Ad Image

लहानको सलहेश फूलबारी मेलामा बिहानैदेखि श्रद्धालुहरुको घुइँचो

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744599204.jfif

सिरहा । नयाँ वर्षका दिन मात्र फुल्ने सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न लहान नगरपालिकास्थित सलहेश फूलबारीमा बिहानैदेखि सर्वसाधारणको ठूलो भीड लागेको छ ।  पूर्व पश्चिम राजमार्गसँगै जोडिएको लहान नगरपालिका १२ र २२ नम्बर वडामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल सलहेश फूलबारीमा आजकै दिन मात्र फुल्ने फूल दर्शन गर्न आउने दर्शनार्थीहरुको भीड लागेको हो । 

 

राजा सलहेसको ऐतिहासिक गाथा बोकेको सलहेश फूलबारीमा रहेको हारम जातको रुखमा फुल्ने फूल हेर्न नेपाल तथा भारतबाट लाखौको संख्यामा प्रत्येक वर्षझैं यस वर्षपनि श्रद्धालुहरु बिहानैदेखि भिड लाग्न थालेको स्थानीय हरिभक्त  चौधरीले जानकारी बताए । 

 

सलेहश गाथामा उल्लेख गरिएअनुसार सिरहाको महिसोथामा जन्मिएका लोक नायक सलहेश फूल टिप्ने र प्रणयस्थलको रुपमा यो फूलबारी रहेको मानिन्छ। आफ्नो क्षेत्रमा लोक नायकको रुपमा पुजिने राजा सलहेश र प्रेमीका मालिनीको प्रेम प्रतीकको रुपमा लिइने सुनाखरी फूलको माला हेर्न मानिसहरुको भीड लाग्ने गरेको मन्दिरका पुजारी जितेन्द्र सिंह धामीले जानकारी दिए। 

 

उनका अनुसार तेह्रौं शताब्दीका लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहेको तर, सलहेशले कारणबस अरुनै स्त्रिसंग विवाह गरेपनि उनीहरु बीचको प्रेममा कुनै कमी नआएको भन्ने लोकोक्ती रहेको छ।

 

सोही प्रेमको प्रतिकको रुपमा बैशाख १ सुनाखरीको फूल फुल्ने जनविश्वास रहेको छ। सलहेश तराईका पासवान जातीको इष्टदेव रहेको र तेह्रौ शताब्दीका लोक नायक भएकोले सलहेशको पूजाअर्चना गर्नाले मनोकाक्षां, सन्तान प्राप्ति, चर्म रोग, कुष्ट रोग लगायतका रोग ब्याधि हरण हुने जन विश्वास समेत रहेको छ। फूलबारी भित्र दुर्लभ जातीका जडीबुटीहरु समेत रहेको बताइन्छ।

 

प्रत्येक वर्ष बैशाख १ गते एक जोडी माला आकारमा फूल्ने फूल राजा सलहेश र उनकी प्रेमिका मालिनीको  प्रम प्रतीकका रुपमा फुल्ने गरेको जनविश्वास छ। मेला भर्न नेपाल तथा भारतबाट हजारौँ श्रद्धालु आउने गरेका छन् । दुई दिनअघिदेखि भारतका विभिन्न राज्यबाट आउने हजारौँ श्रद्धालु मेलास्थलमा नै बसेका छन् । 

 

प्राकृतिक, सांस्कृतिक एवं धार्मिक पर्यटकीय सलहेश फूलबारी क्षेत्र लहान बजारदेखि चार किलोमिटर पश्चिम–दक्षिणमा पर्दछ । सहलेश मन्दिरका पुजारी जीतेन्द्र धामीका अनुसार १४ औँ शताब्दीका राजा सलहेसको सौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरुको सम्झनास्वरुप यहाँ प्रत्येक वर्ष वैशाख १ गते मेला आयोजना हुने गरेको छ । यहाँ नयाँ वर्षको एक दिनमात्र हारमको रुखमा सुनाखरी फूल फुल्ने र सोही दिन साँझ परेसँगै ओइलाउने किम्वदन्ती छ । त्यही फूल हेर्न तथा मन्दिरमा पूजापाठ गर्न धार्मिक पर्यटक आउने गरेका छन् । 

 

राजा सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र तेह्रौँ शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले सन्तानप्राप्ति, चर्मरोग, कुष्ठरोगलगायत रोग नाश  हुने जनविश्वास छ ।  सरकारले सहलेसलाई धार्मिक पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिसकेको छ ।