खेर जाने च्याउ र तरकारीबाट यसरी लिन सकिन्छ आम्दानी !


काठमाडौं । पछिल्लो समय नेपालको कृषि क्षेत्रमा प्रविधि र आधुनिकताको प्रयोग बढ्दै गएको छ । त्यसको सकारात्मक असर च्याउ खेतीमा पनि देखिएको छ । अहिले धेरै कृषकहरू च्याउ खेतीतर्फ आकर्षित छन् र यसबाट राम्रै आम्दानी पनि गरिरहेका छन् । बजारमा च्याउको माग समेत बढ्दो छ ।
तर, च्याउको उत्पादनपछि समयमै उचित बजार नपाउँदा कृषकहरू घाटामा पर्ने समस्या बढिरहेको छ । पानी र एसिडको मात्रा धेरै हुने भएकाले च्याउ छिटो बिग्रन्छ र कालो पर्न थाल्छ । यदि च्याउ टिपेपछि दुई दिनभित्र बिक्री गर्न सकिएन भने त्यसले मूल्य नपाएर खेर जान सक्छ, जसले कृषकलाई आर्थिक नोक्सान पुर्याउँछ ।
तर, यिनै खेर जाने च्याउलाई उपयोग गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ । यही सन्देश फैलाउन राष्ट्रिय खाद्य अनुसन्धान परिषदले हालै “च्याउको परिकार विकास तथा खाद्य विविधिकरण’’ सम्बन्धी तीन दिने तालिम सञ्चालन गरेको थियो । नेपाल कृषि अनुसन्धान परिषदको परिसरमा चैत २९ देखि ३१ गतेसम्म सम्पन्न तालिममा च्याउबाट अचार, पापड, सूप, बारा, किम्चीलगायतका परिकार बनाउन सिकाइएको थियो ।
परिषद्का सिनियर चिफ वैज्ञानिक डा. रोमन कार्कीका अनुसार, यी परिकारहरू कम लागतमा तयार गर्न सकिने भएकाले किसानहरू स्वयंले व्यवसायिक रूपमा अघि बढाउन सक्छन् । स्थानीय सरकार र पालिकाले पनि सहयोग गरेमा कृषकलाई थप हौसला र राहत मिल्ने तालिममा सहभागीहरुको तर्क थियो ।
यस्ता छन् च्याउबाट बन्न सक्ने परिकारहरूः
१. मशरूम किम्ची
किम्ची कोरियाली एक परिकार हो, जसलाई तरकारी, मसला र फर्मेन्टेसन प्रक्रियाबाट तयार गरिन्छ । मशरूम किम्चीमा च्याउलाई मुख्य सामग्रीको रूपमा प्रयोग गरिन्छ । यसमा प्राकृतिक प्रोबायोटिक्स पाइने भएकाले पाचनमा फाइदा पुग्छ । स्वादिलो र स्वास्थ्यवद्र्धक यो परिकार स्थानीय रूपमा च्याउ, चामलको पीठो र घरेलु मसालाबाट सजिलै तयार गर्न सकिन्छ र बजारमा बेचेर आम्दानी लिन सकिन्छ ।

२. ओइस्टर मशरूम (काने च्याउको अचार)
काने च्याउ नेपालको व्यवसायिक च्याउ खेतीमध्ये एक मुख्य खेती हो । यसमा प्रोटिन, भिटामिन–डी, आयरन, पोटासियम, एन्टिअक्सिडेन्ट आदि पोषक तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छ । यसको अचार स्वादिलो र पौष्टिक हुन्छ ।

३. मसरूम सूप
च्याउलाई सुकाएर धुलो बनाएपछि, त्यसमा कर्न स्टार्च, मिल्क पाउडर तथा अन्य स्वादअनुसारका सामग्री मिसाएर स्वादिलो सुप तयार गर्न सकिन्छ ।


अन्य परिकारहरूमा मशरूम बारा, मशरूम नाचो, मशरूम पापड आदि परिकारहरू पनि तयार गर्न सकिन्छ ।
वैज्ञानिक डा. रोमन कार्कीका अनुसार, च्याउबाट बनेका परिकारहरू बजारमा प्रति १०० ग्राम २०० रुपैयाँसम्ममा बेच्न सकिन्छ । बजार विस्तारका लागि स्थानीय किराना पसल, सहकारी संस्था, होस्टल, होटेल तथा अस्पतालहरूसँग सहकार्य गर्न सकिन्छ । साथै, फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमार्फत अनलाइन बजार पनि निर्माण गर्न सकिन्छ ।
यदि गुणस्तरीय उत्पादन गर्न सकियो भने, यस्ता परिकारहरू नेपाली बजार मात्र होइन, विदेशसम्म पनि निर्यात गर्न सकिन्छ । सुकाएर वा फर्मेन्ट गरेर बनाइएका यी उत्पादनहरू लामो समयसम्म टिक्ने भएकाले बजार व्यवस्थापन गर्न सजिलो हुने र घाटा हुने सम्भावना पनि न्यून रहने डा. कार्कीको भनाइ छ ।
च्याउ खेर जान दिनुभन्दा त्यसलाई परिकारमा रूपान्तरण गरेर कृषकहरुले थप आम्दानीको स्रोत बनाउन सक्ने धेरै सम्भावना रहेको छ ।