सरकारले नीति तथा कार्यक्रमलाई कर्मकाण्ड बनाएको प्रचण्डको आरोप, सच्याउन माग


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमलाई सरकारले कर्मकाण्डी बनाएको आरोप लगाएका छन् । जेठ १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै बनाएको बताएका हुन् ।
उनले नीति तथा कार्यक्रम सच्याउन समेत आग्रह गरेका छन् । प्रचण्डले भने, ‘सरकारसँग संख्याको दम्भ छ । जे गरेपनि हुन्छ भन्ने निरंकुशतावादी चिन्तन छ । त्यही भएर नीति तथा कार्यक्रम र बजेटका बारेमा संसदमा हुने छलफललाई फेरि कर्मकाण्डी बनाइयो । फेरी एउटा औपचारिकतामा यसलाई प्रस्तुत गरियो । म सच्च्याउन माग गर्दछु ।’
उनले गत वर्ष नीति तथा कार्यक्रममाथि लोकतान्त्रिक विधिबाट व्यापक छलफल र बहस गरेर अन्तिम रुप दिन खोजेको स्मरण गर्दै यस वर्ष सरकारले उक्त प्रक्रिया भत्काएको आरोप लगाए ।
‘मैले यही सम्मानित संसदमा माननीय सांसदका मतहरुलाई समेत ध्यानमा राखेर नीति तथा कार्यक्रमको कर्मकाण्डीय परम्परा भत्काउन खोजेको थिएँ । सदनमा प्रस्तुत हुने, माननीय सांसदहरूले सुझाव दिने तर ती सुझावहरु नीति तथा कार्यक्रमा समेटिएर परिमार्जन भने नहुने परम्परा अन्त्य गर्नैपर्छ भनेर अध्यादेश नै जारी गरेर पनि बजेट प्रस्तुतीको तीन महिना अगावै नीति तथा कार्यक्रम सार्वजनिक गरी बजेटको नयाँ क्यालेण्डर जारी गरिएको थियो ।’अध्यक्ष प्रचण्डले भने, ‘तर त्यसो गर्दा दुइ तिहाइको निरंकुशता लाद्न सकिने थिएन । त्यसैले सरकारले आफ्नो चरित्र देखायो र गत वर्षको प्रावधानलाई खारेज गरियो ।