२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा, असोज १६ गते विजया दशमी


काठमाडौं । आजदेखि २०८२ साल लागेको छ । नयाँ वर्ष २०८२ सालमा सरकारले ८८ दिन सार्वजनिक बिदा दिएको छ । नेपालमा राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा ५२ वटा शनिबार र थप ३६ दिन देशभर चाडपर्व एवम् दिवस रुपमा बिदा दिइएको छ ।
दशैँ र तिहारसमेत विभिन्न पर्वका जम्मा बिदा २८ दिन हुनेछ भने गणतन्त्र दिवससमेत विभिन्न दिवसको कूल बिदा ६ दिन परेको छ । यसबाहेक स्थानीय पालिकाले स्थानीय चाडपर्वका लागि थप बिदा दिन सक्नेछन् । यी बिदा यसमा समावेस गरिएको छैन् ।
जसअनुसार वैशाखमा ४ दिन शनिबार परेका छन् । यसका अलावा आजै वैशाख १ गते नयाँ वर्षको बिदा छ भने १८ गते विश्व मजदुर दिवस तथा २९ गते एकैदिन चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), बुद्ध जयन्ती, उभौली पर्वको बिदा छ ।
जेठ महिनामा पाँच दिन शनिबारको सार्वजनिक बिदा छ । त्यसबाहेक जेठ १५ गते गणतन्त्र दिवसको एक दिन बिदा छ । यस्तै असारमा ४ शनिबारबाहेक अरु बिदा परेका छैनन् । साउनमा ५ शनिबार परेपनि २४ गते रक्षाबन्धन तथा जनैपूर्णिमा र ३१ गते ३१ गते श्रीकृष्ण जन्माष्टमी शनिबारकै दिन परेका छन् । २५ गते गाईजात्रा पर्व काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।
भदौमा चार शनिबार परेका छन् । भदौ ७ गते शनिबारको दिन बुवाको मुख हेर्ने दिन परेको छ । १० गते हरितालिका (तीज)को दिन महिला कर्मचारीहरुलाई मात्र बिदा हुने छ । भदौ १५ गते गौरा पर्व र भदौ २१ गते इन्द्रजात्रा परेका छन् । इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्र बिदा हुने छ । ३० गते जितिया पर्व परेको छ । यस दिन जितिया पर्व मनाउने महिलाहरु कर्मचारीहरुलाई मात्र बिदा हुने छ ।
असोजमा ४ शनिबार परेको छ । ३ गते संविधान दिवस, असोज ६ गते दशैँको घटस्थापना बिदा र यसपछि असोज १३ फूलपातीदेखि १८ गतेसम्म दशैं बिदा । (१६ गते विजया दशमी) तर, १८ गते शनिबार परेको छ । कात्तिकमा ५ शनिबारपरेका छन् । कात्तिक ३ देखि ७ गतेसम्म तिहार बिदारहेको छ । कात्तिक १० गते छठ पर्वको बिदा र कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको बिदा दिइएको छ ।
मंसिरमा ४ शनिबार परका छन भने मंसिर १७ गते धान्य पूर्णिमा, किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि र अन्तर्राष्ट्रिय अपांगता दिवसको बिदा। मंसिर १८ गते ज्यापु दिवसको बिदा दिइएको छ । पुसमा ४ शनिबार। पुस १० गते क्रिसमस डेको बिदा । पुस १५ गते तमु ल्होछार र पुस २७ गते पृथ्वी जयन्तीका बिदा ।
माघमा ४ शनिबार परेका छन भने १ गते माघी पर्व अर्थात् माघे संक्रान्तिको बिदा, माघ ५ गते सोनम ल्होछार, ९ गते सरस्वती पूजा र १६ गते सहिद दिवसका बिदा दिइएको छ । फागुनमा ५ शनिबार परेका छन् । ३ गते महाशिवरात्रिको बिदा, फागुन ६ गते ग्याल्पो ल्होसार र ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस परेको छ ।
फागुन १८ गते हिमाली र पहाडी जिल्लामा तथा १९ गते तराई–मधेसमा होली पर्वको बिदा र फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) को बिदा रहेका छन् । चैतमा ४ शनिबार परेका छन भने ४ गते घोडेजात्राको बिदा (काठमाडौँ उपत्यकामा) र चैत १३ गते रामनवमीको बिदा दिइएको छ ।