सुकुना बहुमुखी क्याम्पसमा पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सुरु

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसमा आजदेखि पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन प्रारम्भ भएको छ । ‘उच्च शिक्षामा दिगोपनः स्थानीय र विश्वव्यापी ज्ञानको एकीकरण’ भन्ने नाराका साथ आजदेखि अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सुरु भएको हो ।
सम्मेलनमा शिक्षाका विविध आयामबारे छलफल हुनुका साथै स्थानीय र वैश्विक ज्ञानको आदानप्रदान अनुसन्धान तथा शैक्षिक सहयोग अभिवृद्धिका सम्बन्धमा विचारविमर्श हुने सम्मेलन आयोजक समितिका संयोजक गणेशप्रसाद दाहालले जानकारी दिए ।
आज पहिलो दिन ५ वटा विद्वत प्रवचन, ३ सम्भाषण, १ प्यानल छलफल, १८ समानान्तर सत्र र सांस्कृतिक हुने छ ।
दोस्रो दिन पुनः ४ विद्वत् प्रवचन, ६ सम्भाषण, २ कार्यशाला, २७ समानान्तर सत्र हुने छ । सम्मेलनमा नेपालका लागि अमेरिकी राजदुतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, भारतका विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. तीर्थराज खनियाँलगायत अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका दर्जन बढी विद्वानहरू सहभागी हुनेछन् ।