Ad Image

शिक्षक महासंघले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

User Image मेयरसाप डेस्क | ३ महिना अगाडि
Image of storage/news/1741625991.jpg

काठमाडौं ।  नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मण किशोर सुवेदीले पहिलो चरणको आन्दोलनका माग सुनुवाइ नभएकाले दोस्रो चरणको आन्दोलन गर्नुपरेको बताए । महासंघले यही फागुन २४ गते पहिलो चरणको आन्दोलन गरेको थियो । विद्यालय शिक्षा विधेयक छिटो अगाडि नबढेकामा महासंघको आपत्ति छ ।
 
महासंघका अध्यक्ष सुवेदीले स्थायी, राहत, साविक उच्च मावि, अस्थायी, करार, बालविकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार, निजी तथा संस्थागत विद्यालयका शिक्षकलगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीको मुख्य मुद्दा शिक्षा ऐनबाट सम्बोधन हुनुपर्ने र विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारीमैत्री ऐन ल्याउने विषयमा आफूहरूको गम्भीर चासो रहेको बताए । 

 

उनका अनुसार दोस्रो चरणको आन्दोलनअन्तर्गत प्रमुख राजनीतिक दलका कार्यालयमा प्रतिनिधिमूलक धर्ना कार्यक्रम राखिएको छ । जसअनुसार फागुन २७ देखि चैत ५ गतेसम्म नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीलगायत प्रमुख राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिइने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताए । आन्दोलनकै क्रममा हरेक जिल्ला आन्दोलन परिचालन समितिले आफ्नो जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसदसँग भेट गरी विद्यालय शिक्षा ऐन जारी गर्न दबाब सिर्जना गर्ने उनले बताए । 

 

यस्तै अध्यक्ष सुवेदीले चैत ५ गतेसम्म माग पूरा नभए चैत ७ गतेदेखि चैत १५ गतेसम्म काठमाडौँमा रिले अनसन र चैत २० गतेबाट अनिश्चितकालीन सडक आन्दोलनका कार्यक्रम अगाडि बढाइने बताए ।