के हो भारतले पाकिस्तानसँग खारेज गरेको सिन्धु जलसम्झौता ?


काठमाडौं । जम्मु कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानविरुद्ध कठोर निर्णय गरेको छ । बुधबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठक ले विभिन्न आक्रामक निर्णयहरू गरेको छ ।
- निर्णयको ४८ घण्टाभित्र सबै पाकिस्तानीलाई भारत छोड्न निर्देशन ।
- पाकिस्तानी कूटनीतिज्ञहरूलाई ७ दिनभित्र भारत छोड्न आदेश ।
- पाकिस्तान उच्चायोगमा रहने संख्या ५५ बाट ३० मा घटाइने ।
- पाकिस्तानीलाई दिएको सबै भिसा रद्द ।
- पाकिस्तानबाट आफ्ना कूटनीतिक कर्मचारी फिर्ता
-अटारी बागा बोर्डर बन्द ।
-सिन्धु जल सम्झौता स्थगित ।
के हो सिन्धु जलसम्झौता ?
भारत र पाकिस्तानको दुवै भूमि भएर बग्छ सिन्धु नदी । विश्व बैंकको मध्यस्थतामा दुवै देशबीच सन् १९६० सेप्टेम्बर १९ मा सिन्धु जल सम्झौता भएको थियो । जवाहरलाल नेहरुको पालामा यो सम्झौता भएको थियो । यो सम्झौता अनुसार पाकिस्तानले ८० प्रतिशत पानी प्रयोग गर्दछ ।
सिन्धु जल सम्झौताले भारत र पाकिस्तानलाई तीन/तीन वटा हिमाली नदीहरूको अधिकार प्रदान गर्दै जल उपयोग तथा सिँचाइका लागि व्यवस्था मिलाएको थियो । सम्झौता कार्यान्वयन गर्न इन्डस आयोग पनि स्थापना गरिएको थियो, जसले उत्पन्न हुने समस्याहरू समाधान गर्ने जिम्मेवारी लिएको थियो ।
यो सम्झौता रद्द हुँदा भारतले पानी आपूर्ति रोक्ने, बाँध बाँध्ने वा अन्त कतै मोड्न सक्छ, जसले पाकिस्तानको कृषि, पिउने पानी र उद्योग कलकारखानामा असर पुग्न सक्छ । सन १९६५, १९७१, १९९९ र २००८ मा भएका पाकिस्तानसँगको तनाव तथा युद्धमा पनि भारतले यो सन्धि स्थगन गरेको थिएन ।
त्यसैले सिन्धु जल सम्झौता रद्द गर्ने निर्णयलाई असामान्य मानिएको छ । यसले दुई देशबीचको शक्ति सन्तुलन, जल नीति र सुरक्षा नीतिमा गहिरो असर पार्न सक्ने सम्भावना छ । यो निर्णय पाकिस्तानले सीमापार आतंकवादलाई विश्वसनीय रूपमा समर्थन गर्न बन्द नगरेसम्म लागू रहने जनाएको छ ।