डुबानबाट वीरगञ्जलाई बचाउन नाला सरसफाईमा जुटे मेयर राजेशमान


पर्सा । वीरगञ्ज महानगरपालिकाले तीव्र गतिमा मुख्य नाला सरसफाईको काम गरिरहेको छ । वर्षाको समयमा बजार डुबान हुनबाट बचाउन महानगरले पूर्व तयारीका लागि मुख्य नाला सरसफाईलाई प्राथमिकतामा राखेर काम गरिरहेको हो ।
अहिले महानगरका तीनवटा स्काभेटर र थप चेन स्काभेटरको माध्यमबाट नाला सफाईको काम भइरहेको छ । छपकैयास्थित पानी प्रशोधन केन्द्रदेखि उत्तरतर्फ सफाईको कम सकेर अहिले दक्षिणतर्फ भन्सारसम्म सफाईको काम चलिरहेको छ । महानगर प्रमुख राजेशमान सिंहले वर्षाको समयमा डुबानको समस्या हुन नदिन अहिलेबाटै तयारी स्वरुप मुख्य नाला सफाई गरेको बताए । मुख्य नाला सफाई सँगसँगै सहायक नाला सफाई समेत भइरहेको उनले जानकारी दिए ।

स्काभेटरले सफाई गर्न सक्ने ठाउँमा स्काभेटर र स्काभेटरले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाई गरिरहेको प्रमुख सिंहले बताए। नाला सफाई कार्यको अवलोकन गर्दै महानगर प्रमुख सिंहले नाला सफाईको काम सकिएपछि अबको वर्षाले वीरगञ्ज नडुब्ने दाबी समेत गरे । ‘नालाको आधा भन्दा बढी भाग माटोले पुरिँदा पानी सहज रुपमा बग्न सकेको थिएन,’ महानगर प्रमुख सिंहले भने, ‘सहरको करिब ८० प्रतिशत पानी बग्ने मुख्य नाला सफाई भए मात्रै वीरगञ्ज डुबानबाट बच्ने भएकाले यसको सफाई प्रमुख प्राथमिकतामा राखेर गरिरहेका हौं ।’

विगतदेखि नै सफाई गरिएकाले गएको दुई वर्षदेखि वीरगञ्ज डुबान मुक्त पारिएको बताउँदै उनले अहिले पनि मुख्य नालाको सुरुदेखि अन्तिम बिन्दुसम्मै सफाईको काम चलिरहेको जानकारी दिए । महानगर प्रमुख सिंहले नालामा जथाभावी फोहोर नफाल्न पनि नगरबासीलाई आग्रह गरेका छन्। ‘सरसफाईमा नागरिक सहभागिता जरुरी छ । महानगरपालिकाले एक्लै गरेर मात्र हुँदैन,’ उनले भने,‘नागरिक सहभागिता जरुरी छ, नागरिकमा चेतना र जागरण आवश्यक छ । हामीले जनचेतना फैलाउने काम पनि गर्छौं । पटक–पटक अटेर गरिए कार्बाही पनि गर्छौं ।’

मुख्य नाला सफाई गर्न अहिले चार वटा स्काभेटर र २५ जना सफाईकर्मी दैनिक रुपमा खटिरहेको महानगरपालिकाका हरियाली तथा सरसफाई संयोजक जयप्रकाश खेतानले जानकारी दिए। मुख्य नालाको निरन्त सफाईले विगत दुइ वर्षदेखि वीरगञ्ज बजार क्षेत्र डुबान मुक्त बनेको छ ।