शिक्षा विधेयक तत्काल पारित गर्न संसद अधिवेशन बोलाइयो


काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकहरुको माग सम्बोधन गर्न यही वैशाख १२ गते दिउँसो १ बजे बस्ने गरी वर्षे अधिवेशन आह्वान गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिइन् । संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने प्रयोजनका लागि संसद् अधिवेशन आह्वान गरिएको हो ।
भट्टराईका अनुसार मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु :
१. संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने, यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्ने,
२. नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको छ । यथोचित मागको सम्बोधन गर्न सरकार तयार छ ।
३. नेपाल शिक्षक महासंघको आव्हानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । हाल विद्यार्थी भर्नाको समय एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुरोध गर्ने ।