डिजिटल माध्यमबाट हुने वित्तीय ठगीबारे सतर्क रहन राष्ट्र बैंकको आग्रह


काठमाडौँ । सामाजिक सञ्जाल, मोबाइल एप र अनलाइनमार्फत हुने वित्तीय ठगीका घटना बढिरहेका बेला नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई डिजिटल माध्यमबाट हुने आपराधिक क्रियाकलापप्रति सतर्क रहन आग्रह गरेको छ । 'सस्तोमा मोबाइल दिन्छौँ, चिट्ठा पर्यो, रकम डबल हुन्छ, क्रिप्टो वा फरेक्स किन्नुस्’ भन्ने जस्ता प्रलोभन नपत्याउन राष्ट्र बैंक आग्रह गरेको हो ।
‘यस्ता म्यासेज आयो र त्यसलाई पत्याएर उसले भनेजस्तै आफ्ना गोप्य विवरण तथा नागरिकताजस्ता निजी कागजात दिनु भयो भने सम्पत्ति कमाउने त होइन, आफूसँग भएको पनि गुमाउन सक्नुहुनेछ,’ राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनाका लागि जारी गरेको सन्देशमा भनिएको छ । बैंकले यस्ता सन्देशहरू प्राप्त भएमा सधैँ सतर्क रहन र सोचविचार गरेर मात्रै निर्णय लिन सुझाव दिएको छ ।
‘सित्तैमा केही पनि नपाइने र यस्ता सन्देशहरूको पछाडि सधैँ कुनै न कुनै दाउपेच लुकेको हुनेतर्फ ध्यान दिऔँ,’ राष्ट्र बैंकको आग्रह छ । बैंकको फाइनान्सियल इन्टेलिजेन्स युनिटले हालै जारी गरेको वार्षिक प्रतिवेदनअनुसार नेपालमा डिजिटल कारोबारको संख्या गत वर्षको तुलनामा ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । तर, यससँगै शंकास्पद गतिविधिहरू पनि तीव्र रूपमा बढेका छन् ।
आर्थिक वर्ष २०२०/२१ मा १ हजार ९० वटा शंकास्पद र सन्देहास्पद कारोबारसम्बन्धी उजुरी (एसटीआररएसएआर) दर्ता भएकोमा त्यसको पाँच वर्षपछि आव २०२३/२४ मा यो संख्या बढेर ७ हजार ३ सय ३८ पुगेको प्रतिवेदनमा उल्लेख छ । ‘सन २०२४ को मे ३१ सम्ममा प्राप्त शंकास्पद र सन्देहास्पद कारोबारसम्बन्धी उजुरीमध्ये साइबर इनेबल्ड फ्रडसम्बन्धी घटना ६३ प्रतिशतभन्दा बढी थिए,’ प्रतिवेदनमा भनिएको छ ।
पछिल्लो समय क्रिप्टोकरेन्सी कारोबारसँग जोडिएका शंकास्पद गतिविधिहरू पनि बढ्दै गएका छन् । भर्चुअल सम्पत्ति, क्रिप्टो कारोबार र व्यापारमा आधारित रकम शुद्धीकरणजस्ता नयाँ जोखिमहरू नियन्त्रण गर्न आवश्यक रहेको राष्ट्र बैंकको ठहर छ । ‘डिजिटल कारोबारको तीव्र विस्तारले गलत प्रयोगको सम्भावना बढाएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यसका लागि वित्तीय संस्थाहरूले थप कडा निगरानी र कानुन पालनाका आवश्यक छ ।’