त्रिविमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइन सेवा सुरु


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइन सेवा सुरु गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै वैशाख २ गते (सोमबार) देखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु भएको जानकारी दिएको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले सूचनामा नयाँ वर्षको शुभकामना सहित अब परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट प्राप्त हुने सेवाका लागि बल्खु नै पुगेर लाइन बस्नु पर्ने अवस्थाको न्यूनिकरण गर्न अनलाइन प्रणाली सुचारु गरेको बताएका छन् । तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनका लागि अनलाइन सेवा सुरु गरिएको र अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना रहेको बताइएको छ ।
आगामी जेठ १५ गतेदेखि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण सेवा अनलाइन हुने समेत परीक्षा नियन्त्रक जोशीले जानकारी दिए । उनले आफ्नै पद्धती तयार गरी अनलाइन सेवा कार्यान्वयनमा ल्याइएको बताएका छन् ।
अनलाइन फारम भर्नका लागि student.tuexam.edu.np मा लगइन गरी दिइएको निर्देशन अनुसार फारम भर्न सकिने छ । तोकिएको शुल्क संलग्न बैंक मार्फत् अनलाइनबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
