विदेश पठाउने नाममा लाखौं रकम ठगी गर्ने चार जना पक्राउ


काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने नाममा ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलबमा विदेश पठाउने भन्दै रकम असुल गरी लामो समयसम्म झुक्याएर सम्पर्कविहीन भएका चार जनालाई प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोलुखुम्बु घर भइ हाल काठमाडौंको गोकर्णेश्वर बस्ने ३७ वर्षीय ङवाङ गेली शेर्पा, नुवाकोट घर भइ हाल काठमाडौं टोखा बस्ने ३० वर्षीया शर्मिला थापा, मोरङ घर भइ काठमाडौं महानगरपालिका-३ मा बस्ने ३८ वर्षीय मान बहादुर बस्नेत र भोजपुर घर भइ काठमाडौं महानगरभित्रै बस्ने ३० वर्षीय हेमन्त राई रहेका छन् ।
उनीहरुले विभिन्न समयमा बेरोजगार युवायुवतीहरुलाई विदेश पठाउने भन्दै लाखौं रकम लिएर सम्पर्कविहीन भएको अवस्थामा पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ । उनीहरुलाई थप अनुसन्धान र कार्बाहीका लागि सम्बन्धित कार्यालय पठाइएको छ ।
