Ad Image

यस्ता छन् च्याउ खानुका फाइदाहरु, जसले क्यान्सर लाग्नबाट पनि जोगाउँछ

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746243236.jpg

काठमाडौं । च्याउका परिकार निकै स्वादिलो हुन्छ । च्याउ जति स्वादिलो हुन्छ यो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ । च्याउ भिटामिन र खनिज पदार्थको राम्रो स्रोत हो । अन्य तरकारीको तुलनामा च्याउमा धेरै मात्रामा पोषण तत्व पाइन्छ । यसमा फाइबर, प्रोटिन, भिटामिनदेखि लिएर एन्जाइम, एन्टिअक्सिडेन्ट र खनिजहरू सम्मका तत्व पाइन्छ । 

 

च्याउमा भएको पोषण तत्वले विभिन्न रोगहरूबाट बच्न र शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ । यसलाई करी, सलाद, सूप, अचार र तरकारीहरू खाजा जस्तो बनाएर पनि खान सकिन्छ । साथै च्याउलाई सुकाएर यस्को पापड, बारा, चिप्स बनाएर खान र बिक्रीवितरण गरी एक्ट्रा आम्दानी पनि लिन सकिन्छ । अन्य तरकारीमा जस्तै च्याउमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सर लाग्न दिँदैन । 
 

त्यसैगरी, च्याउमा प्रशस्त मात्रामा पाइने ‘सेलेनियम’ नामको खनिज पदार्थले रोगप्रतिरोगी क्षमता वृद्धि गर्न सहयोग गर्छ । कलेजोको काममा पनि सहयोग पुर्याएर क्यान्सरजन्य पदार्थलाई शरीरबाट निस्कासन गर्न मद्दत गर्छ । 

 

च्याउमा पोषण तत्व पाइने भए पनि सबै च्याउ भने खान लायक हुँदैनन् । अध्ययनअनुसार विश्वमा एक लाख ४० हजार प्रकारका च्याउ पाइनेमा १०० प्रकारका च्याउ खान उपयुक्त तथा स्वस्थ मानिन्छ । खेती गरिएका च्याउहरु खान योग्य हुन्छन् भने जंगली च्याउहरु केही खान योग्य र केही अयोग्य भएको मानिन्छ । 

 

अहिले बजारमा कन्ये, गोब्रे (डल्ले), सिताके, ग्यानोदर्मा (रातो च्याउ), कोर्डिसेप्स मिलिटारिस, कोर्डिसेप्स एसपी, लायन्स मेन (हेरिसियम), इसारिया जापोनिका, इसारिया सिकादा, इनोकिताके, माइटाके (परीक्षणको क्रममा) किङ ओएस्टरलगायत प्रकारका च्याउ पाइन्छन् । यीमध्ये ग्यानोदमा (रातो च्याउ) औषधिको रुपमा प्रयोग गरिन्छ । किङ ओएस्टर च्याउ नेपाली बजारमा राजा च्याउको नामले प्रसिद्ध रहेको छ । 

 

च्याउमा के के पोषण तत्व पाइन्छ ?
 

भिटामिन डी: च्याउको प्रमुख विशेषता यसमा भिटामिन डी पाइन्छ । भिटामिन डी यस्तो तत्व हो जुन बिहानीको सूर्यको किरणबाट पाइन्छ, तर खानाबाट पाउन धेरै    मुस्कील हुन्छ । च्याउ, विशेषगरी सेतो र पोर्टाबेला जातिका च्याउमा भिटामिन डी प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरको हड्डी बलियो बनाउन, क्याल्सियमको काम गर्छ र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग गर्छ ।

 

प्रोटिन र फाइबर: च्याउमा प्रोटिन, फाइबर र अन्य पोषक तत्व प्रशस्त मात्रामा पाइन्छ । क्यालोरी, चिल्लो पदार्थ र कार्बोहाइड्रेटको मात्रा भने न्यून हुन्छ, जस्ले मोटोपन हटाउन मद्दत गर्दछ । मधुमेह भएका बिरामीका लागि पनि च्याउ लाभदायीक हुन्छ, किनभने यसले इन्सुलिनको निर्माणमा सहयोग पुर्याउँछ र रगतमा ग्लुकोजको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ ।

