विश्वका ठूला देशहरुमा पनि छैन काठमाडौंको जस्तो वायु प्रदूषण, सुधार्न के गर्ने ?


ललितपुर । काठमाडौंबासीले वायु प्रदूषणको चर्को समस्या भोग्नु परेको छ । वायु प्रदूषणका कारण आँखा पोल्ने, टाउको दुख्ने, घाउ एलर्जी शारिरीक तथा मानसिक समस्या बढ्दै जाने विज्ञहरुले औंल्याएका छन् ।
पछिल्लो एक साता काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरमा वायुमा प्रदूषण उच्च बिन्दुमा पुगेर घट्नेक्रममा छ । वातावरण विभाग उप–महानिर्देशक शैलेशकुमार झाका अनुसार काठमाडौंमा यो साता वायु प्रदूषण अस्वस्थकरभन्दा धेरै माथिको तहमा पुगेको छ ।
वातावरण विभागले वायु प्रदुषण नियन्त्रणमा के गरिरहेको छ भन्ने प्रश्नमा झाले भने, ‘सम्बन्धित निकायहरु बेलाएर बैठक बसेका छौं । यसमा ध्यानपूर्वक लागेका छौँ, प्राकृतिक कारण लामो समयदेखि पानी परेको छैन । हावा पनि राम्रोसँग चल्न सकेको छैन । त्यही भएर वातावरण प्रदूषण बढेको हो ।’’

तस्बिरः राहुल ढकाल / मेयरसाप डटकम
झाले अहिले सवारी साधनको धुवाँ, निर्माण कार्यको धुलो–धुवाँ, वन डढेलोको धुवाँ लगायतका कारणले गर्दा प्रदूषण बढेको बताए । झाले अर्को हप्तासम्म पानी परेमा प्रदूषण नियन्त्रणमा आउने जिकिर गरे ।
उप–महानिहर्देशक झाले अहिलेको अवस्थामा पूर्व सावधानी अपनाएर मात्रै हिँड्न अनुरोध गरे । विशेष गरी आवश्यकताबाहेक घर बाहिर ननिस्कन, हिँड्दा मास्कको प्रयोग गर्न र जेष्ठ नागरिक, गर्भवती महिला बालबालिका, मुटु रोगी, श्वासप्रश्वासका बिरामीको ख्याल राख्न झाले अनुरोध गरे ।
प्लाष्टिकजन्य ठोस बस्तु नजलाउन, सवारी साधनको नियमित मर्मत सम्भार गर्न, वनजंगलमा जथाभावी आगो नलगाउन झाले अपिल गरेका छन् ।

