नेपालगञ्जमा तीन वर्षमा मध्यम स्तरका डेढ सय होटल बन्द


बाँके । व्यापारिक चहलपहल घट्दै गएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विगत तीन वर्षको अवधिमा मध्य स्तरका डेढ सय होटल बन्द भएका छन् । कोभिड–१९ महामारी अन्त्यपछि तङ्ग्रिने आशामा रहेका मध्य स्तरका डेढ सय होटल सञ्चालन गर्न नसकेर बन्द गरिएका हुन् ।
यहाँका तारेस्तरका होटल पनि राम्रोसँग सञ्चालन हुन सकेका छैनन् । “नेपालगञ्ज पश्चिम नेपालको तीन प्रदेशको केन्द्र हो । कुनै बेला होटल क्षेत्रमा उत्साहित भएर लगानी गरेका साथीभाइहरु अहिले समस्यामा पर्नुभएको छ”, होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेश समितिका प्रथम उपाध्यक्ष कँडेलले भने, “पछिल्लो तीन वर्षमा मात्रै डेढ सय होटल बन्द भए, ती सबै व्यवसायीहरु कोही विदेश गए, कोही गाउँ फर्किएका छन् ।”
होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काले कोभिड–१९ महामारीपछिको आर्थिक शिथिलताले नेपालगञ्जमा होटल व्यवसायी सङ्कटमा पर्दै गएको बताए । “महिनामा मुस्किलले एक–दुई दिन मात्रै भरिभराउ हुन्छ, अरू दिन खाली नै हुने अवस्था छ”, अध्यक्ष खड्काले भने, “यसले घरभाडा, ऋण, ब्याज र कर्मचारीको खर्च थेग्न सक्ने अवस्था नभएपछि बन्द गर्नुपर्ने बाध्यता आएको छ ।”
नेपालगञ्जमा न्यूनतम दुई लाखदेखि दुई करोडसम्म लगानी भएका ठूलो सङ्ख्यामा मध्यमस्तरका होटल सञ्चालनमा छन् । मध्यमस्तरका होटल बन्द हुँदा सयौँ नागरिकको रोजगारी गुमेको अध्यक्ष खड्काको भनाइ छ ।