Ad Image

विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741495171.jpg

रुपन्देही। बुद्धजन्मस्थल लुम्बिनीमा शनिवार बेलुका ७ हजार दीप प्रज्वलन गरिएको छ । चौथौँ त्रिपिटक पाठ समारोहको समापन लगत्तै बेलुका केन्द्रीय नहरको मध्य भागमा अवस्थित लुम्बिनी स्क्वायरमा ७ हजार दीप प्रज्वलन गरिएको हो ।

 

धम्मकाय फाउण्डेशनले भिक्षु भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका ५ सय जना अल्पकालीन भिक्षुहरूको सहभागितामा शान्ति र साहर्दताका लागि दीप प्रज्वलन गरिएको हो । नेपालको झन्डा केन्द्र भाग मानी धम्मचक्रको आकार आउने गरी गरिएको दीप प्रज्वलनको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मशोभन महास्थवीरले शुभारम्भ गरे ।

 

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गर्नु आफैमा महत्त्वपूर्ण भएको बताए । उनले बुद्धका उपदेशहरूलाई यस्तै आध्यात्मिक कार्यक्रमहरूबाट विश्वभर फैलाउनुपर्नेमा जोड दिए ।

 

यस्तै कार्यक्रममा थाईधम्मकायका सल्लाहकार डा। अदिसकले बुद्धको शिक्षाले विश्वबन्धुत्व र एकतालाई जोड दिएको बताउँदै दीपले आन्तरिक र बाह्य ज्ञानलाई प्रतिबिम्बन गरेको बताए ।

 

यसैगरी कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका सल्लाहकार रोशनी गिरी, अखिल नेपाल भिक्षु महासंघका सचिव भिक्षु निग्रोध महास्थविर, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा। सुवर्णलाल बज्राचार्यले बोल्दै दीपको प्रकाशजस्तै बुद्धको उपदेशले पनि अँध्यारो चिर्दै जाने बताए । गत वर्ष पनि सोही स्थानमा दीप प्रज्वलन गरिएको थियो ।

 

लुम्बिनीमा सञ्चालित चार दिने चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ सकिएको छ । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ गरिएको हो ।

 

त्रिपिटक पाठको शनिवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समापन गरे । समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका उपदेशलाई विश्वभर फैलाउन आग्रह गरे । उनले बुद्धको शिक्षा र उपदेशलाई आत्मसात गरी शान्ति, करुणा र सहअस्तित्वको भावना फैलाउन सकिने बताए । उनले बुद्ध शिक्षाले विश्वलाई शान्ति र सहिष्णुताको मार्गमा अघि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

 

मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई विश्वभर चिनाउन लुम्बिनीमा धार्मिक तथा सांस्कृतिक गतिविधिहरू बढाउँदै लैजानुपर्ने बताए । उनले बुद्धजन्मस्थल लुम्बिनीमा भएको त्रिपिटक पाठले लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्ने बताए ।

 

यस्तै कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाले लुम्बिनी बुद्धजन्मस्थल भएकाले विश्वभरका बौद्धमार्गीहरुको आस्थाको केन्द्र भएकाले यहाँ आउँदा बुद्धलाई साक्षात् भेटेजस्तो हुने बताए । उनले बुद्धका महत्त्वपूर्ण चार स्थानमध्ये जन्मस्थाल लुम्बिनी सबैभन्दा महत्त्वपूर्ण रहेकोले संसारभरका शान्तिप्रेमीहरूलाई एक पटक लुम्बिनी भ्रमण गर्न आग्रह गरे ।

 

उपाध्यक्ष लामाले बौद्ध भिक्षु तथा लामाहरुले बुद्धको शिक्षालाई बचाइराख्न जीवन अर्पण गरेको स्मरण गर्दै राज्यलाई सम्मान गर्न आग्रह गरे । उनले नेपाल सरकारले भगवान् बुद्धको उपदेश फैलाउन र लुम्बिनीमा आध्यात्मिक गतिविधि बढाउन भूमिका नखेलेको गुनासो गरे ।

 

उपाध्यक्ष लामाले बुद्धको उपदेशलाई त्रिपिटक पाठले विश्वभर फैलाउन महत्त्वपूर्ण योगदान गरेको बताउँदै आगामी वर्ष अझ यसलाई ठूलो संख्यामा गर्नुपर्नेमा जोड दिए ।

 

कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरले भगवान् बुद्धको उपदेशहरू वैज्ञानिक र समयसापेक्ष रहेको बताए । उनले त्यही बुद्धका उपदेशहरूलाई चारदिनसम्म बुद्धजन्मस्थलमा पाठ गर्दा त्यसबाट सकरात्मक उर्जा पैदा गरेको बताए ।

 

यस्तै लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले त्रिपिटक पाठले लुम्बिनीको पर्यटन प्रवर्द्धनसँगै बुद्धशिक्षालाई अन्तर्राष्ट्रियकरण गराउन महत्त्वपूर्ण योगदान दिएको बताए । गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको त्रिपिटकमा संग्रहित गरिएको छ ।

 

त्रिपिटक पाठ समारोहमा भिक्षु भिक्षुणी, लामा, आनी, उपासक उपासिका सहित ४ सय बढीको सहभागिता रहेको थियो । त्रिपिटक पाठ समारोहको बुधवार उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका थिए ।