काठमाडौं महानगर-२२ मा हाडजोर्नी, नशा र फिजियोथेरापी शिविर, ३१० जना लाभान्वित


काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २२ मा तीन दिने निःशुल्क हाडजोर्नी, नशा र फिजियोथेरापी शिविर सञ्चालन गरिएको छ । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र वडा नम्बर २२ ले आयोजना गरेको शिविरमा तीन सय १० जनाले सेवा लिएका छन् ।
सेवा लिनेमध्ये ७१ जना हड्डी खिइएका विरामी, २५ जना नशा च्यापिएका, ढाड, कम्मर र गर्धनमा समस्या भएका, ५१ जना वुढ्यौलीका कारण हड्डी कमजोर भएका, हड्डी मक्किएका, २८ जना पैताला दुख्ने, पोल्ने, ३१ जना बाथरोग र युरिक एसिड भएका, ९५ जना हाडजोर्नी दुख्ने समस्या भएका विरामी रहेको बताइएको छ ।

त्यसैगरी शिविरमा आएका ९ जनालाई हड्डी खिइएर तथा नशा च्यापिएर शल्यक्रिया गर्नुपर्ने भएकाले रिफर गरिएको जनस्वास्थ्य निरीक्षक सुजन भण्डारीले जानकारी दिए । शिविरमा २८० जनालाई फिजियोथेरापी सेवा प्रदान गरिएको छ ।

प्रवर्द्धन केन्द्रमा फिजियोथेरापी सेवा नियमित चलिरहेको र दैनिक २० जनासम्मले सेवा लिइरहेको भण्डारीले जानकारी दिए । उनले भने, ‘पहिले दुख्ने पोल्ने समस्या पाको उमेरसँग जोडेर हेर्ने गरिन्थ्यो । खानपान र जीवनशैलीका कारण अहिले युवा र प्रौढहरुमा पनि समस्या देखिएको छ ।’

काठमाडौं महानगरपालिकाका स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुले प्रवर्द्धनात्मक स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क फिजियोथेरापी सेवा प्रदान गरिरहेका छन् ।