Ad Image

सम्पादकीयः असन्तुष्टिमा अराजकता निम्त्याउने असफल प्रयास

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743239438.jpg

तीनकुनेको शुक्रवारको घटना भत्र्सनायोग्य जति छ, त्यति नै गृह प्रशासनको क्षमतमाथि प्रश्न उठेको छ । एकै दिन दुई परस्पर विपरीत विचारधारमा राजनीतिक प्रदर्शनी गर्न दिँदा सत्तामा रहेका राजनीतिक दल र गृह प्रशासनले जति संवेदनशील भएर राजनीतिक कार्यक्रमलाई व्यवस्थित गर्नुपथ्र्यो, अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक त्यसमा चुकेको देखियो ।

 

परस्पर विरोधी विचारधारामा भएका कार्यक्रममा उत्तेजित बनाउने गरी गरिएका भाषण पनि तीनकुनको घटना घटाउन उत्तिकै जिम्मेवार छन् । विचारधारामा विविधता राख्न पाए पनि सत्ताधारी पार्टीहरुले यसलाई सामान्य रुपमा हेर्नु नै गलत भएको सेना परिचालनबाटै पुष्टि हुन्छ । सुरक्षा निकायलाई परिचालन गर्दा आवश्यक उपकरण तथा सुरक्षा रणनीतिक तयार गरी परिचालन गर्न पनि सरकार असफल भएको छ । त्यसको पुष्टि म्याद नाघेका अश्रु ग्यासको प्रयोग, साँझाको समयमा घटनामै सामेल नभएका केही युवाहरुमाथिको धरपक्कडले गर्छ ।

 

राजावादीहरुको शुक्रवारको कार्यक्रम उच्छृङ्खल र अराजक भयो । शान्तिपूर्ण कार्यक्रम गर्न सरकारले ठाउँ नै तोकिदिँदा कार्यक्रम गर्नेहरुले आफ्नो भीडलाई नियन्त्रणमा राख्न नसकेको हो वा नियोजित अराजकता निम्त्याउन खोजेको भन्ने स्पष्ट खुल्न सरकारले निष्पक्ष छानबिन गर्ला । तर आफैँले गरेका कार्यक्रम नियन्त्रणमा राख्न नसक्ने राजावादीहरुले शुक्रबार भएको हत्या, लुटपाट तथा आगजनीको सम्पूर्ण जिम्मा लिन सक्ने कि नसक्ने भन्ने प्रश्न उत्तिकै महत्वपूर्ण छ ।

 

आफूले गर्ने कार्यक्रम संयमित बनाउन नसक्दा राजावादीको पक्षमा प्रदर्शनमा आएका ‘अराजक भीड’ले निजी तथा सरकारी सम्पत्ति ध्वस्त बनाएका छन् । एक प्रदर्शनकारी र एक पत्रकारको ज्यान गएको छ । पत्रकारको विभत्स तरिकाले घरमै आगो लगाएर कोठामा थुनेर हत्या गरिएको छ । थप पाँच जना गम्भीर बिरामी रहेको प्रशासनले जनाएको छ । सञ्चार गृह, औषधि उद्योग, व्यवसायिक भवन, निजी घरमा ठूलो क्षति पुगेको छ ।

 

यो अराजकता निम्त्याउन राजावादी आन्दोलनको जनकमाण्डर तोकिएका दुर्गा प्रसाईँको उत्तिकै हात छ । सुरक्षाका लागि सडकमा खटिएका सुरक्षाकर्मीले घेरा हालेर निषेधित क्षेत्रमा जान नदिँदा उनले प्रहरीको सुरक्षा घेरामा जबरजस्ती गाडी चलाउनु नै अराजकता निम्तयाउन खोज्नु हो । उनले अराजक शैलीमा जसरी गाडी सुरक्षाकर्मीमाथि चलाए, त्यसले सुरक्षाकर्मीलाई पनि उत्तेजित बनाएको देखिन्छ ।

 

प्रहरीले त्यसपछि हानेका अन्धाधुन्धका अश्रु ग्यास, बुट, लाठ्ठीले अराजकता निम्त्याउन थप बल पुगेको देखिन्छ । प्रशासनले योजनावद्ध तरिकाले भीडलाई नियन्त्रणमा लिन नसक्दा भीड अराजक बनेको उपलब्ध भिडियो फुटेजहरुले पनि देखाउँछ । लुटपाट, निजी घर तथा व्यापारिक क्षेत्रहरुमा पसेर गरिएका चोरी, निजी घरमा अश्रु ग्यासको भण्डारण गरी आक्रमण हुनुले अराजक भिडमा विभिन्न नियत भएका व्यक्तिहरु भएको पनि पुष्टि हुन्छ । घटनालाई उत्तेजित बनाउने स्वार्थ समूहको पहिचान सरकारले गर्न नसकेको पनि हुनसक्छ ।

 

अहिलेका मुख्य तीन दलका शीर्ष नेताहरुको सत्तामोहबाट आजित भएका युवाहरुको ‘फ्रस्टेसन’ हात लिन दुर्गा प्रसाईँको कमाण्डमा भएको शुक्रबारको घटनाले राज्यलाई थप सतर्क हुने मौका दिएको छ । राज्यले आवश्यक रणनीति बनाएर अराजक गतिविधि गर्ने जमातलाई कानुनी कार्बाही गर्न ढिला गर्नु हुँदैन । तर कार्बाहीका नाममा प्रहरी प्रशासनले जथाभावी निर्दोशहरुलाई पक्राउ गर्नु पनि हुँदैन । कार्बाहीका नाममा प्रहरीले शुक्रबार साँझ पक्राउ गरेका कतिपय निर्दोश युवाहरुलाई बल प्रयोग गरेर तर्साए । त्यसले अर्को मोड लिन पनि सक्छ । यसमा प्रहरी सचेत हुन जरुरी छ ।

 

नेपालमा युवाहरुमा भएको ‘फ्रस्टेसन’ नै बेरोजगारी र गरिबी हो । केही सीमित नेताहरु  छैटौं, सातौं पटक पनि राज्यको उच्च पद च्यापेर बसिरहने, दलीयकरण गरेर जताततै अव्यवस्था सिर्जना गर्ने कामलाई रोक्न संविधानमा आवश्यक संशोधन पनि गर्न जरुरी छ । त्यसमा सरकारको ध्यान नगए कालान्तरसम्म नेपालमा अराजकता नरोकिने बरु बढ्ने देखिन्छ ।

 

केही वर्षअघिसम्म देखिएको गाडी जलाउने, सडक बन्द गर्ने, टायर बाल्नेजस्ता राजनीतिक दलका अराजक गतिविधि नयाँ युवाहरुको अभियानसँगै हराउँदै जाँदा फेरि राजावादीहरुले त्यस्तै अवस्था निम्त्याउन खोजेको शुक्रबारको घटनाले देखाउँछ । अहिले पनि केही राजावादीहरुले युवाहरुमा भएको असन्तुष्टिलाई प्रयोग गरेर अराजकता निम्त्याउन खोजेको प्रष्ट देखिन्छ, जुन असफल भएको छ । यसको अन्त्यका लागि राजनीतिक दलहरुले निश्चित अवधिका लागि मात्रै कार्यकारी पदमा बस्न मिल्ने गरी संविधान संशोधन गर्न आवश्यक छ । योजना, क्षमता, सीप र शिक्षाका आधारमा निश्चित अवधिका लागि मात्रै देशको नीति नियम बनाउने र कार्यान्वयन गर्ने पदमा प्रतिस्पर्धा गर्ने प्रणालीको विकास गर्न आवश्यक छ ।