पाकिस्तानले भारतीय राफेल जेट विमान खसालेपछि चिनियाँ कलाकारहरूको भिडियो भाइरल


काठमाडौं । भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावसँगै सामाजिक सञ्जालमा एक चिनियाँ व्यंग्य भिडियो भाइरल बनेको छ । पाकिस्तानले तीन राफेलसहित पाँच भारतीय लडाकू विमान खसालेको दाबी गरेपछि उक्त भिडियोले विश्वभर ध्यान खिचेको हो ।
भारतले मे ६ र ७ तारिखको राति “अपरेसन सिन्दूर” अन्तर्गत पाकिस्तानका आतङ्ककारी शिविरहरूमा लक्षित आक्रमण गरेपछि तनाव चुलिएको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त कारबाही कश्मीरको पहलगाममा पर्यटकहरूमाथिको आक्रमणको जवाफस्वरूप गरिएको थियो ।
पाकिस्तानी सेना र सरकारी अधिकारीहरूले जवाफी कारबाहीमा भारतीय वायुसेनाका पाँच लडाकु विमानहरू खसालेको दाबी गरेका छन् । जसमा तीन राफेल, एक मिग–२९ र एक सुखोई–३० परेका छन् । यो कारबाहीमा चीनबाट खरिद गरिएका ‘जे टेन सी’ लडाकु विमान प्रयोग गरिएको जनाइएको छ । यद्यपि पाकिस्तानको यो दाबी हालसम्म स्वतन्त्र अन्तर्राष्ट्रिय स्रोतले पुष्टि गरेका छैनन् ।
युद्ध घटनाक्रमकै बीच चीनमा निर्माण गरिएको एक व्यंग्यात्मक भिडियोले इन्टरनेटमा हंगामा मच्चाइरहेको छ । भिडियोमा चार जना कलाकारलाई भारतीय सैनिकहरूको पहिरनमा देखाइएको छ, जसमा उनीहरूले फ्रान्सबाट महँगो मूल्यमा खरिद गरिएका राफेल विमानहरू पाकिस्तानले सजिलै खसालेको व्यंग्य प्रस्तुत गरेका छन् ।
भाषा नबुझ्ने दर्शकहरूका लागि पनि भिडियोको प्रस्तुति स्पष्ट रहेको भन्दै प्रयोगकर्ताहरूले यसको शैलीको प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा भिडियो व्यापक रूपमा सेयर भइरहे पनि यसले विभाजित प्रतिक्रिया जन्माएको छ ।
पाकिस्तानले युद्धको मैदानमा चिनियाँ प्रविधिमा निकै निर्भरता देखाएको छ । चीनका आधुनिक लडाकु विमान, रडार प्रणाली, र ड्रोन्समार्फत पाकिस्तानले आफ्नो वायुसेनालाई मजबुत बनाएको दाबी गरिँदै आएको छ ।
पछिल्लो घटनाले भारतका लागि रणनीतिक झट्का पुर्याएको पाकिस्तानी दाबीलाई बल दिने प्रयास देखिएको छ तर भारतले यसबारे आधिकारिक पुष्टि अझै गरेको छैन ।
दुई परमाणु शक्तिहरूबीचको तनावले अन्तर्राष्ट्रिय समुदायलाई चिन्तित बनाएको छ । संयुक्त राष्ट्रसंघ, अमेरिका, रूस र चीनजस्ता देशहरूले दुबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै कूटनीतिक संवादमार्फत समाधान खोज्न सुझाव दिएका छन् ।
यो घटनाक्रमले केवल भारत–पाकिस्तानको सम्बन्ध मात्र होइन, दक्षिण एसियाली क्षेत्रीय सुरक्षा सन्तुलनमै अस्थिरता ल्याउने खतरा निम्त्याएको विश्लेषकहरूको भनाइ छ । प्रविधिमाथिको प्रतिस्पर्धा, प्रोपागान्डाको प्रयोग, र साइबर–मिडिया युद्धले अबको द्वन्द्वलाई भिन्न बनाइरहेको उनीहरूको तर्क छ ।