै २०४२ साल चैत्र १४ गते पाल्पा अस्पतालको नाममा दरबन्दी कायम भएको हो । त्यहीअनुसार पहिलो पटक पाल्पा अस्पतालले ११३ औँ वार्षिकोत्सव मनाएको छ ।


अस्पताललाई आर्थिक वर्ष २०७७/७८ बाट लुम्बिनी प्रदेश सरकारले ५० शय्याको अस्पतालका रूपमा स्तरोन्नति गरेको छ । तर अहिलेसम्म आवश्यक जनशक्ति र पूर्वाधार नहुँदा सेवा प्रवाहमा समस्या भएको पाल्पा अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले बताए । ‘सीमित जनशक्तिबाट गुणस्तरीय सेवा प्रवाह गर्नु परेको छ,’ उनले भने, ‘दैनिक बिरामीको संख्या बढ्दै गएको छ तर भौतिक पूर्वाधार अभावको समस्या जहाँको तँही छ ।’


स्वास्थ्य बिमा लागु हुनुअघिसम्म दैनिक ४० देखि ५० जना बिरामीको सेवा प्रदान गर्दै आएको थियो । अस्पतालले अहिले दैनिक ४ सयदेखि ५ सय जनाको हाराहारीमा सेवा प्रदान गर्ने गरेको अध्यक्ष आत्रेयले बताए । अस्पतालको हाल ७ रोपनी जग्गा छ । अस्पतालसँगै जोडिएको मोहन कन्या माविको छात्रावास रहेको जग्गा प्राप्तिका लागि केही वर्षयता पहल गर्दै आएको छ । तर अहिलेसम्म सरकारले सहमति पाउन सकेको छैन ।


‘पाल्पा अस्पतालको छेउमै रहेको जग्गा लिने र त्यसको सट्टामा मोहन कन्या अघि रहेको स्वास्थ्य कार्यालयको जग्गा दिने भन्ने हो,’ अध्यक्ष आत्रेयले भने । उनले सरकारले तोकेको मापदण्ड बमोजिम जग्गा व्यवस्थापन गर्न मोहनकन्या माविसँग जग्गा साटफेर गर्ने प्रक्रिया पूरा गर्न सम्बन्धित निकायहरूमा निरन्तर पहल गरिने बताए ।


११३ औँ वार्षिकोत्सवका अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामेश्वर देवकोटाले वर्षौँ पुरानो भवन साथै साँघुरो कक्षाकोठा, विशेषज्ञ चिकित्सकको अभाव, कर्मचारी आवासको समस्या, शल्यक्रिया कक्षसहितको अन्य विशिष्टीकृत सेवाको अभाव रहेको बताए । स्वास्थ्य मन्त्रीको उपस्थितिमा आयोजित कार्यक्रममा उनले अस्पतालबाट उपलब्ध सेवाहरू, सेवाग्राहीको अवस्था, भौतिक पूर्वाधारका विषयमा गुनासा राखे ।


पाल्पा अस्पताल ५० शय्याको अस्पतालको रूपमा स्तरोन्नति गरेकाले ११ औँ तहको कार्यालय प्रमुखसहित १२ जनाको विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर विशेषज्ञ चिकित्सक दरबन्दी अनुसार पदपूर्ति भएको छैन । ६ जना मेडिकल अधिकृतको दरबन्दी रहेको छ । तर अधिकांश मेडिकल अधिकृत छात्रवृत्ति करारका छन् । ६४ जना स्वीकृत दरबन्दी रहेको छ ।


अहिले स्थायी पदपूर्ति २७ जना रहेको छ । दरबन्दी, करार, कार्यक्रम, छात्रवृत्ति तथा समिति करार गरी ८४ जना कर्मचारी कार्यरत रहेका छन् । अस्पतालले अघिल्लो आर्थिक वर्षमा ९८ हजार ७ सय २७ जना र चालु आर्थिक वर्षको माघ महिनासम्ममा ५३ हजार ८ सय ५० बिरामीले सेवा लिएको अस्पतालको तथ्यांकले देखाएको छ ।


वार्षिकोत्सवका अवसरमा स्वास्थ्य मन्त्री खेमबहादुर सारूले आकस्मिक र अप्रेसन कक्ष सञ्चालन गर्ने उद्देश्यले निर्माण गर्न लागिएको भवनको शिलान्यास गरे । भवन लुम्बिनी प्रदेश सरकारको ५० लाख र अस्पताल विकास समितिको २० लाख लगानीमा निर्माण गर्न लागिएको हो । असार १५ गते भित्र सक्ने गरी ५६ लाख २५ हजार एक सय ७३ रुपैयाँमा निर्माण व्यवसायीसँग सम्झौता भएर काम अघि बढेको छ । भवन निर्माणसँगै आगामी दिनमा सेवामा सहजता थपिने विश्वास मन्त्री सारूको छ ।


अस्पतालले गुणस्तरीय सेवा प्रवाह गर्ने वातावरण मिलाउनुपर्ने र उपकरण जडानमा ध्यान दिन उनले आग्रह गरे । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानाले सरकारी कार्यालयहरूले भवन निर्माण गर्दा गुरुयोजना र कार्य योजना बनाएर मात्र बनाउनुपर्ने सुझाव दिए । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले पाल्पा अस्पतालबाट प्रदान गरिने सेवालाई अझ गुणस्तरीय र सेवाग्राहीमैत्री भावना हुनुपर्ने बताए ।


तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले पाल्पा अस्पतालबाट गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । पाल्पाका नौं वटा स्थानीय तहमा आमा सुरक्षा कार्यक्रम चलेको तर तानसेन नगरपालिकामा नचलेको उनले गुनासो गरे । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले ५० शय्याको अस्पतालमा परिणत भए पनि पूर्वाधार अभावले सेवा प्रवाहमा समस्या देखिएको बताए ।


पाल्पा अस्पतालका लागि जग्गा व्यवस्थापन गर्न निरन्तर पहल गरेको उनले बताए । पाल्पा अस्पताल विकास समितिका सदस्य तथा तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले अस्पतालका लागि जग्गा व्यवस्थापनको अन्तिम टुंगो लगाउने प्रक्रियामा रहेको बताए । वार्षिकोत्सवका अवसरमा पाल्पा अस्पतालले निवृत्त कर्मचारीका साथै लामो अवधिदेखि सेवारत कर्मचारीलाई समेत सम्मान गरिएको छ । यस वर्ष उत्कृष्ट कर्मचारी फार्मेसीकी मधु खड्का भइन् ।