शिक्षकको रमिता बढी भयो, जिम्मेवार नेताले पनि ऐक्यबद्धताको रमिता नगर्नुस्: झाँक्री


काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले शिक्षकहरुको सडक आन्दोलनप्रति आक्रोश व्यक्त गरेकी छन् । नेता झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षकहरुको रमिता बढी भएको भन्दै आक्रोश व्यक्त गरेकी हुन् ।
उनले शिक्षकहरुले समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्किंदैनाै भन्न नमिल्ने बताएकी छन् । उनले शिक्षा ऐन अहिले नै पास हुनुपर्छ भन्नलाई ऐन सडकबाट पास हुने हो र ? भन्ने प्रश्न समेत गरेकी छन् । झाँक्रीले विद्यालयमा भर्नाको समयमा विद्यालय बन्द गरेर शिक्षकहरुले लाखौं विद्यार्थीको भविष्य अन्यौल बनाएको आरोप समेत लगाएकी छन् ।
नेता झाँक्रीले शिक्षकहरुलाई प्रश्न गर्दै भनेकी छन्, ‘विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुदैन ? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरुले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ ? समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौं भन्न मिल्छ, राज्यको तलब खाएका शिक्षक कर्मचारीले ? भर्नाको बेला विद्यालय बन्द गरेर लाखाै विधार्थीको भविष्य अन्योल बनाउन मिल्छ? निजी स्कूलले धमाधम भर्ना गरेर कक्षा चलाउन लागिसकेका छन् । यहाँहरूले पढाएका कयौं विद्यालयको BLE को रिजल्ट सून्य छ। के यो विषयमा चिन्तित हुनहुन्छ ? आगामी दिनमा सुधार्न के गर्नुपर्छ भनेर कतै छलफलमा रुचि देखाउनु भएको छ?’
ऐन आउँछ भनेर सरकारले प्रतिबद्धता जनाइसकेकाले शिक्षकहरुले सरकार र संसदलाई विश्वास गरेर फर्किनु पर्ने उनको धारणा छ । नेता झाँक्रीले नेताहरुलाई समेत ऐक्यबद्धताको रमिता नदेखाउन बताएकी छन् । उनले भनेकी छन्, ‘जिम्मेवार नेता साथीहरू, ऐक्यबद्धताको रमिता तपाईहरू पनि नगर्नुस् । बल र कोर्ट दुबै तपाईंकै खुट्टामा छ ।’