तस्बिरः राहुल ढकाल / मेयरसाप डटकम
विश्व स्वस्थ्य सङ्गठनको मापदण्ड अनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० राम्रो मानिन्छ । त्यसै गरी ५० देखि १०० सामान्य मानिन्छ । १०० देखि १५० सम्भावित अस्वस्थ्यकर मानिन्छ । १५० देखि २०० अस्वस्थ्यकर मानिन्छ । २०० देखि ३०० धेरै अस्वस्थ्यकर मानिन्छ । सूचकाङ्कमा ३०० देखि ५०० देखिएमा मानव स्वस्थ्यका लागि खतरानाक मानिन्छ ।
हावाको प्रदूषण पिएम (पार्टिकुलेट म्याटर–‘हावामा भएका धुलो, धुवाँ आदीका कण’)का आधारमा नापिन्छ । पिएमको मात्रा जति धेरै भयो, प्रदूषण पनि त्यति नै धेरै हुन्छ । वायुमण्डलमा कणहरु र तरल थोपाहरुको मिश्रण हुन्छ । हावामा रहेका कणहरु यति साना हुन्छ कि तिनीहरुलाई माइक्रोस्कोप प्रयोग गरेर मात्र पत्ता लगाउन सकिन्छ । हावामा दुई प्रकारका पिएम पाइन्छ । एक पिएम–२.५ र अर्को पिएम १० ।
पिएम २.५ भन्नाले वायुमण्डलीय कणलाई बुझाउँछ जसको व्यास २.५ माइक्रोमिटर भन्दा कम हुन्छ, जुन सामान्य मानव रौंको व्यास भन्दा सानो हुन्छ । यो लगभग ५० माइक्रोन बराबर हुन्छ । माइक्रोन भन्दा साना व्यास भएका धुलोका कणलाई पिएम २.५ मानिन्छ । यस श्रेणीका कणहरु यति सुक्ष्म हुन्छन् कि तिनीहरु माइक्रोस्कोपको मद्दतले मात्र पत्ता लगाउन सकिन्छ ।
पिएम–१०, ती कणहरु हुन जसको व्यास १० माइक्रोन भन्दा सानो हुन्छ । र तिनीहरुलाई सुक्ष्म कण पनि भनिन्छ । पिएम १० लगायतका मसिना धुलोका कणहरु नै सबैभन्दा खतरानाक वायु प्रदूषक हुन् । सवारी साधनहरुबाट निस्कने धुवाँमा यस्ता मसिनो धुलोका कणहरु प्रशस्त मात्रामा हुन्छन् । यसको वरिपरी पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्वन जस्ता विषालु रासायनिक पदार्थ र गहै धातुका कणहरु टाँसिएको हुन्छ ।
पिएम १० र पिएम २.५ का कणहरु ज्यादै मसिनो भएकाले यिनीहरुलाई नाकको रौंले पनि रोक्न सक्दैन । यो नाकभित्रबाट श्वासनली हुँदै शरीर भित्र प्रवेश गर्छ । ती कणहरु शरीर भित्र गएपछि फोक्सो भित्र जान्छ । र फोक्सोबाट रक्तसञ्चार प्रणाली मार्पmत शरीरको हरेक अङ्गमा पुग्न सक्छ । र, ती कणहरुले शरीरको हरेक अङ्गहरुलाई नोक्सन पुर्याउन सक्छ । यसले फोक्सोमा क्यान्सर तथा मष्तिस्क घात समेत गराउँछ । र गर्भवती महिला छ भने शिशुलाई समेत असर गराउँछ ।

तस्बिरः राहुल ढकाल / मेयरसाप डटकम
रियल टाइम एयर क्वालिटी इन्टेक्स तथ्थाङ्कका अनुसार, नेपालका सबै भन्दा प्रदूषित सहरहरु मध्ये पहिलो स्थानमा काठमाडौं रहेको छ । काठमाडौंको रत्नपार्कको एयर क्वालिटी इन्टेक्स (एक्यूआई) १६४ रहेको छ । त्यस्तै ललितपुर दोस्रो प्रदूषित सहर बनेको छ, । ललितपुरको खुमलटारको एक्यूआइ आज १५२ रहेको छ । तेस्रो प्रदूषित सहर भक्तपुर हो जसको एक्यूआइ १२३ रहेको छ ।
नेपालको कम प्रदूषित सहरहरु मध्ये पहिलो स्थानमा नेपालगञ्ज रहेको छ । रियल टाइम एयर क्वालिटी इन्टेक्सका तथ्यांङक अनुसार नेपालगञ्जको एक्यूआइ आज ४३ रहेको छ । दोस्रो स्थानमा बिराटनगर रहेको छ । जसकोे एक्यूआइ ६९ रहेको छ । तेस्रो कम प्रदूषित सहर धनगढी रहेको छ । धनगढीको एक्यूआइ आज ८५ रहेको छ ।
विश्वका अरु प्रदूषित भनिएका देशहरु मध्ये रसिया पहिलो स्थान रहेको छ । रियल टाइम एयर क्वालिटी इन्टेक्स तथ्यांङ्कका अनुसार रसियाको एक्यूआइ ३९३ रहेको छ । दोस्रो स्थानमा पाकस्तान छ । पाकस्तानको इस्लामाबादको एक्यूआइ २७९ रहेको छ । र, तेस्रो स्थानमा छ, थाइल्यान्ड । जहाँको एक्यूआइ २०६ रहेको छ ।
वल्ड वाइड एयर क्वालिटी इन्टेक्स तथ्याङ्कका अनुसार विश्वका अरु कम प्रदूषित सहरहरु मध्ये फिनल्यान्ड, डेनमाक, ब्राजिल, अष्ट्रेलिया तथा पश्चिमी यूरोपियन देशहरु रहेका छन्, जसकोे एक्यूआइ ५० भन्दा कम रहेको छ ।