स्थानीयको तरकारी विद्यालयमा: विद्यार्थीले पाउँछन् पौष्टिक आहार, साना किसानलाई आयस्रोतको माध्यम


बझाङ । बझाङ जिल्लाका सबै सामुदायिक विद्यालयहरुमा अहिले स्थानीय स्तरमा उत्पादन भएको ताजा र पोषिलो तरकारी तथा दाल पुग्ने गरेको छ । नजिकै बजार नपाएर समस्या खेप्दै आएका ग्रामिण बस्तिका साना किसानहरु अहिले मासिक रुपमा दश हजार भन्दाबढी आम्दानी गर्ने गरेका छन् ।
केही वर्ष पहिले घर तथा छोराछोरीको पढाई खर्चको जोहो गर्नका लागि भारतका शहरहरुमा मजदुरी गर्दै आएका साना किसानहरुले अहिले आ–आफ्नो करेसाबारीबाट उत्पादन भएका हरियो तरकारी र दाल सामुदायिक विद्यालयहरुमा बिक्री गर्न पाएका छन् । वर्षौं पहिलेदेखि विश्व खाद्यको सहयोगमा जिल्लाका सबै सामुदायिक विद्यालयमा दिवा खाजा खुवाउँदै आएका थिए । बाहिर जिल्लाबाट नै सम्पूर्ण सामाग्री खरिद गरेर विद्यालयमा दिवा खाजा पुर्याउने गरिएको थियो । तर पछिल्लो समयमा भने उक्त दिवा खाजा कार्याक्रकलाई स्थानीय उत्पादनसँग जोडिएको छ ।
दिवा खाजालाई स्थानीय उत्पादनमा जोडे सँगै यसको प्रत्यक्ष फाईदा विद्यालयमा अध्यन गर्ने बालबालिकालाई मात्रै नभएर यहाँका किसानहरुलाई पनि भएको देखिन्छ । जनप्रिय माविका प्रधानाध्यापक पदम खड्काले यस कार्यक्रमले किसानलाई ठूलो सहयोग पुगेको बताए । उनले भने, ‘पहिला दिवा खाजा सबै तयारी भएर विद्यालयमा नै पुग्ने गरेको थियो । तर अहिले उक्त मोडल परिवर्तन भएर स्थानीय उत्पादनसँग दिवा खाजालाई जोडेका कारण यसको लाभ साना किसानहरुले पाइरहेका छन् ।’ जिल्लाका सबै सामुदायिक विद्यालयहरुमा नजीकका साना किसानहरुले उत्पादन गर्ने हरियो तरकारी, दाल समेत विद्यालयले खरिद गर्ने गरेको छ ।

यस कार्यक्रमको लाभ धेरै किसानहरुले लिइरहेका छन् । भारतमा मजदुरी गरेर जीवन चलाउँदै आएका धेरै जस्तो किसानहरुले अहिले भारत जान समेत छोडेका छन् । यसको बलियो उदाहरण थलारा गाउँपालिका वडा नम्बर ७ का मानबहादुर चलाउने हुन् । आफ्नो जीवन कालको आधा जीवन भारतका विभिन्न शहरमा मजदुरी गरेर बिताए । तर अहिले उनले भारत जान छोडेको २ वर्ष भयो । आफूसँग धेरै जमिन नभए पनि अर्काको जमिन भाडामा लिएर भएपनि अहिले तरकारी व्यवसाय गर्दै आएको उनले बताए । उनले भने,‘घरमा आयस्रोतको माध्यम अरु केही नभएका कारण लामो समय भारतमा बिताएँ । पहिला तरकारी आफ्नो लागि मात्र लगाउने गरेको थिएँ । तरकारी उत्पादन गरेपनि नजिक बजार थिएन । भनेजस्तो मूल्य पनि नपाइने भएका कारण यस व्यवसायमा चासो पनि थिएन् । जब आफ्नो करेसाबारीमा उत्पादन गरेको तरकारीहरु सामुदायिक विद्यालयहरुमा बिक्री हुन थाल्यो तब यो व्यवसायप्रति उत्साह बढ्यो ।’
यो आफू जस्ता न्यून आयस्रोत भएकाहरुका लागि आयस्रोतको ठूलो माध्यम भएको उनको भनाइ छ । अहिले मासिक रुपमा १२ हजार रुपैयाँ आम्दानी गर्ने गरेको उनले बताए । अहिले तरकारी खेती गर्न आफूहरुलाई एम.पि.डि.एस. बझाङ र थलारा गाउँपालिकाले समेत सहयोग गर्ने गरेको उनको भनाई छ ।
उनले अहिले आफ्नै गाउँ नजिकै रहेको डाँडा बाघ आधारभुत विद्यालय, भवानी मा.वि. र शैलेश्वरी आधारभुत विद्यालयमा तरकारी बेच्छन् ।
‘विश्व खाद्य कार्यक्रम अन्तरगत साना किसानले स्थानीय रुपमा उत्पादन गरेका सागसब्जीबाट स्वस्थ पौष्टिक आहार मिल्ने एम.पि.डि.एस. बझाङका परियोजना संयोजक शिवराज उपाध्यायले बताए । उनले भने, ‘यो कार्यक्रमले विद्यालय उमेर समुहका बालबालिकाहरुको पोषणमा सुधार र साना कृषकहरुको आयस्तरमा समेत वृद्धि भएको छ । यो कार्यक्रमले स्थानीय र विद्यालयलाई समेत जोड्ने काम गरेको छ ।’ यो कार्यक्रम बझाङ जिल्लाका सबै सामुदायिक विद्यालयहरुमा लागू भएको छ । बाल कक्षादखि कक्षा ८ मा अध्यान गर्ने बालबालिकाहरुले दैनिक रुपमा प्रति विद्यार्थी ४० ग्राम तरकारी, २० ग्राम दाल, ८० ग्राम चामल, १० ग्राम तेल र नुन २ ग्रामका दरले उपलब्ध गराउने गरेको उनले जानकारी दिए ।

एक दिनमा तरकारी मात्रै साना किसानले २ हजार ४२ किलोग्राम विद्यालयलाई बिक्री गर्ने गरेको उपाध्यायले बताए । यस कार्यक्रमले विद्यालय स्वास्थ्य र पोषण सेवाहरुको उपब्धता, पहुँच र प्रयोगलाई सबै लक्षित विद्यार्थीसम्म पुग्ने क्षमता बढाउने र सुधार गर्ने , खाद्य स्वाच्छतासहित पानी र सरसफाई सेवाहरुको पहुँच र प्रयोगको माध्यमबाट स्वास्थ्य विद्यालय वातावरण सुधार गर्ने, शिक्षा र व्यवहार परिर्वतन संचारमार्फत स्वस्थ्य व्यावहार र बानी सुधार गर्ने र प्रणाली र कार्यान्वयनलाई बलियो बनाउने कार्य गर्दै आएको बताए । साथै उनले विद्यालय स्वास्थ्य कार्यक्रमको समग्र लक्ष्य विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शाररीक शिक्षा, मानसिक, भावनात्मक विकास गर्ने तरिकाले काम गरिरहेको बताए ।