जितपुर सिमरा उमनपाः मेयर र वडा अध्यक्षबीचको विवाद के हो ?


सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ नम्बरकी वडा अध्यक्ष चयन गुरुङले गएको आइतबार बेलुका साढे ७ बजेतिर फेसबुक लाइभमार्फत मेयर राजन पौडेलविरुद्ध काम गर्न नदिएकोलगायतका आरोप लगाइन् । उनले सामाजिक विकास समितिको संयोजकबाट राजीनामा मागेको समेत सुनाइन् ।
पालिकामा आइतबार नै नगरसभा बैठक बसेको थियो । बैठकमा गुरुङले सामाजिक विकास समितिमा बजेट उपलब्ध गराउन माग गरेकी थिइन् । उनले बजेट पनि आफैँले खर्च गर्न पाउनुपर्ने माग राखेको मेयरसाप डटकमसँगको सम्वादमै बताइन् । उनी एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । मेयर पौडेल माओवादी केन्द्र पार्टीका हुन् ।
वडाध्यक्ष गुरुङले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभ आएर भनिन्, ‘आज मेयर साबले मलाई सामाजिक विकास समितिको जिम्मेवारीबाट राजीनामा दिन भन्नुभएको छ, म भोलि लिखित रुपमा राजीनामा बुझाउँछु ।’ तर मेयरसाप डटकमसँगको सम्बादमा भने गुरुङले ‘राजीनामा नदिने बरु लड्ने’ बताइन् ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा वडालाई एउटा ब्यानर बाहेक केही नदिएको, महिला लक्षित कार्यक्रमहरु कटौती गरिएको, सामाजिक विकास समिति संयोजकका हैसियतले आफूले सारेका राम्रा कार्यक्रमहरुलाई मेयरले पुर्वाग्रह राखेर कार्यान्वयन गर्न नदिएको लगायतका आरोप वडाध्यक्ष गुरुङले मेयर पौडेलमाथि लगाएकी छिन् ।
गत साउन २९ गते शिक्षक हाजिर गराउने विषयलाई लिएर २ नं. वडाका अध्यक्ष धनबहादुर श्रेष्ठ र नगर प्रमुख पौडेलबीच विवाद चर्किएर हात हालाहालसम्म पुगेको थियो।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी शिक्षिका सीता अधिकारीलाई हाजिर गराउन नगर प्रमुख पौडेल आफैँ पुगेका थिए। उनलाई हाजिर गराउने कुराको विपक्षमा वडाध्यक्ष श्रेष्ठ थिए । हात हालाहालसम्म पुगेपछि नगर प्रमुख पौडेल शिक्षिका अधिकारीलाई हाजिर नगराई फर्केका थिए। पछि वडाध्यक्ष श्रेष्ठले उपमेयर अधिकारीलाई बोलाएर शिक्षिका अधिकारीको हाजिर गराएका थिए।
गुरुङ र पौडेलबीचको विवाद बुझ्न जितपुर सिमरा उपमहानगरपालिकाको दशौं नगरसभाको बजेटबारे बुझ्न जरुरी छ ।
गत असार १० मा १० औं नगर सभालाई मेयर पौडेलले एकलौटी तरिकाले सम्पन्न गर्न खोजेको भन्दै उनीमाथि विपक्षी जनप्रतिनिधिले हातपातको प्रयास नै गरेका थिए । बहुमत कार्यपालिका सदस्यको भावना विपरीत नगर सभा गर्न खोजिएको विपक्षीको आरोप थियो । यो विषय पछि अदालतसम्म पुग्यो ।
उपमेयरसहित बहुमत कार्यपालिका सदस्यले त्यसबेला नगर सभा बहिष्कार गरे । तर मेयर पौडेलले प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको सहयोगमा नयाँ आर्थिक वर्षको बजेट ल्याउने गरी सभा चलाए । मेयर पौडेलका विपक्षीहरु थप असन्तुष्ट भए र आक्रमणमै उत्रिए । विपक्षीहरुले कुर्सीहरु तोडफोड समेत गरे । नगरप्रमुख पौडेलमाथि हात हालाहालको स्थिति चाहिँ सुरक्षाकर्मीले नियन्त्रणमा लिए ।
यो उपमहानगरमा कुल १२२ जना नगरसभा सदस्य छन् । जसमा उपमेयरसहित एमालेका ६९, कांग्रेसका २३ सदस्य छन् । मेयरसहित माओवादी केन्द्रका २०, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ६ र नेकपा एकीकृत समाजवादीका चार सदस्य छन् ।
कार्यपालिका र नगरसभामा अल्पमतमा छन्, मेयर पौडेल । उनले बहुमत नगरसभा सदस्यलाई पेलेर आर्थिक वर्ष २०८१/०८२ सालको बजेट ल्याए । मेयरको यो कदमविरुद्ध उपमेयर भोलाप्रसाद अधिकारी र नगरसभा सदस्यसहित ९० जनाले असार २३ गते उच्च अदालत अस्थायी इजलास वीरगञ्जमा बजेट खारेज गर्न माग गर्दै रिट दायर गरे । ९० जना बजेट र नीति तथा कार्यक्रमको विपक्षमा रहेको रिटमा दाबी गरियो । तर उच्च अदालत जनकपुरको अस्थायी इजलास बिरगंजले गएको पुस ८ गते निर्देशनात्मक आदेशसहित उक्त रिट नै खारेज गरिदियो ।
१० औं नगर सभाबाट दुई अर्ब १० करोड ५० लाखको बजेट ल्याइएको थियो । यो विवाद अदालतले साम्य पारेको थियो । तर गएको आइतबार वडाध्यक्ष चयन गुरुङले यही बजेटकै विषयलाई लिएर असन्तुष्टि जनाएकी छिन् । उनले अन्य नगरसभा सदस्यहरुलाई पाँच–पाँच लाख रुपैयाँ बजेट खर्च गर्न पाउनेगरी छुट्याइएको तर आफूलाई नदिइएको गुनासो गुरुङले गरिन् । अझ उनले सामाजिक विकास समितिको संयोजक हुँदा पनि बजेट चलाउन नपाएको असन्तुष्टि पोखेको देखिन्छ । मेयर पौडेल भने वडाअध्यक्ष गुरुङको असन्तुष्टिको अर्थ अहिले नहुने बताउँछन् ।
मेयर पौडेल कार्यपालिकामा सञ्चालन विधि र एजेण्डाभन्दा बाहिर गरेर वडाअध्यक्ष गुरुङले बैठक बिगारेको बताउँछन् । ‘निर्णय हुने व्यहोरा पहिल्यै लेखेर गएको हुन्छ । त्यो लाइनमा छलफल गर्नुपर्छ । त्यसभन्दा बाहिरको विषयको छलफलको अर्थ हुँदैन’, मेयर पौडेलले भने । मेयर पौडेल वडा अध्यक्ष गुरुङ आइतबारको नगरसभा बैठकमा जितपुर सिमरा उमनपाको नगरसभा सञ्चालन नियमावली विपरीत प्रस्तुत भएको बताउँछन् ।
नगरसभा सञ्चालन नियमावलीमा नगरप्रमुखको निर्देशन र अनुमतिअनुसार मात्रै नगरसभा सदस्यहरुले आफ्ना अभिव्यक्तिहरु मर्यादित रुपमा आफ्नो पालामा मात्रै राख्नुपर्ने उल्लेख गरिएको छ । नगरसभा सदस्यहरुलाई नियम पालना नगरेको खण्डमा कार्बाही गर्ने अधिकार पनि पालिका प्रमुखमै निहीत छ । गएको आइतबार मेयर पौडेलले, गुरुङले समय नदिई जबरजस्ती बोलेको, निर्धारित विषयबस्तुभन्दा बाहिरको प्रशंग उठाएको बताएका छन् ।

