नेपालमा हिन्दुराजा खोज्ने भारतीयहरुलाई शंकर पोखरेलको कटाक्ष : भारतमै ल्याए भयो नि !


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतले नेपालमा हिन्दु राजा नभएको भनेर चिन्ता प्रकट गर्नुभन्दा भारतमा नै हिन्दु राजा र महाराजाहरूलाई पुनःस्थापित गर्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले नेपालमा हिन्दु राजाको आवश्यकताको चर्चा गरिरहेका भारतीय नेता, धर्म गुरु र प्रशासकहरूलाई कटाक्ष गर्दै भारतमै हिन्दु धर्मावलम्बी राजा र महाराजाहरूलाई पुनःस्थापित गर्दा हुने सुझाव दिएका हुन् । यद्यपि महासचिव पोखरेलले भारतको संविधानले त्यसो गर्न नदिने समेत बताउँदै नेपालको हकमा पनि उस्तै भएको जवाफ दिएका छन् ।
उनले भनेका छन्–
धार्मिक राज्य र हिन्दु राजाको सन्दर्भ
व्रिटिसहरुले भारतमा उपनिवेश चलाइरहँदा ५५० भन्दा वढि रियासतहरुलाई आफ्नो अधीनमा राखेका थिए । तिनिहरुमा अधिकांशमा राजा, नवाव र महाराजाहरू थिए । त्यसमध्ये अधिकांश हिन्दु थिए । जसलाई विष्णुको अवतारका रुपमा मान्ने संस्कृति पनि थियो । सरदार वल्लवभाई पटेलले भारतीय स्वतन्त्रता पछि ती रियासतहरुलाई अन्त्य गरेका थिए ।
कतिपयले अधीनस्थता अस्विकार गरेपछि वलप्रयोगवाट भारतमा विलय गरिएको थियो । अहिले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकहरु नेपालमा हिन्दुराजाको आवश्यकताको चर्चा गरिरहेका छन् । विश्वमा विभिन्न धर्म मान्ने धार्मिक राज्यहरू अस्तित्वमा रहेको बताउँदै हिन्दुहरुको राजा नभएको भनेर चिन्ता प्रकट गरिरहेका छन् । नेपालको पूर्व राजालाई त्यो सम्मान दिनु उचित हुने बताईरहेका छन् ।
उनीहरुको चिन्ता उनीहरुले भन्ने गरे जस्तै हो भने भारतमा नै ती हिन्दु धर्मावलम्बी राजा र महाराजाहरूलाई पुनःस्थापित गर्दा भयो नि । तर त्यो सम्भव छैन । किनकी भारतीय संविधानले त्यसो गर्न दिँदैन । नेपालको हकमा पनि त्यस्तै त हो नि । हैन र ?