अवकाश लिएको बेलायती बिरालो पुनः जागिरमा फर्कियो, बर्मुडामा 'सल्लाहकार' को रूपमा काम सुरु


एजेन्सी । अहिलेको समयमा सरकारी जागिर पाउनु सामान्य कुरा होइन। अझ अवकाश लिएको कर्मचारी पुनः बहाल हुनु भनेको त झन् दुर्लभ उदाहरण हो। तर, बेलायतमा यस्तो दुर्लभ उदाहरण एक कर्मचारीमा देखिएको छ — त्यो पनि मानिसमा होइन, बिरालोमा।
पाल्मर्स्टन नामको एक कालो र सेतो रङ्गको बिरालो, जो बेलायतको परराष्ट्र मन्त्रालय (Foreign Commonwealth and Development Office) मा कार्यरत थियो र अवकाश पनि लिएको थियो । तर अहिले उक्त बिरालो बेलायतको परराष्ट्र मन्त्रालयमा पुनः जागिरमा फर्किएको छ। अहिले उसलाई ब्रिटिश ओभरसिज टेरिटोरी बर्मुडामा 'फेलाइन रिलेसन्स कन्सल्टेन्ट' अर्थात् बिरालो सम्बन्ध सल्लाहकारको रूपमा नियुक्त गरिएको छ।
सरकारी बिरालोको जागिरे यात्रा
पाल्मर्स्टन कुनै साधारण बिरालो होइन। सन् २०१६ मा बेलायतको परराष्ट्र मन्त्रालयले यसलाई 'Chief Mouser' को रूपमा नियुक्त गरेको थियो। उसको प्रमुख जिम्मेवारी थियो – मन्त्रालयको भवनभित्र हुने मुसा नियन्त्रण। तर, बिरालोको भूमिका त्यो मात्र थिएन।
सुरुमा एक उद्धार केन्द्रबाट ल्याइएको यो बिरालो, सरकारी जागिरमा प्रवेश गरेसँगै चर्चामा आयो। उसको फोटोहरू, गतिविधिहरू, अनि सोसल मिडियामा गरिएका नियमित अपडेटहरूले पाल्मर्स्टनलाई केवल कार्यालयकै मात्र होइन, इन्टरनेटको सेलेब्रिटी बिरालो बनायो।
ट्विटर (हाल X) मा उसले छाडेको डिजिटल पदचिह्न अझै बाँकी छ। त्यहाँ उसका करिब ९९ हजार फलोअर्स छन्। सरकारका अफिसियल ट्विटर खाताहरू जस्तै, उसले पनि आफ्ना 'कामकाजी दिन' का फोटोहरू, रमाइला अभिव्यक्तिहरू र डिप्लोम्याटिक 'Cat Code' मा लेखिएका पोस्टहरू मार्फत ध्यान तान्ने गर्थ्यो।
अवकाशपछि बिरालोको जीवन
चार वर्ष सेवा गरेपछि, सन् २०२० मा पाल्मर्स्टनले अवकाश लिएको घोषणा गर्यो। सरकारी 'ड्युटी' बाट टाढा भएर उसले पूर्व सहकर्मी एन्ड्र्यु मर्डकको साथमा ग्रामीण इलाकामा बस्न थालेको थियो। मर्डक परराष्ट्र मन्त्रालयका अधिकारी थिए र बिरालोसँग उनको राम्रो सम्बन्ध थियो।
अवकाश पछिको पाल्मर्स्टनको जीवन पनि कम चर्चित रहेन। कहिलेकाँही उसले ट्विट गरेर घाम तापिरहेको फोटो राख्थ्यो, घाँसे मैदानमा दौडिरहेको भिडियो हाल्थ्यो – जसले उसको फ्यानबेस झनै बलियो बनाएको थियो।
पुनः जागिरमा फर्किने निर्णय
तर अवकाश जीवन धेरै लामो टिकेन। हालै एन्ड्र्यु मर्डकलाई बेलायतले बर्मुडा टेरिटोरीको गभर्नर नियुक्त गर्यो। र, उनले पाल्मर्स्टनलाई पनि पुनः सेवा गर्ने अफर गरे।
यसपटक, नयाँ भूमिका थियो – Feline Relations Consultant।
यस पदमा उसको जिम्मेवारी केवल मुसा नियन्त्रण नभई अन्य 'बिरालो सम्बन्ध' हरू पनि हेर्नु हो – अर्थात्, गभर्नर हाउस वरपरका बिरालो व्यवस्थापन, जनसम्पर्क, र कार्यलयको वातावरणमा योगदान।
नाम र ऐतिहासिक पृष्ठभूमि
पाल्मर्स्टनको नाम पनि निकै अर्थपूर्ण छ। उसको नाम राखिएको हो – लर्ड पाल्मर्स्टनको नामबाट, जो बेलायतका सबैभन्दा लामो समय सेवा गर्ने विदेश सचिव थिए। नाम, पृष्ठभूमि र जागिर – सबैले पाल्मर्स्टनलाई 'डिप्लोम्याटिक बिरालो' को खास पहिचान दिएको छ।
बेलायतका अन्य सरकारी बिरालोहरू
पाल्मर्स्टन मात्र होइन, बेलायतमा सरकारी कार्यालयहरूमा बिरालोलाई जागिर दिने चलन पुरानै हो।
सबैभन्दा चर्चित नाम हो – ल्यारी द क्याट
ल्यारी सन् २०११ देखि बेलायती प्रधानमन्त्री निवास १० डाउनिङ स्ट्रिटमा कार्यरत छन्। Chief Mouser to the Cabinet Office को रूपमा उनी ६ जना प्रधानमन्त्रीहरूको कार्यकाल देखिसकेका छन्। ल्यारी र पाल्मर्स्टनबीच कहिलेकाँही 'cat fight' सार्वजनिक पनि हुने गरेको छ। सोसल मिडियामा उनीहरूका भिडन्तले चाखलाग्दो चर्चा पाउने गरेको छ।
यस्ता बिरालाहरू केवल मुसा नियन्त्रणका लागि होइन, सांस्कृतिक, प्रचारात्मक र जनसम्पर्क रणनीतिमा समेत योगदान दिने मानिन्छ। बेलायती मिडिया र जनमानसमा यी बिरालाहरूले सकारात्मक छवि बनाएका छन्।
सरकारी बिरालोको जागिर, अवकाश र पुनः नियुक्तिको यो कथा सुन्दा अचम्म लागे पनि बेलायतजस्ता देशमा जनावरहरूलाई पनि कार्यस्थलमा स्थान दिइने र उनीहरूलाई कदर गरिने परिपाटी देखिन्छ।
पाल्मर्स्टनको कथा केवल एउटा बिरालोको होइन, सरकारी प्रणाली, सहकार्य र सांस्कृतिक जीवनशैलीको अनौठो संयोजन हो। मुसा मार्ने जागिरबाट सुरु भएको उसको यात्रा, अहिले बर्मुडामा 'बिरालो सल्लाहकार' सम्म आइपुगेको छ।
बेलायतमा बिरालोले सरकारी जागिर पाइरहँदा नेपालमा चाहिँ मानिसले पनि सरकारी जागिरका लागि निक्कै संघर्ष गरिरहनुपरेको छ ।