नगरसभा सञ्चालन नियमावलीको बुँदा नम्बर १२, १३, १४, १७ मा नगरसभा बैठक सञ्चालनमा हुँदा पालना गर्नुपर्ने आचरण, नियमहरु, बोल्ने क्रम र अध्यक्षले निर्देशन दिने विषय उल्लेख छ । वडा अध्यक्ष गुरुङले नगरसभामा बोल्दा नगरसभा सञ्चालन नियमावलीका माथिका बुँदाहरु उल्लङ्घन गरेको मेयर पौडेल बताउँछन् ।
मेयर पौडेल पालिकामा कार्यविभाजन स्पष्ट हुँदा पनि विवाद गर्न खोजिएको बताउँछन् । उपमेयरदेखि वडा अध्यक्ष र समिति संयोजकहरुको जिम्मेवारी स्पष्ट किटान गरेको हुँदा विवाद गर्नुपर्ने ठाउँ नभएको पौडेलको तर्क छ ।
तर विवाद भने यहाँ बजेट नपाएको विषयमा देखिन्छ । सामाजिक विकास समितिमा चाहिँ आवश्यक बजेट मेयरले नदिएको आरोप गुरुङले लगाएको देखिन्छ । कार्यपालिका अन्तर्गतकै सामाजिक विकास समितिमा पनि मेयरले तोकेकै व्यक्तिले जिम्मेवारी पाउने व्यवस्था छ । मेयर पौडेलले तत्कालीन समयमा सामाजिक विकास समितिको संयोजकको जिम्मेवारी वडा नम्बर १४ की वडा अध्यक्ष चयन गुरुङलाई दिएको देखिन्छ । उपचारमा रहेको बेला आफूलाई मेयर पौडेलले नै संयोजकको जिम्मेवारी दिएको गुरुङले स्वीकारेकी छिन् ।

अस्पातलमा उपचार गराउँदै गर्दा पौडेलले गुरुङलाई भेटेको र उनको स्वास्थ्य लाभको कामना गरेको विषयले पनि त्यतिबेला उनीहरुबीचको सम्बन्ध राम्रो भएर उनलाई सामाजिक विकास समितिको संयोजकको जिम्मेवारी दिएको स्पष्ट हुन्छ । तर अहिले गुरुङले समितिमा रहेर बजेट चलाउन नपाएको भन्दै मेयर पौडेलमाथि आक्रोश पोख्दा पौडेलले पनि राजीनामा मागेको स्पष्ट हुन्छ । राजीनामा मागेको आवेशमा गुरुङ सामाजिक सञ्जाल फेसबुकमा लाइभमा बसेको घटनाक्रमले देखाउँछ ।
स्थानीय तहका जनप्रतिनिधिहरु नियम नपढ्ने तर बढी विवाद गर्ने
स्थानीय तहहरु आफैँमा सरकार हुन् । यिनिहरुको सञ्चालनको आफ्नै नियम छ । कार्यविधि छ । जिम्मेवारी बाँडफाँड छ । तर अधिकांश समय स्थानीय तहका जनप्रतिनिधिहरु आफैँले बनाएका नियमहरुको अधिनभन्दा बाहिर गएर विवाद गर्न तल्लिन देखिन्छन् । जितपुर सिमरामा पनि यस्ता घटना पटक पटक दोहोरिएको देखिन्छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा थुन्नेदेखि बजेटका विषयमा तोडफोड गर्ने सम्मका घटना जनप्रतिनिधिहिरुले आफैँले बनाएको नियममा बसेर काम नगर्दाका परिणाम भएको देखिन्छ ।