Ad Image

युनिसेफ भन्छ, ‘कङ्गोमा बालबालिकामाथि यौन हिंसा डरलाग्दो रूपमा बढ्यो’

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744453065.jpg

एजेन्सी । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा द्वन्द्वका कारण बालबालिकामाथि यौन हिंसाका घटनाहरू डरलाग्दो रूपमा बढिरहेको जनाएको छ ।

 

सन् २०२५ को जनवरी र फेब्रुअरी महिनामा भएको तीव्र द्वन्द्वको समयमा, औसतमा हरेक ३० मिनेटमा एक बालबालिका यौन हिंसाको शिकार भएको रिपोर्ट गरिएको युनिसेफले जनाएको छ ।

 

उक्त अवधिमा झण्डै १० हजार यौन हिंसासम्बन्धी घटनाहरू सङ्कलन गरिएका छन्, जसमा ३५ देखि ४५ प्रतिशत पीडितहरू बालबालिका रहेको युनिसेफका प्रवक्ता जेम्स एल्डरले जानकारी दिए ।

 

एल्डरले भने,“हामी छुट्टाछुट्टै घटनाको कुरा गरिरहेका छैनौं । यो त गम्भीर मानवअधिकार सङ्कट हो । कतिपय पीडितहरू निकै साना बालबालिका हुन् । यौन हिंसालाई युद्धको हतियार र त्रास सिर्जना गर्ने माध्यमको रूपमा प्रयोग गरिएको देखिन्छ । यसले परिवार र समुदायमा गहिरो असर पारिरहेको छ ।”

 

उनले अझै धेरै घटनाहरू डर, लाज वा असुरक्षाका कारण रिपोर्ट नभएको हुन सक्ने भन्दै अहिले उपलब्ध तथ्याङ्क ‘बरफको शिर मात्र’ हुनसक्ने चेतावनी समेत दिए ।

 

युनिसेफले अन्तर्राष्ट्रिय समुदायलाई बालबालिकाको सुरक्षा र न्यायका लागि तत्काल तथा समन्वित प्रयास गर्न आग्रह गरेको छ ।