गाजामा इजरायली हमलाबाट ४८ घण्टामा ९० भन्दा बढीको मृत्यु

एजेन्सी । गाजामा इजरायली आक्रमणमा पछिल्लो ४८ घण्टामा ९० भन्दा बढीको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ । इजरायली सेनाले हमासलाई आफ्ना बन्धकहरूलाई रिहा गर्न र निःशस्त्र बनाउन दबाब दिन आक्रमणहरू बढाएको छ ।
मृतकमा महिला र बालबालिकासहित आज रातभरमा मारिएका १५ जना छन् । अस्पताल कर्मचारीहरूका अनुसार तीमध्ये केही तोकिएको मानवीय क्षेत्रमा आश्रय लिइरहेका थिए । दक्षिणी सहर खान युनिसमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । तीमध्ये धेरैले मवासी क्षेत्रको एउटा टेन्टमा आश्रय लिएका थिए । त्यहाँ सयौँ हजार विस्थापित मानिस बसिरहेको अस्पताल कर्मचारीले बताएका छन् । इजरायलले यसलाई मानवीय क्षेत्रको रूपमा तोकेको छ ।
शवहरू ल्याइएको युरोपेली अस्पतालका अनुसार रफाह सहरमा छुट्टै आक्रमणमा एक आमा र उनकी छोरीसहित अन्य चार जनाको मृत्यु भएको छ । सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको लडाकूहरूले दक्षिणी इजरायलमा आक्रमण गर्दा अधिकांश सर्वसाधारणसहित लगभग एक हजार दुई सय मानिस मारिएका थिए । साथै लडाकूहरूले दुई सय ५१ जनालाई अपहरण गरेका थिए । त्यसपछि युद्ध सुरु भयो । अधिकांश बन्धकलाई युद्धविराम सम्झौता वा अन्य सम्झौतामा रिहा गरिएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित ५१ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।