 

प्राकृतिक एन्टिबायोटिक, एन्टिअक्सिडेन्ट: च्याउमा पाइने एन्टिअक्सिडेन्टले शरीरलाई हानि पुर्याउने फ्री र्याडिकलबाट जोगाउँछ, माइक्रोबियल तथा फंगल संक्रमण हटाउँछ । साथै, च्याउमा रहेको बीटा ग्लुकान, लिनोलिक एसिड, सेलेनियम र फोलेटजस्ता तत्वहरूले क्यान्सर लाग्नबाट जोगाउने काम गर्दछ । यी तत्वहरूले शरीरमा ट्युमर बन्न नदिने, कलेजो सफा गर्ने, कोशिकाको मर्मत गर्ने र वंशाणुगत स्तरमा हुने विकृति नियन्त्रण गर्ने काम गर्छन् । त्यसैले च्याउले प्राकृतिक एन्टिबायोटिकको काम गर्दछ । 

 

पोटासियम धेरै र सोडियम कम: च्याउमा पोटासियम धेरै र सोडियम कम पाइने भएकाले यो मुटु रोग र उच्च रक्तचापका बिरामीका लागि उपयोगी हुन्छ । साथै, च्याउको सेवनले कोलेस्टेरोल घटाउने र मुटुलाई स्वस्थ राख्ने काम गर्छ । यसका साथै फाइबरको उच्च मात्राले पाचन प्रक्रिया सुधार्न मद्दत गर्छ, जसले कब्जियत र अपच हुनबाट जोगाउँछ ।

 

फोलिक एसिड र आइरन: च्याउमा फोलिक एसिड र आइरनको मात्रा प्रशस्त हुन्छ । यसले रक्तअल्पता हटाउन सहयोग गर्छ ।  रगतमा हेमोग्लोबिनको मात्रा सन्तुलनमा राख्न र शरीरमा अक्सिजन संचालन कायम राख्न च्याउ अत्यन्त फलदायी हुन्छ ।

 

कुपोषण हटाउन, शारीरिक विकासमा सहयोग: च्याउमा पोषक तत्व प्रचुर मात्रामा पाइने भएकोले बालबालिका, गर्भवती महिला, वृद्ध र कमजोर शारीरिक अवस्थामा भएका व्यक्तिका लागि च्याउ उपयुक्त पोषक आहार मानिन्छ । यसले कुपोषण हटाउन, शारीरिक विकासमा सहयोग गर्न र शरीरको प्रतिरोधात्मक शक्ति बढाउन विशेष भूमिका खेल्छ ।

 

यसका साथै च्याउमा अन्य पोषक तत्वहरू पनि पाइन्छ । यसमा भिटामिन बी टु, बी थ्री, बी फाइभ र फोलेट पाइन्छ । त्यस्तै, पोटासियम, सेलेनियम, फस्फोरस, कपर, आइरन, जिंक, म्याङ्गनिज जस्ता खनिजहरू पनि पाइन्छ । च्याउमा पाइने पोषण तत्व यसको प्रकार, जात, ठाउँ, उत्पादन विधि अनुसार फरक–फरक हुन्छन् । प्रोटिन, फाइबर र एन्टिअक्सिडेन्टस् जस्ता पोषण तत्व भने कम या धेरै मात्रामा सबै प्रकारका च्याउमा पाइन्छन् ।  

 

च्याउ स्वस्थ्यवर्द्धक र स्वास्थ्यको लागि फाइदाजनक भए पनि जथाभावी च्याउ खानाले स्वास्थ्यमा नकरात्मक असर पनि पार्न सक्छ । केही च्याउ विषालु हुन्छन्, विशेष गरी जंगली च्याउ विषालु हुने हुँदा यस्ता च्याउ खाँदा उल्टी हुने, बेहोशी हुने, वाकवाकी लाग्ने, दमसमेत हुनसक्छ । अत्यधिक च्याउ खाँदा एलर्जी देखिन सक्छ । फुड पोइजनिङ हुन सक्छ । कतिपयको ज्यानसमेत जान सक्ने खतरा हुनसक्छ ।
त्यसैले, सधैँ आफूले चिनेको, ताजा र सफा च्याउ मात्रै प्रयोग गर्नुपर्छ ।