Ad Image

तराई–मधेस जागरण अभियानले जनतामा नयाँ आशाको सञ्चार गरेको छः अध्यक्ष प्रचण्ड

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741353518.jpg

सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई–मधेस जागरण अभियानले जनतामा नयाँ आशाको सञ्चार गरेको बताएका छन् । सर्लाहीको मलंगवामा आज  ‘हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’अन्तर्गत एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समन्वय समितिले आयोजना गरिएको कार्यक्रममा उनले झापाबाट सर्लाहीसम्म आइपुग्दा बुद्धिजीवी, किसान, मजदुर, मधेसी, दलित, आदिवासीलगायत सम्पूर्ण जनतामा नयाँ आशाको सञ्चार छाएको महसुस गरेको बताए ।

 

अध्यक्ष दाहालले अहिले विद्यमान रहेका भ्रष्टाचारलगायत बेथिति अन्त्यका लागि सबै तह र तप्काका जनता एकजुट भएर सरोकार भएका निकाय र प्रतिनिधिलाई खबरदारी गर्नुपर्नेमा जोड दिए । उनले मुलुकको सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणमा शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउँदै शिक्षासम्बन्धी विधेयकबारे सम्बन्धित समितिमा छफलफल भइरहेको जानकारी दिए ।

 

अध्यक्ष दाहालले उक्त विधेयकमा एक हजार सात सय संशोधन परेको बताउँदै जटिलताका बाबजुद पनि निरन्तर छलफल भइरहेकाले सबैको हितलाई मध्यनजर गर्दै सहमतिका आधारमा विधेयक आउने धारणा राखे । माओवादी केन्द्रले अभियान सुरु गरेपछि राज्यको सम्पूर्ण ध्यान अहिले मधेसतिर केन्द्रित भएको उनको दाबी छ । 

मधेसको दक्षिणी भागमा रहेका गरिब, दलित, मजदुर, किसानका हकअधिकार प्रदान गर्न पहल गर्ने, यहाँको आर्थिक, पर्यटन र कृषि क्षेत्रको विकास गर्ने तथा सीमा क्षेत्रको अवस्था अध्ययन गरेर राष्ट्रिय रूपमा स्थापित गर्ने उद्देश्यले हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गरिएको अध्यक्ष दाहालले बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले रोकिएर रहेको पूर्व–पश्चिम हुलाकी सडक आफू प्रधानमन्त्री हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरेर निर्माण अघि बढाएको दाबी गरे।

 

माओवादी केन्द्रका अध्यक्ष दाहालले आज जिल्लाका एक दर्जन बढी स्थानमा पार्टीका नेता, कार्यकर्तालाई सम्बोधन गरेका थिए । उक्त अभियान अन्तर्गत यहाँ आयोजित कार्यक्रम सकेर आजै अध्यक्ष दाहालसहित पार्टीका शीर्षनेता रौतहट प्रस्थान गर्ने कार्यतालिका रहेको पार्टीका जिल्ला इन्चार्ज अच्युतम काफ्लेले जानकारी दिए ।