Ad Image

नियामक निकायलाई प्रलोभनमा पारी मिल संचालन, प्रदूषणले स्थानीयलाई सास्ती

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741434051.jpg

सिराहा । नियामक निकायको फितलो निगरानी तथा अनुगमनका कारण राईस मिलको धुवाँ धुलोले स्थानीयहरु आजित भएका छन्। सिराहाको गोलबजार ४ स्थितको माँ धमिनी एग्रो राईस मिलको प्रदूषणले स्थानीहरुलाई नराम्राे असर पारेको छ।

 

धमिनी लघु उद्योग (चामल मिल)बाट निस्केको धुवाँ, धुलो र कालो खरानीका कारण खाना पकाउन समेत समस्या भइरहेको स्थानीय बासीहरु बताउँछन्। उद्योगबाट निस्कने कालो धुवाँ र कणहरु भान्सा, ओछ्यान, खाना, लत्ताकपडादेखि घरभरी दैनिक रुपमा फैलिने गरेको उनीहरुको गुनासो छ।

 

यसरी मिलबाट निस्किने धुवाँ र धुलो नियन्त्रणको लागि पछिल्लो एक दशकदेखि उद्योगका सञ्चालक स्थानीय महेश साह (कोकवा) र सम्बन्धित निकायलाई जानकारी गराएपनि यो समस्याको  ठोस निकास निकाल्न नसकेको स्थानीय सुमेशकुमार साह बताउँछन्।

 

उनी भन्छन्, ‘हामी स्थानीयहरुले पटक–पटक नगरपालिका, स्थानीय प्रहरी प्रशासनलगायत सरोकारवाला निकायलाई जानकारी गराउँदा पनि वास्ता गरेनन्। राइस मिलबाट निस्केको कालो कणहरु र धुवाँ, धुलोका कारण म लगायत घरको बच्चाहरुलाई समेत आँखामा समेत समस्या भएर हजारौं रुपैयाँ खर्च गर्नुपरेको छ। हामी स्थानीयहरुले गुनासाे गर्न कुनै निकाय बाँकी राखेका छैनौं। नियमनकारी निकायले चाँडै नै हाम्रो समस्या समाधान गरौस्।'

 

यस्तै अवस्था रहिरहे बाध्य भएर मिलमै ताला लगाउने तयारीमा रहेको स्थानीय अताबुल रहमानले जानकारी गराए। उनले भने, ‘हामीले जानेको, चिनेको सबै निकायलाई हाम्रो दुःख सुनायौं, नियन्त्रण गर्न/गराईदिन अनुरोध गर्यौं। कसैबाट कुनै ठोस पहल भएन। यस्तै अवस्था रहिरहे हामी मिलको गटमै ताला लाउने छौं।’

 

‘चामल मिलमा बाल्ने भुसको कालो मसिनो धुलो र कालो धुवाँले हामीलाई घरमै बसी नसक्ने अवस्था बनायो। छतमा सुकाएको लुगामा कालो धुलो टाँसिने, खानामा पर्ने, ओछ्यानमा कालो धुलो टाँसिएर दिनहुँ फोहर हुने गरेको छ', स्थानीय सोभित कुमार साहले भने, ‘यतिमात्र हैन बारीमा लगाएको साग सब्जीमासमेत कालो धुलो टाँसिएर हेरी नसक्नुको भएको छ। नियन्त्रणको लागि मिलका सञ्चालक महेश साहलाई पटक पटक अनुरोध गर्यौं, विभिन्न बहाना बनाएर टार्दै आएको छ।’ 

 

धुलोका कारण बस्न नसक्ने भएपछि घर, जग्गा जमिन नै बेच्नुपर्ने अवस्थामा पुगेको स्थानीयहरु बताउँछन्। धुलो र धुवाँले बस्न नै नसकीने अवस्था आएपछि मिल नजिकै घर भएका मो. इम्तियाज खान घर बेचेर ठाउँ सरेको उनका छिमेकी मो. जाहिर खानले बताए। उनले भने, ‘छत वडाहार्नु पर्छ, बरण्डा, भरभित्र खरानी पसेर बस्न नसक्ने अवस्था हुन्छ। दिनहुँ घर, बरन्डा पानीले पखाल्नु पर्छ। हामीलाई यहाँ बस्न गाह्रो भईसकेको छ।’ 

 

मिल संचालक महेश साह (कोकवा) लाई 'तपाईँको मिलबाट निस्केको कालो कणका कारण स्थानीयहरुलाई स्वास्थ्यमा समेत आसर पर्ने गरेको छ। तपाईले प्रदुषण नियन्त्रण गर्न के कती प्रकृयाहरु अपनाउनु भएको छ ?' भनी जिज्ञासा राख्दा उनले भने, ‘यो क्षेत्रमा पहिले घर थिएन्। त्यसैले त्यतिकै पनि चलिरहेको थियो। मिलबाट निस्केको धुलोले वास्तवमा स्थानीयहरुलाई समस्या पारेको छ। मैले धुलो व्यवस्थित गर्न आवश्यक प्रकृया अगाडि बढाई सकेको छु।’

 

गोलबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सरोज कर्णले लामो समयसम्म कालो धुवाँको सम्पर्कमा रहँदा मानिसमात्र हैन, पशुमा पनि कुप्रभाव पर्ने बताए। धुलो धुवाँका कारण स्वासप्रस्वास सम्बन्धी विभिन्न रोग लाग्नुको साथै, आँखा र छालामा पनि समस्या आउने उनले बताए। स्वास्थ्य प्रमुख कर्णले थपे, 'लामो समयसम्म यसको सम्पर्कमा रह्योभने क्यान्सर सम्म हुन सक्छ।' 

 

सन्तोष, सोभित, सुमेश, जाहिरमात्र हैन, यहाँका करिब दुई सयभन्दा बढी घरपरीवारले यही समस्या झेलिरहेका छन्। राईस मिल संचालक महेश साहले नियामक निकायलाई आर्थिक प्रभाव र राजनीतिक दवावमा राखेर निर्वाध रुपमा २४ सौ घण्टा मिल चलाउने गरेको स्थानीयहरु बताउँछन्।

 

धुलाेले पारेको समस्या
धुलाेले पारेको समस्या
धुलाेले पारेको समस्या
धुलाेले पारेको समस्या
धुलाेले पारेको समस्या
धुलाेले पारेको समस्या